• रोङ गाउँपालिकाको बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न

    रोङ : इलामको रोङ गाउँपालिकाले आर्थिक बर्ष २०७५÷७६ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष शम्सेर राईले गत आर्थिक बर्षमा गरिएका योजना र प्रगतीको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । रोङ गाउँपालिकाको गत बर्ष ४० करोड ६० लाख ५३ हजार ३५ रुपैया बजेट रहेको थियो । जसमा आम्दानी तर्फ ३२ करोड ८२ लाख ८८ हजार ६६७ रुपैया र अन्य अनुदान ७ करोड ९८ लाख ९३ हजार १६७ रुपैया रहेको थियो । चालु तर्फ विनियोजित २४ करोड ३४ लाख १७ हजार ३१५ रुपैया मध्ये गाउँपालिकाले २१ करोड १ लाख ७९ हजार ९९ रुपैया अर्थात ८६.३५ प्रतिशत मात्र खर्च गर्न सकेको थियो । त्यसैगरी पुँजीगतमा विनियोजन गरिएको १६ करोड २६ लाख ३५ हजार ७२० रुपैया मध्ये ११ करोड ८ लाख ३० हजार ९७९ रुपैया अर्थात ६८.१५ प्रतिशत खर्च गरेको थियो । प्रदेश एकका साँसद काजीमान कागतेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला समन्वय समितीको उपप्रमुख चित्रकला बराइलीको बिशेष आतिथ्यता रहेको थियो । सार्वजनिक सुनुवाईका अधिकाँश सहभागीहरुले पर्यटन, शिक्षा र विकास निर्माणको बिषयमा प्रश्न गरेका थिए । सहभागीहरुले गाउँपालिकाको पर्यटकीय संभावना, शिक्षाका समस्या र विकास निर्माणमा भएको वेथिती र कमजोरीको बारेमा गुनासो राखेका थिए ।
    सहभागीहरुको गुनासोलाई गाउँपालिका अध्यक्ष राई, प्रमुख प्रशासकिय अधिकृत डिकबहादुर दहाल, प्रवक्ता सुवास तामाङ, स्वास्थ्य शाखा प्रमुख नेत्रप्रसाद पोखरेल, वडाध्यक्ष बुद्धिबहादुर ढकाल लगायतले सम्वोधन गरेका थिए । गाउँपालिका अध्यक्ष राईले पर्यटकिय क्षेत्र विकासका लागी गाउँपालिकाले गुरुयोजना विना लगानी नगर्ने बताए । उनले गुरुयोजना नभएको योजनामा गरेको लगानीबाट खासै प्रतिफल नआउने भएकाले योजना सहित आउन आग्रह गरे । राईले विकास बजेट समय भन्दा ढिला आउने भएकाले असारे विकासको विकल्प नभएको बताए ।
    प्रमुख प्रशासकिय डिकबहादुर दहालले कृषि प्राविधिकहरु गोठसम्म नपुग्ने गरेको सहभागीहरुको गुनासोलाई सम्वोधन गर्दै बिषयगत काममा खटाउने प्रतिवद्धता जाहेर गरे । उनले विद्यालयको भौतिक पुर्वाधार विकासमा ३३ प्रतिशतसम्म पेश्की दिने प्रावधान भएको उल्लेख गर्दै ऐन अनुसार विद्यालयले रकम लिन सक्ने बताए । गाउँपालिकामा गठन भएको मौरी शाखा र व्यवस्थित बसोबासको कर्मचारीको बिषयमा उठेको प्रश्नको जवाफ दिँदै कार्यक्रम अन्तर्गतबाटै सम्वन्धित कामका कर्मचारी र पदाधिकारीलाई तलब भत्ता दिइएको बताए ।
    कार्यक्रममा नेकपा रोङका अध्यक्ष वृहस्पती खतिवडा, कराते प्रशिक्षक योगेश चाम्लिङ, आदिवासी जनजाती समन्वय समितीका अध्यक्ष आरबी गुरुङ, गोविन्द पौडेल, सरस्वती माविका प्रधानाध्यापक प्रेम राई, चन्द्रकला आधारभुत विद्यालयका प्रधानाध्यापक गजेन्द्र दहाल, राजिव राई, प्रकाश खाती, रन्जित राई लगायतले गुनासो र सुझाव प्रस्तुत गरेका थिए । कार्यक्रमलाई क्रिसल एडर्भटाइजिङ एण्ड क्रिएसन प्रालिले संयोजन गरेको थियो ।