• उच्च पहाडमा चौंरी संस्कार

    पाचँथर: सिरसिर चलिरहने चिसो बतास । बतासले हुत्याएको बादलको घुम्टोले छपक्क छोपिन्छ फराकिलो फाँट । क्षणमै छ्याङ उघ्रिन्छ त्यही ठाँउ । अनि देखिन्छ मनामोहक दृष्य । दृश्यपान गर्दागर्दै शरिरमा ठोकिन आइपुग्छ चिसो बतास । चिसोले कक्रिन्छ पूरै शरिर । उतिखेर डरलाग्दो हूरी चल्छ अचाक्लि । क्षणभरमै असिना पानी अनि मुसलधारे बर्षासहित हिउँ बर्षनु उच्च पहाडी क्षेत्रको विशेषता हो । निकै कठिन छ यहाँ जिवन जिउन । तर, यस्तै कठिन विशेषताभित्र चल्छ चौंरीको सहज जिवन । उच्च पहाडी क्षेत्रको चिसोमै चन्छ चौँरीको जिवन चक्र । चिसो, हिँउ र फराकिलो फाँटमा रमाउने घरपालुवा जनावर हो चौँरी । नेपालको उच्च पहाडी क्षेत्र चौँरीका लागि उपयुक्त ठाँउ हो । उसका लागि फराकिलो खर्क आवश्यक पर्छ । हिँउ पर्ने र चिसो हुने फराकिलो चरण क्षेत्र भएको ठाँउमा चौंरी हुर्कन सक्छ । त्यसका लागि पाँचथरको फालोट क्षेत्र उपयुक्त ठाँउ हो । करिब तीन हजार पाँच सय मिटरको उचाइमा रहेको पाँचथरको फालोट क्षेत्रका बनमा सयौँ चौंरीहरु हुर्किएका छन् । नेपाल भारतको सिमाक्षेत्र रहेको यो उच्च पहाडको चिसोमा चौंरीको चमक देख्न सकिन्छ । चौंरी हेर्नलाई पनि आकर्षक जनावर हो । अन्य घरपालुवा जनावरका लागि प्रतिकुल हुने प्रकृति चौंरीका लागि अनुकुल हुन्छ ।
    ठूलो टाउको । लामासिङ र शरिरमा बाक्ला अनि लामा रौँ । हेर्दै आकर्षक देखिन्छ चौंरी । विशेषता पनि आकर्षक छ चौंरीको । जव हिँउ पर्न थाल्छ तब हिँउमा रमाउने गर्छ चौँरी । ‘हिँउ र चिसोमा रमाउने घरपालुवा जनावर हो चौंरी,’ सिमाक्षेत्र चाररातेमा २५ बर्षदेखि चौंरी पालन व्यवसाय गर्दै आएका जंग बहादुर राईले भने ‘डाँडामा हिँउ परेपछि चौँरी औधी रमाउँछ ।’ चौंरीका लागि चिसो ठाँउ आवश्यक पर्छ । हिँउले पुरिदासम्म आनन्दले सुतिरहने चौंरीको अनौठो विशेषता हुन्छ । पाँचथरको चारराते , लामपोखरी, सन्दकपुर र फालोट क्षेत्र चौंरीका लागि उपयुक्त ठाँउ हो । ‘यो क्षेत्रमा फराकिलो चरण क्षेत्र छ,’ चौंरी पालक कृषक छविलाल राईले भने ‘हिँउ पर्ने चरण क्षेत्र भएकाले यो चौंरीका लागि उपयुक्त ठाँउ हो ।’
    गाईले जस्तै चौंरीले पनि दुध दिन्छ । झण्डै गाँई जस्तै देखिने चौरीको विशेषता भने गाईको भन्दा फरक छ । चौंरीको दुधबाट किसानले घिउ र छुर्पी बनाएर राम्रो आम्दानी लिन्छन् । किसानहरुले पहाडको टाकुरामा व्यवसायिक रुपमा चौंरी गोठ पालेका छन् । एउटा गोठमा कम्तिमा २० ओटा भन्दा धेरै चौंरीहरु हुन्छ । दिनभरी बनमा चर्ने र साँझ परेपछि गोठ फर्कने चौंरीको विशेषता हुन्छ । गोठमा दुधुना चौंरी भए किसानले दिनमा दुई पटक दुध दुहुने गर्छन । ‘विहान र बेलुका चौंरी दुहुने गरिन्छ,’ जंग राईले भने ‘दुहुने समय भएपछि चौरी गोठमा आफैँ फर्केर आउँछ ।’
    अन्य मुलुकमा कम पाइने चौरी नेपाल भारतको सिमाक्षेत्रमा रहेको फालोट क्षेत्रको पहाडमा उल्लेख्य मात्रामा पाइने गरेको छ । उच्च पहाडमा चौरीको रमाइलो जिवन चक्र देखिने भएकाले चौंरी हेर्नकै लागि मानिसहरु यस क्षेत्रमा आउने गरेका छन् । पछिल्लो समयमा चौंरी संस्कृतिको संरक्षण गरेर राम्रो आम्दानी लिन सकिने भन्दै यस क्षेत्रका मानिहरु चौंरी संस्कृति संरक्षण अभियानमा लागेका छन् ।
    तमोर खबरबाट साभार