• बिर्तामोडमा हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप हुने

    बिर्तामोड, साउन : आगामी दशैँको अवसर पारेर बिर्तामोडको जायोन स्पोर्टस् क्लबले विदेशी टिम सम्मिलित स्तरीय गोल्डकप आयोजना गर्ने भएको छ । असोज ११ गतेदेखि १८ गतेसम्म झापाको डोमालाल राजवंशी रंगशालामा हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६ आयोजना हुन लागेको हो ।

    विगत २ वर्षदेखि खेलकुद क्षेत्रमा अघि बढिरहेको जायोन स्पोर्टस् क्लबले दुई विदेशी टिम र चार वटा ए डिभिजन क्लबसहित आठ वटा टिम गोल्डकपमा सहभागी हुने जानकारी दिइयो । आयोजकका प्रवक्ता अविनाश राईले प्रदेश १ मै प्रतिष्ठित गोल्डकपको रुपमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको बताए ।

    ‘झापामा फुटबललाई अझ चलयमान बनाउने सन्र्दभमा हामीले पनि एउटा इँटा थप्ने प्रयास गरेका हौँ’, उनले भने, ‘त्यही अनुसार हामीले गोल्डकपको तयारी तीव्र पारेका छौँ ।’ प्रतियोगितामा २ विदेशी टोली रहने भनिए पनि बंगलादेशसँग पनि सहभागिताका लागि कुरा भइरहेको उनको भनाइ छ ।

    बंगलादेशको सहभागिता नभएको खण्डमा नेपालका पाँच वटा ए डिभिजन क्लबको सहभागिता रहने आयोजकको भनाइ छ । आयोजकका तर्फबाट एउटा टिम रहने पनि आयोजकले जानकारी दिएको छ । तर, सहभागी टिमको बारेमा भने केही खुलाइएको छैन ।

    विजेतालाई १२ लाख रुपैयाँ प्रदान गरिने प्रतियोगिताको उपविजेतालाई छ लाख २५ हजारसहित ट्रफी प्रदान गरिने क्लबका अध्यक्ष भक्तबहादुर भुजेलले बताए । त्यस्तै, विधागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदयीमान खेलाडी, सर्वाधिक गोलकर्तालाई पनि जनही नगद पुरस्कार प्रदान गरिने भएको छ ।

    गोल्डकप सम्पन्न गर्न कम्तिमा ८० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि प्रायोजकको खोजी भइरहेको बताइयो ।
    कार्यक्रममा बोल्दै झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेतले यो प्रतियोगिता क वर्गको स्तरीय खेलअनुरुपको भएको बताए । झापा फुटबल संघको सहमति र एन्फाको अनुमतिमै प्रतियोगिता गर्न लागिएकाले सबैले सहयोग गर्न उनले अपिल पनि गरे ।