• इलामको सीप र प्रविधि कालिञ्चोकमा




    दिलबहादुर केसी : दोलखा,
    (इलामलाई कृषि क्षेत्रका उत्कृष्ट जिल्लाको रुपमा चिनिन्छ । ५ अ अर्थात अलैंची, अकबरे, अदुवा, अम्रिसो र ओलन उत्पादन इलामका विशेषता हुन् । यसबाट इलामका किसानको समृद्धि भएको भनिन्छ । अहिले त्यही इलामकै सीप र प्रविधिलाई दोलखाको कालिञ्चोकमा प्रयोग गर्न थालिएको छ ।
    थामी जातीको मात्र बसोबास रहेको दुर्गम गाउँ साविक कालिञ्चोक गाविसको हावापानी इलामसँग मिल्दोजुल्दो छ । अहिले इलाममा भएका कृषिजन्य वस्तुलाई नै कालिञ्चोकमा पनि खेती गराउन थालिएको छ ।

    असार र साउनमा वृक्षारोपनका लागि तालिम र वृक्षारोपणमा कालिञ्चोकका किसानहरू व्यस्त छन् । २ हप्ता अघि कालिञ्चोकका किसानहरूले १५ हजार अलैंचीका विरुवा रोपेका छन् । ३ वर्ष अघि रोपेको अलैंची यस वर्ष फलेपछि कालिञ्चोकका किसानहरू उत्साहित भएर यस वर्ष पनि थप विरुवा रोपेका हुन् । कालिञ्चोकका बेगुम्बा, क्याम्पोल र तारेभीरका किसानले ३ वर्षमा ५० हजार बढी अलैंचीका विरुवा रोपेका छन् ।
    ३ वर्ष अघि रोपेका अलैंची फल्न थालेपछि अरु किसानहरू पनि उत्साहित भएको कालिञ्चोक गाउँपालिका वडा नं। १ का वडाअध्यक्ष बाबुलाल थामीले बताए । कालिञ्चोकका किसानहरू अब उच्च नगदे बालीमा लागेको उनले बताए । गत असारमा मात्र १० हजार अम्रिसो समेत रोपिएको छ । अम्रिसोका विरुवा विगतमा समेत रोपिएको छ ।
    अम्रिसोबाट घरपालुवा जनावरलाई घाँस त्यसको फुल कुचो बनाउन प्रयोग हुन्छ । डाँठलाई कागज बनाउन र दाउराको रुपमा पनि प्रयोग हुन्छ । ३ वर्ष यता ६० हजार विरुवा रोपिएको छ । कालिञ्चोकका २ सय परिवार किसानहरूले १ सय ५० का दरले रोपिएको छ ।
    यसै वर्ष किसानहरूले अकबरे खुर्सानी पनि रोपेका छन् । ५० जना बढी किसानले ४० हजार अकबरेका विरुवा रोपेका छन् । अकबरे खुर्सानीको बजारमा उच्च माग छ । एक महिनापछि त्यसले पनि उत्पादन दिन्छ । अब घरघरमा अकबरेबाट पनि पैसा भित्रिने स्थानीय किसान बलबहादुर थामीले बताए ।
    इलामको प्रविधि र सीप सिकाउन ३ वर्ष अघि इलामकोे नाम्सालिङ गाउँबाटै २ जना किसानहरू २ महिनासम्म कालिञ्चोक आएर बसेका थिए । उनीहरूले सिकाएको सीप अनुसार नै कालिञ्चोकका किसानरुले काम गर्न थालेका हुन् । इलामको नाम्सालिङ सामुदायिक विकास केन्द्र नामक गैर सरकारी संस्थाले कालिञ्चोकका किसानहरूको आयआर्जनका लागि सहयोगीको रुपमा काम गर्दै आएको छ ।
    एक वर्ष अघि जर्सी गाई समेत कालिञ्चोक भित्र्याएर पालेका छन् । २० वटा गाई ल्याएर सुरु गरे पनि त्यसबाट बढ्दै जाँदा अरु किसानहरूले पनि पाल्ने योजनामा रहेका छन् । स्थानीय जातका गाईभन्दा जर्सी गाईले दुध बढी दिने किसानहरूको भनाई छ । गाईको दुध ओलनको रुपमा इलाममा लिने गरिएको नाम्सालिङ सामुदायिक विकास केन्द्रका फिल्ड संयोजक राजन केसीले जानकारी दिए ।
    परम्परागत रुपमा पशु पाल्दै आएका किसानहरूलाई गोठ सुधारको तालिम समेत दिएको छ । तालिम पाएपछि घुम्ती रुपमा गोठ सार्दै आएका किसानरु सुधारिएको गोठमै गाई वस्तु पाल्ने र मलमुत्र संकलन गरी बोटविरुवामा हाल्न थालेका छन् । उनका अनुसार अहिलेसम्म १ सय ५० वटा गोठ सुधार भएका छन् ।
    ३ वर्ष अघि नै कालिञ्चोकका १० जना किसानहरू एक हप्ता काम गरे । इलामका किसान कालिञ्चोक र कालिञ्चोकका किसान इलाममा गएर काम गर्दा सिकाइ समेत आदनप्रदान भएको संयोजक केसीले बताए । सिकाइ अनुभव आदनप्रदानकै कारण कालिञ्चोकका किसानरुहरूमा काम गर्ने र उत्पादन गर्ने उत्साह समेत बढेको छ ।
    स्थानीयस्तरमा आवश्यक विरुवाका लागिग २ जना किसानले गाउँमै नर्सरी समेत राखेका छन् । गाउँमा आवश्यक फलफूल, मसलाजन्य बाली र र घाँसका विरुवाहरू उनीहरूकै नर्सरीबाट किसानहरूले लिने गरेका छन् । किसानहरू आयआर्जनका लागि विरुवा खरिदमा लाग्दा आफ्नो नर्सरी समेत राम्रैसँग चलेको नर्सरी व्यवसायी राजन थामीले बताए । उनीहरूलाई नर्सरी राख्न पनि इलामकै किसानहरूले सिकाएका हुन् । आउँदो वर्ष नै अदुवा पनि किसानहरूलाई दिने योजना छ ।