• खोलाको कटान र बाढीबाट चुलाचुलीबासी हैरान


    प्रेम अधिकारी , इलाम:

    ‘अव कहाँ भाग्नु भाग्ने ठाउँ नै छैन्, चार ठाउँ घर सार्दा पनि खोला घर छेउमै आईसक्यो ।’ चुलाचुली गाउँपालिका १ का ६५ बर्षिय भीमबहादुर लावतीले स्थानीय जनप्रतिनिधिलाई आफनो दुखेसो सुनाउनु भयो । कमल खोलामा आएको बाढीले लावतीको दुई बिगाहा बढी जमिन कटान गरेर घर मात्र बगाउन वाँकी छ । राई दिन भर खोला थुनछेक गर्नु हुन्छ, अनि रात परे पछि उज्यालोको ब्यवस्था गरेर खोला हेर्दै बिहान हुने गरेको छ । बाढीले गरेको क्षती र कटानको अवस्था बुझन गाउँपालिका उपाध्यक्ष निर्मला दहाल र वडा नम्बर १ का वडाध्यक्ष पूर्ण लावती सहितको जनप्रतिनिधि सहितको टोली गाउँमा पुग्दा खोला बगारका पीडितले कमल खोलाको कटानका कारण आफुहरु सुकुम्बासी भएको सुनाए । स्थानीय देउशीला अधिकारीले २०४४ साल देखि कमल कोलाले कटान गर्दै आउदा आफनो पाँच बिगाहा जमिन २०७६ साल सम्ममा बगाई सकेर पूर्ण रुपमा सुकुम्बासी भएको बताउनु भयो । ‘एक चप्परी भएको जमिन पनि यसपालिको बाढीले लगिदियो , अव मेरो भन्नु केहि पनि छैन्, छिमेकीको घरमा बस्दै छु, अधिकारीले भन्नु भयो ।’कमल खोलामा आएको बाढीले कटान गर्दा अहिले सम्ममा दर्जनौ परिवार पूर्ण रुपमा बिस्थापित भई सकेका छन् । खोलामा आएको बाढीले जमिन कटान गर्दा स्थानीय गंगा प्रसाद न्यौपानेको घर पूर्णरुपमा बगाएको छ ।

    तटबन्ध बगायो


    चुलाचुली गाउँपालिका १ अन्र्तगत कमल खोलामा निर्माण सम्पन्न भएको तटबन्ध पूर्ण रुपमा बाढीले बगाएको छ । प्रदेश १ सरकारको ७० लाख रुपियाँको लागतमा उपभोक्ता समिति मार्फत सम्पन्न भई असार २७ गते स्थानीय सरकारलाई जिम्मा लगाईएको तटबन्ध बाढीले बगाए पछि अहिले गाउँ नै डुवानको खतरामा छ । उक्त तटबन्ध भत्कीए पछि ५० बढी घरपरिवार अहिले जोखीम मोलेर बसीरहेका छन् । वडा नम्बर १ का वडाध्यक्ष पूर्ण लावतीले हिउँद भरी खोला छेक्न काम गरे पनि बर्खा लागि सक्दा बगाईदिने गरेकाले आफुहरु समस्यामा परेको बताउनु भयो । उहाले प्रदेश र संघीय सरकारले तटबन्ध निर्माणमा चासो दिनु पर्ने बताउनु भयो । गत आर्थिक बर्षमै गाउँपालिकाले कमल खोलामा स्थाई तटबन्ध निर्माणका लागि १८ करोड रुपियाँ लागतको डिपिआर गरेर प्रदेश र संघीय सरकारमा पठाए पनि कतैबाट ध्यान दिएकोे छैन । वडा नम्बर तीन, चार ,पाँच र छ मा समेत स्थानीय खोलाले कटान गरिरहेको छ । कटानका कारण उक्त वडामा समेत दर्जनौ परिवार बिस्थापीत भैसकेका छन् । कमल , रतुवा , चाजो , मावा बाघद्धार लगायतका दर्जनौ ठूला–साना खोलाले जताततै कटान गरिरहेको छ । गाउँपालिका उपाध्यक्ष निर्मला दाहालले बिपतको बेलामा स्थानीयको ज्यान जोगाउने बाहेक आफुहरु संग कुनै उपाय नभएको बताउनु भयो । उहाले गाउँपालिकाको सानो बजेटले टालटुले काम मात्र हुने भएकाले राज्यले नदिनाला ब्यवस्थित गर्न ध्यान दिनु पर्ने बताउनु भयो । उहाले भन्नु भयो ‘एकतिर छेक्यो अर्कोतीर बगाउछ , कता के गर्नु ? ब्यवस्थित बसोबासको चिन्तामा छौ ।’ उपाध्यक्ष दाहालले चुलाचुली लगायतका चुरे क्षेत्रको जोखीम न्यूनीकरणका लागि माथिल्लो क्षेत्र देखि नै ब्यवस्थित गर्नु पर्ने बताउनु भयो । उक्त क्षेत्रबाट निर्वाचित प्रदेश सांसद धिरेन्द्र शर्माले तटबन्ध निर्माणका लागि प्रदेश सरकारले समेत ठोस कार्यक्रम नल्याएको जानकारी दिनु भयो । कमल खोलामा तटबन्ध निर्माणका लागि चालु आर्थिक बर्षमा १० लाख रुपियाँ मात्र रकम बिनियोजन भएको बताउनु भयो । सांसद शर्माले तटबन्ध निर्माणका लागि आफुहरुले संघीय सरकार संग पहल गरिरहेको बताउनु भयो ।

    जनताको तटबन्धमा बिभेद


    सिमाना जोडिएको झापा जिल्लामा जनताको तटबन्ध कार्यक्रम संचालन भएको एक दशक भैसकेको छ । तर, झापा सम्म बगेर आईपुग्ने नदिनाला इलाम क्षेत्रमा अब्यवस्थित छन् । चुलाचुली गाउँपालिकाले जनताको तटबन्ध कार्यक्रम चुलाचुलीमा पनि संचालन गरिनु पर्ने माग गरेको छ । पूर्वपश्चिम राममार्ग दक्षिण उक्त कार्यक्रम संचालन भए पनि राजमार्ग उत्तर उक्त आयोजनाले छोएको छैन । बाढीले क्षति गरे पछि संघीय सरकार घचघच्याउन काठमाण्डौ पुग्नु भएका गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले जनताको तटबन्ध कार्यक्रम संचालन गर्न आग्रह गरेको बताउनु भयो । उहाले भन्नु भयो ‘ खोलाको पाता फर्काएर छेक्न सकिदैन, माथिल्लो क्षेत्रमा संरक्षणका काम गरेर , जनताको तटबन्ध कार्यक्रम चुलाचुलीमा पनि लागु गर्नु पर्छ ।’ अध्यक्ष राईले सिमाना जोडिएको झापा र चुलाचुलीमा बिवेध गर्न नहुने बताउनु भयो । यता जनताको तटबन्ध आयोजना झापाका प्रमुख मेखनाथ शर्माले माथिल्लो निकायले पहल गरेर उक्त कार्यक्रम चुलाचुली लगायत झापा संग सिमाना जोडिएका माथिल्लो क्षेत्रमा संचालन गर्न सके दुवै तर्फ जोखिम न्यूनीकरणमा सहज हुने बताउनु भयो ।
    गोरखापत्र दैनिकबाट साभार