• माइली पाथिभराका पुजारी झमकबहादुरले ५७ लाख बढी ठगी गरेको खुलासा

    गोपाल निरौला, इलाम:
    इलाम नगरपालिका वडा नम्बर ४ मा अवस्थित माइली पाथिभराका पुजारी भनिने झमकबहादुर घिमिरेको एकपछि अर्को कर्तुत सार्वजनिक हुन थालेको छ । स्थानिय ४५ वर्षीय घिमिरेले झापा मेचीनगर १४,धाइजनका विभिन्न बैंक, वित्तीय संस्था, सहकारी संस्था तथा व्यक्तिबाट ५७ लाख ५ हजार २ सय १४ रुपैयाँ ठगेर भागेको खुलेको छ ।

    मेची नगरपालिका वडा नम्बर १४ ले उपलब्ध गराएको कागजातबाट व्यापार तथा व्यवसाय गर्ने नाममा ३६ जनाबाट ऋण लिएर भागेको खुलेको हो । घिमिरले ४ हजारदेखि ७ लाख रुपैयाँसम्म एउटै व्यक्ति र संस्थाबाट ऋण लिएर भागेका हुन ।

    घिमिरेले स्थानीय भद्रकला घिमिरेको ७ लाख, हरीप्रसाद चौंलागाईको ४ लाख ८५ हजार, पुनम लुङगेलीको ४ लाख, सुभद्रा राजवंशीबाट ३ लाख ४० हजार, दुर्गा गौतमबाट ३ लाख, इन्द्रमाया लिम्बूबाट २ लाख ४० हजार, तेजकुमारी बराइलीबाट १ लाख ८० हजार, नर्वदा राजवंशीबाट १ लाख १५ हजार, हीरा राजवंशीबाट १ लाख १५ हजार, ज्ञानेन्द्र रिजालबाट १ लाख ठगेका छन् !त्यस्तै जीवन विकास लघुवित्तबाट २ लाख ८० हजार, चारआली सहकारी संस्थाबाट १ लाख ५० हजार, इनफिनिटी लघुवित्तबाट १ लाख,कन्काई सहकारी संस्थाबाट १ लाख ऋण लिएका थिए ।


    अन्य दर्जनौंबाट व्यक्ति तथा संस्थबाट ४ हजारदेखि १ लाख रुपैयाँसम्म ऋण लिएर भागेको खुलेको छ ।घिमिरेले आफ्नो रकम फिर्ता नगरेपछि पीडितले रकम फिर्ता गराइदिन जिल्ला प्रशासन कार्यालय झापामा उजुरी गरेका थिए । उजुरीपछि प्रहरीले घिमिरेलाई इलामबाट केही दिनअघि पक्राउ गरेर इलाका प्रहरी कार्यालय धुलाबारी झापालाई बुझाएको थियो ।धुलाबारीले पनि छलफलका लागि घिमिरेलाई मेचीनगरपालिका वडा नम्बर १४ लाई जिम्मा लगाएको थियो ।


    वडा कार्यालयले पीडित समेतको उपस्थितीमा छलफल गरी सम्पूर्ण रकम किस्ताबन्दीमा फिर्ता गरिसक्ने गरी कार्यालयकै रोहबरमा तमसुक गरी घिमिरेलाई छाडिएको जनाइएको छ ।तमसुकमा घिमिरेले २०७६ असोजदेखि ०७७ असोजसम्म लिएको ऋण साँवा र ब्याजसहित तिर्न नसके आफ्नो पैत्रिक सम्पतिबाट असुल उपर गरिलिनु भनी कपाली तमसुकमा सहीछाप गरी छुटेको वडा अध्यक्ष शंकरप्रसाद पोखरेलले बताउनुभयो ।घिमिरेले पहिलेदेखि नै व्यापार व्यवसाय गर्ने नाममा विभिन्न वित्तीय संस्था, सहकारी संस्था तथा व्यक्तिबाट ऋण लिएको अध्यक्ष पोखरेलले बताउनुभयो ।