• ‘सपना मोह’ (कथा )

    सन्ध्या आचार्य दार्जिलिङ

    “हत्यारा! हत्यारा!” निर्दोष आवाज यस्तो थियो |

    म र मेरा आँखा पालकपुलुक पालकपुलुक कसैलाई खोज्दै थियो | अहिल्यै सुनिएको सम्बोधन? अहँ पटक्कै होइन अपराधी ? अँ त्यही अपराधी हत्यारालाई!

    अहँ! कोही त थिएनन् मेरा वरिपरि | केवल हारेका, गलेका, निन्याउरो र विचराहरुजस्तै देखिने केही थिए | र म निश्चिन्त थिएँ – यिनीहरुमध्ये कोही एक मात्रै पनि हत्यारा हुनै सक्दैनन् |

    र भर्खरै आवाज लगाउनेहरु यिनीहरु नै हुन् – म पुर्ण विश्वासको साथ यत्ति भन्नसक्छु |

    यिनीहरु मान्छे हुन ?

    या जीव ?

    या त कुनै परिजिवी ?

    अहँ होइनन् , पटक्कै होइनन् |

    के हुन् त यिनीहरु? सोध्नलाई कोहि छैन | बस म छु र छन् उनीहरु |

    अघिको आवाजले म विश्वस्त थिएँ – यिनीहरु बोल्न सक्छन् तर सुन्न र बुझ्न ? अन्योलमा परेको म सोधिपठाउँछु – तिमीहरु को हौ? के हौ?

    १-  “चिन्नु भएन ?”

     तेजिलो आँखाजस्तै झपक्क बलेको एउटा चिज यसरी बोल्दैछ | एउटा आशावादी आवाज |

    २ – “चिन्दैनन् छोडिदेऊ |” – अर्को प्रेमिल आवाज | यस्तो लाग्थ्यो – मलाई माया गर्ने कोही हो |

    ३ – “चिन्नुपर्छ |” – एउटा विद्रोही आवाज | लाग्थ्यो न्याय चाहन्छ |

    ४ – “तपाईंलाई माया गर्छौ र गरिरहन्छौं |” – चौथो आवाज |

    ५ – “तपाईं हामीलाइ प्रेम गर्नुहुन्न ? भन्नोस त ?” –  एउटा आग्रही आवाज जसले मलाई टुक्रायो।

    यी प्रश्नसँगै सबै लोलाएर आशा गरेर मलाई ताकिरहेका छन् – मलाई लाग्यो |

    जवाफ के दिँउ ? अन्योलमा छु | के हुन् र को हुन् यिनीहरु ? अझ थाहा छैन मलाई भने | म माया गर्छु-गर्दिनँ – यिनीहरुलाई के भनुँ ?

    “हामी तिनै हौँ जसलाई तपाईं टेकेर कुल्चिएर यहाँसम्म आइपुग्नु भएको छ |” – ओहो तेस्रो त्यही विद्रोही आवाज थियो त्यो द्विविधामाथि झनै द्विविधा | सकसमा छु म ऐले |

    • “म फक्रन नपा मारिएकी हुँ |”
    • “म ठुलो भएर मरें , मार्ने तपाईं हुनुहुन्थ्यो |”
    • “मलाई तपाईंको आफन्तहरुले मारे।“
    • “तपाईंले मलाई आफ्नो आफन्तको खातिर मार्नुभयो |”
    • “मलाई सम्झिएर अथवा ममा भएर नै तपाईं बाँच्नुहुन्थ्यो तर तपाईं पछि स्वार्थी निस्कनु भयो |”
    • “तपाईं हत्यारा हुनुहुन्छ |” – समग्रमा एउटै आवाज आयो |

    म हत्यारा?????

    अब मेरो मष्तिकले प्राय: प्राय काम गर्न छाडिसकेछ | छिट्टै जमिनमा ढल्नेछु म या त फेरि मर्नेछु |

    • “हामी तपाईंका सपनाहरु हौं |” – पाँचौँ आवाज नै हुनपर्छ यो प्रेममिश्रित आवाज | मेरो हालत देखेर टिठ्याएर बोलेकी थिई ऊ सायद !

    “सपना?

    हजुर मेरा सपना ! यिनीहरु मैले बिर्सिएका मेरै सपनाहरु थिए | जो मरिसकेका थिए | मैले नै यिनीहरुलाई मारेको थिएँ या मर्न वाध्य बनाएको थिएँ |

    • “बाँच्न चाहान्छौ ?” – म सोध्छु |
    • “अवश्यै |” – प्रत्युत्तर |
    • “ममा आओ |”

    हुरुरु आवाजसँगै मभित्र सपनाका हुलहरु पस्दै गरेको म महसुस गर्नसक्थें र तिनीहरुको आग्रहलाई बुझ्नसक्थेँ |

    • “संध्या ! हामीलाई मर्न नदिनुहोस ल !” – भनिरहेको भान मलाई भइरह्यो |

    लाग्थ्यो यिनीहरु एकाएक सबल भएर निस्किएका छन् | हटिलो-मोटिलो, हष्ट-पुष्ट ! मानौं त्राण भरिएको छ यिनीहरुमा !

    सम्झन्छु – सपनालाई पनि हाम्रो जरुरत रहेछ !

    कुनै समय मलाई लाग्थ्यो – म आफ्णा सपनाहरुलाई खुबै प्रेम गर्छु, यत्नसँग राख्छु, बढाउँछु, हुर्काउछु ! समयसँगै मैले उनीहरुलाइ बिर्सिएँ र अरु कुराहरुमा रमाउन सिकेँ | लाग्छ – मैले सपना देख्न बिर्सिएँ या त छोडिदिएँ |

    • सपना नदेख्नु भनेको मर्नु त हैन ? – म झस्किन्छु |

    सपनाहीन म कहाँ बाँचेकै पनि थिएछु त ? मात्रै सासचाहिँ फेरिएको थिएछ | – थाहा गर्छु।

    सपनाहरु चाहन्थे – म नमरुँ | र नै सुनियोजित तरिकाले भेला भएर मलाई घेरा हालेर आरोप लाएको अभिनय गरिरहेका थिए |

    सपनाहरु मभित्र आएपछि बल्ल म जीवित अनुभव गरिरहेछु |

    साँच्चै सपनाहरु मर्नु भनेको म मर्नु थिएछ तर म मर्नबाट मलाई यसचोटि सपनाहरूले बँचाएका थिए र मसँगसँगै यिनीहरु पनि बाँचेका थिए |

    साँच्चै, सपनाहरु पनि हामीलाई खुबै प्रेम गर्दारहेछन् !