• चियाको राजधानीमा कफी विस्तार

    विप्लव भट्टराई,इलाम:

    चियाको राजधानीका रूपमा चिनिने इलाममा उस्तै पेय पदार्थ कफीको विस्तार भइरहेको छ । कफी खेती प्रवद्र्धनका लागि सरकारीस्तरबाट खासै कार्यक्रम नभए पनि कृषकहरूले बर्सेनि खेती विस्तार गरिरहेका हुन् । निजी जग्गामा कफी रोप्ने बढ्दै छन् । सामूहिक रूपमा कम्पनी नै दर्ता गरेर एउटा फर्मले सदरमुकाममा खेती गरिरहेको छ ।

    नेपाली अर्गानिक कफी कम्पनी खोलेर ५ जना युवाले खेती विस्तार गरेका हुन् । इलाम नगरपालिका ८ स्थित गरिमा टोलमा ७९ रोपनी जमिन खरिद गरी व्यावसायिक रूपमा कफी खेती सुरु गरेको कम्पनीका टंक सुवेदीले बताए ।

    ‘यो क्षेत्रमा गोलियालाई व्यावसायिक ढंगले अघि बढाउने प्रचलन भए पनि त्यसभित्र हुने खेतीबारे कसैले सोच बनाएको पाइएन,’ निजी जमिनमा पनि २ सय बोट कफी रोपेर आम्दानी लिँदै आएका सुवेदीले भने, ‘हामीले रुखको छहारीमा कफी उत्पादन गरेर व्यावसायिक बन्न सकिन्छ भन्ने अवधारणाले यो आँट गरेका हौं ।’

    कम्पनीको नाममा रहेको जग्गामा २७ सय बिरुवा अघिल्लो वर्ष नै रोपिएका छन् । यो वर्ष पाँच हजार बिरुवा रोप्ने तयारी भइरहेको कम्पनीका अर्का सदस्य प्रवीन श्रेष्ठले बताए । सदरमुकाम क्षेत्रका अन्य युवा महेश श्रेष्ठ, नरेश श्रेष्ठ र केदार खत्री पनि उक्त कम्पनीमा आबद्ध छन् । उनीहरूले करिब १ करोड रुपैयाँ लगानी गरेर कम्पनी खोलेका हुन् ।

    उनीहरूको मुख्य उद्देश्य कफी खेती विस्तार रहे पनि कफीसँगै रोप्न मिल्ने एभोकाडोलगायत बिरुवा पनि उत्तिकै लगाएका छन् । कम्पनीले खेती विस्तारका लागि बिरुवा पनि आफैं तयार गरेको छ । ४ रोपनी क्षेत्रमा फैलिएको नर्सरीमा यो वर्ष ६० हजार बिरुवा रोप्ने अवस्थामा पुगेका छन् । ‘सम्पूर्ण ब्रिुवा अर्डर भइसकेको छ,’ सुवेदीले भने, ‘जिल्लाभित्र नै धेरै ब्रिुवा लगिएकाले ३ वर्षपछि इलाम कफी उत्पादनमा पनि अग्रणी हुनेछ ।’

    अर्गानिक रूपमा उत्पादन भएका बिरुवाको बजार पनि राम्रो रहेकाले कम्पनीलाई तत्काल आइपर्ने खर्च भने व्यवस्थापन भइरहेको छ । जग्गा लिजमा लिएर खोलिएको यो नर्सरी मुलुककै ठूलो भएको सञ्चालकहरूको दाबी छ । नर्सरीमा अरविका वोरवन र एल्लोकटुरा वोरवन जातका बिरुवा उत्पादन गरिएको छ ।

    कफी उत्पादनका लागि गुल्मीलगायत पश्चिमका जिल्ला कहलिएका भए पनि यहाँको चिस्यान माटो र अनुकूल हावापानीका कारण तुलनात्मक रूपमा बढी उत्पादन गर्न सकिने यसअघि खेती गर्दै आएका कृषकको अनुभव छ ।

    पश्चिमा देशमा पनि कफीको ठूलो माग रहेकाले जति उत्पादन गर्न सके पनि बजारको अभाव नहुने विश्वासमा उनीहरूले मन फुकाएर लगानी गरेका हुन् । फार्म सञ्चालनमा आएपछि स्थानीयले रोजागारीको अवसरसमेत पाएका छन् । कान्तिपुर दैनिकबाट साभार