• मंगलबारे बजार अनुगमन

    देउमाई : देउमाई नगरपालिकाको केन्द्र मंगलबारेमा बजार अनुगमन गरिएको छ । नगर उपप्रमुख पविमाया राईको नेतृत्वको टोलीले बजारका किराना, खाध्य, होटल, मिठाइ पसल तथा मासु पसलको अनुगमन गरेको हो । अनुगमनका मासु पसलमा मुल्य सुची नराखिएको सरसफाइ नगरिएको पाइएको नगरपालिकाका उद्योग वाणिज्य शाखा अधिकृत नविन पौडेलले जानकारी दिए ।

    मिठाइ पसलले अनुज्ञापत्र नलिएको पाइएकाले सचेत गराइएको छ । बजार क्षेत्रका पसलहरुमा नापतौल नविकरण, भ्याट, कर तथा अन्तशुल्क लगायतका सरकारलाई बुझाउनु पर्ने शुल्कहरु समयमा नै बुझाइएको पाइएको पौडेलले जानकारी दिए ।

    अनुगमन टोलीमा इलाका प्रशासन कार्यालय मंगलबारेका प्रमुख सुरेन्द्र भट्टराई, नगरपालिकाका आर्थिक विकास संयोजक दिलिप कार्की, वडा नं ४ का अध्यक्ष राजेन्द्र बाँस्तोला, इलाका प्रहरी कार्यालयका सई हेमबहादुर कटुबाल, उद्योग वाणिज्य संघका प्रतिनिधी छविलाल श्रेष्ठ लगायत रहेका थिए । चाडबाड नजिकिएसंगै जिल्लाका विभिन्न बजारमा अनुगमन कार्य तिव्र रुपमा अगाडी बढाइएको छ ।