• पुल तर्ने आशमा बर्सौ देखि दक्षिणी इलामबासी , तर पुलको काम अधुरै

    प्रेम अधिकारी , पशुपतिनगर(इलाम):

    बर्षा लागे संगै दक्षिणी इलाम बासीका कहाली लाग्दा दिन शुरु हुन्छन् । खोलामा आउने बाढीले गर्ने क्षतीका कारण बर्खाभरी उनीहरुले मनभरी पीर बोकेर हिड्नु पर्छ । पहाडी क्षेत्र कालो मैलो भएर पानी पर्न थालेपछि माई खोलामा बाढी आउने पीरले बिद्यालय गएका आफना नानीहरु लिन दौडिनु पर्ने गरेको स्थानीय ब्यपारी सावित्रा ढकालले बताउनु भयो । उहाले भन्नु भयो‘बर्खा यामका चार महिना त ब्यपार समेट चौपट हुन्छ , माई तरेर ब्यपार गर्न जाने आट नै हराउछ ।’
    माई नगरपालिकाको महमाई र दानाबारी सिमानामा पर्ने माईखोला , चुलाचुली गाउँपालिकामा रतुवा , कमल र मावा खोलामा पक्की पुल बनीनसकेका कारण दक्षिणी इलामका स्थानीयले बर्षौ देखि समस्या झेल्दै आउनु परेको छ । खोलामा आएको बाढीले अहिले सम्म दर्जनौले अकालमा ज्यान गुमाई सकेका छन् ।
    केहि दिन अघिको माईखोलाको बाढीले बगाएका माईनगरपालिका जुवालेका ३ जना छात्रा अझै फेला परेका छैनन् । माईनगरपालिकाको श्री भगवती माध्यमिक विद्यालयबाट परीक्षा सकेर घर फिर्दै गर्दा माई नगरपालिका १ की आकृती लिम्बु , निशा सुनुवार र सुनिता साउदेनलाई माई खोलाले बगायो । उनीहरुका तीन जना साथी पौडिएर वाँच्न सफल भएको स्थानीय बताउछन् । माईले बगाएर तीन जना छात्रा बेपत्ता भए पछि दक्षिणी इलाम बासिमा २०७३ साल असोज २८ गते झलझली आँखामा आउन थालेको छ । दशैको टिका थाप्न गएकाहरु डुङगा पल्टिएर खोलाले बगाउदा ८ जनाको मृत्यु भएको थियो । पटक पटक खोलाले आफना सन्तान बगाएकाहरु त्यहि माईखोलामा कहिले पक्की पुल बन्छ भनेर पर्खी रहेका छन् । स्थानीय हरि अधिकारीले भन्नु भयो ‘सबैलाई खोला तर्नु थियो , क्षमता भन्दा बढी यात्रु राखीयो , नसोचेको दुर्घटना भयो ।’ डुंगा दुर्घटनामा उद्धार गरि नयाँ जिवन पाएका ३४ जना अझै खोलामा पुल बन्ने आशमै रहेको बताउछन् ।
    माइखोलाको वारीपट्टी पूर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र हो भने वारीपट्टी पुर्वसभामुख सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्र हो । देशकै नेतृत्व गरी सकेका नेताले पुल बन्छ भनेको पनि बर्षौ भईसकेको छ । तर, बर्षो देखि निर्माण भैरहेको माईखोलाको पुलको आधा जति काम मात्र अहिले सम्ममा भएको छ । स्थानीय त्यहि आधा बनेको पुलबाट जोखीम मोलेर वारीपारी गर्ने गरेका छन् ।
    खोलामा पानी बढ्न थालेपछि मालवाहक तथा यात्रुवाहक कुनैपनि सवारी साधनहरु चल्न सक्दैनन । मानिसहरु पुरानो काठको डुङ्गा प्रयोग गरी सरसामान ओसार पसार गर्न बाध्य छन् । असार देखी असोज सम्मको अवधीमा माई नगरपालिकाको महमाई र माङसेबुङ गाउँपालिकाको बाँझो, इभाङका बासिन्दालाई खाद्य सामग्री ढुवानी र आवत–जावत गर्न समस्या हुने गरेको छ ।
    हिउँदको आठ महिनासम्म झापाको विर्तामोडबाट चुरे क्षेत्र हुँदै निरन्तर सवारी साधन चल्ने गरेपनि वर्खा लागेपछि त्यस क्षेत्रका बासिन्दाहरुको झापाका बजार र इलाम सदरमुकामसँग सम्वन्धविछेद नै हुने गरेको छ । बर्खा याममा खोलाबाट सामान ओसार पसार गर्ने एक मात्र विकल्पका रुपमा चण्डाल घाटको काडको डुङगा हो । स्थानीय समाजसेवी देवीभक्त कुमालले तीन तहका सरकार आउदा पनि खोलाको सास्तीबाट मुक्त हुन नपाएको दुखेसो पोख्नु भयो ।

    उक्त क्षेत्रका स–साना खहरे खोलाहरुको जोखिम पनि उच्च रहेको छ । वर्खा समय लाग्नासाथ उर्लेर आउने खहरेले बर्षेनी लाखौ धनजनको क्षती गर्ने गरेको छ । जोगमाई, देउमाई र पुवामाई खोलाको मिश्रण भएर माईखोला त्यस क्षेत्रमा पुग्दा अत्यधिक ठूलो हुने गरेको छ । झापाको दोमुखा हुँदै माई नगरपालिकाको महमाई आउने सडक खण्डमा लाखौं खर्च भईसकेको छ । तर, भौगोलिक बनावट जटिल भएका कारण सडक भरपर्दो हुन सकेको छैन ।
    चुलाचुली गाउँपालिकाको पनि बर्षा याम संगै समस्याका दिन शुरु हुने गरेका छन् । रतुवा, मावा र कमल खोलामा पक्की पुल नहुँदा स्थानीलाई नजिकै रहेको दमक बजार पुग्न पनि मुस्कील पर्ने गरेको छ । पुल नभएका कारण खोलामा आएको बाढीले मानिसको आवात आवात र ढुवानीमा समेत समस्या पर्ने गरेको चुलाचुली गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष नरबहादुर लावतीले बताउनु भयो । ठेक्केद्धारले समस्यामा काम नगरिदिए पछि यस पटकको बर्खामा पनि चुलाचुलीबासीले समस्या भोग्नु परेको छ ।
    झापाको दमकबाट माङसेबुङ हुँदै पाँचथरको मिक्लाजुङ रविसम्म जोड्ने फाल्गुनन्द मार्गको पनि भौगोलिक बनोटका कारण सडक नै जोखिममा छ । उक्त क्षेत्रका प्रदेश सांसद धिरेन्द्र शर्माले पुल निर्माण गर्नका लागि प्रदेश र स्थानीय सरकार लागि रहेको जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘अहिले सम्म जे भोग्नु प¥यो, अव त्यो भोग्नु नपरोस भनेर लागि परेका छौ।’
    गोरखापत्र दैनिकबाट