• विश्वमा चियाको लत : युनानदेखि युरोपसम्मको संघर्षपूर्ण यात्रा

    चियाको कारण लडेका चिनियाँ र युरोपियनहरु

    सुदर्शन अर्याल:

    इसापूर्व २७३७ मा चीनको हाल युनान प्रान्त रहेको क्षेत्रमा शासन सत्ता सम्राट सेन नोङले सम्हालिरहेका थिए । उनी एक शासक मात्रै थिएनन्, कुशल वैज्ञानिक पनि थिए । राज्य सञ्चालनको काम छाडेर एक अध्ययनको लागि उनी बगैंचामा पानी तताउँदै थिए । पानी उम्लिरहेको उनको भाँडोमा एउटा चियाको पात खस्यो । त्यहीँ भाँडोबाट निकालेर उनले एक गिलास पानी पिए । उमाल्दै गर्दा बगैँचामा रहेको चियाको पात सो भाँडोमा खस्यो । चियाको पात खसेकाले पानीमा उनले अर्कै स्वाद भेटे । त्यो पानी पिएर उनी यति रमाए कि आफूले खोजी गर्न लागेको विषय नै भुलेर उनले चियाको वैज्ञानिकता र यसमा रहेको औषधीय गुणहरुको अन्वेषण सुरु गरे ।

    यहीँबाट चियाको इतिहास सुरु भएको चिनियाँ जनश्रुतिमा पाइन्छ । चियाको उत्पादन सम्बन्धमा यो एक चिनियाँ मिथक मात्र हो । चिनियाँहरु चियाको उत्पत्तिको श्रेय तिनै वैज्ञानिक सम्राट सेन नोङलाई दिन्छन् । यद्यपि यस्ता मिथकहरु भारतीय उपमहाद्विप र युरोपमा भिन्दा भिन्दै किसिमका पाइन्छन् । जे होस् । हजारौं वर्ष पहिले नै चियाको चुस्कीले धेरैलाई आनन्द दिएको तथ्यलाई भने हामीले नकार्न सक्दैनौं ।

    त्यसो त केही मिथकहरुलाई आधार मान्ने बाहेक चीनबाट नै चियाको उत्पत्ति भएको भन्ने बारेमा यकीन जानकारी पाउने स्रोत भने छैन । तर, हामी यसको उत्पत्तिलाई चीन, तिब्बत र उत्तरी भारत मध्ये एक ठाउँबाट सुरु भएको हो भन्नको लागि संकोच मानिरहनु पर्दैन । विभिन्न मिथकहरुको मिति तुलना गर्दा चिनियाँ मिथक पुरानो भएको बाहेक उत्पत्तिको विषयमा स्पष्ट केही आधार छैन । यसको प्रचारप्रसारमा भने चिनियाँहरुको योगदानलाई भुल्न सकिँदैन ।

    उत्पत्तिको लामो समयसम्म चियाको लोकप्रियताले चिनियाँ चिस्यानको भूमिबाट बाहिर जान सकेन । सन् ६१८ देखि ९०७ सम्मको युग चिनियाँ ताङ राजवंशको युग हो । यही समयलाई नै चिनियाँ इतिहासमा स्वर्ण युगको रुपमा मान्ने गरिन्छ । यही समय नै विश्वभर चियाको बिस्तारका लागि उत्कृष्ठ समय ठहरियो । तत्कालीन ताङ राजवंशले चियालाई चीनको राष्ट्रिय पेयको रुपमा मान्यता दिएसँगै यसले विश्व यात्राकोलागि उडान भर्न सुरु गर्‍यो ।

    ईसाको सातौं शताब्दीदेखि १० औं शताब्दीसम्म तत्कालीन बौद्ध भिक्षुहरुले धार्मिक प्रचारका साथै चियाको प्रचार, यसको प्रयोगको तरिका र यसका फाइदाहरुको बारेमा चीन र अरु देशमा समेत सिकाउन थाले । सन् ९६० देखि १२८० सम्म चलेको सुङ राजवंशको समयमा चीनमा कविता र चियाको कलात्मक सन्दर्भहरुको बारेमा चर्चा हुन थाल्यो । यस अवधिमा चिनियाँ संस्कृतिले सुदूर पूर्वको कला, राजनीति र धर्ममा उल्लेखनीय प्रभाव पारेको थियो । त्यसैको आडमा चियाको विकासले विश्वमा फैलिने मौका पायो ।

    ताङ राजवंशको समयमा चिनियाँ यात्रीहरु विभिन्न देशमा जाने र अन्य यात्रीहरु चीन आउने परम्परा धेरै चलेको थियो । यो समयमा विभिन्न पश्चिमा मुलुकका धर्मप्रचारकहरु धर्मको प्रचार गर्न र व्यापारको अवसरको खोजीमा चीन पुगेका थिए । सोही समयमा चीनमा चर्चित भइसकेको चियाको संस्कृतिबाट प्रभावित भएर आफ्नो देशमा समेत यसको सिको गर्न सुरु गरेका थिए । योसँगै चीनको चिस्यानमा उम्रिएको चिया संस्कृति पश्चिमाको मुखमा चुस्की मार्न पुग्यो ।

    सन् १२५४ देखि १३२४ को समयमा मार्कोपोलोले पनि पूर्वको यात्राको बारेमा लेखेका लेखोटहरुमा उनको चिया प्रेमको बारेमा उल्लेख पाइन्छ । पश्चिमा मुलुकमा पुगेर पनि लोकप्रिय बन्नको लागि चियाले कम्ती संघर्ष गरेन । त्यही समयमा कफीको लत बसेका तन्नेरीहरुको मन फर्काउनु थियो भने कुलीन वर्गले पिउने पेय पदार्थको रुपमा चिनेका युरोपेली महिलाहरुको भ्रम पनि मेट्नु थियो । मध्यकालमा युरोपका धेरै मुलुकमा पुगेको चियालाई केवल पोर्चुगेलीहरुले साथ दिए । त्यसैको साथले हरेक युरोपेलीहरुलाई आनन्द दिन सफल भयो ।

    चियाको युरोप प्रवेश पछिको कथा

    १६ औं शताब्दीसम्म चियाको बारेमा युरोप अपरिचित थियो । एकाध युरोपियनहरुले आफ्नो शोखको रुपमा चिया पिउनेबाहेक अरु युरोपेलीहरुले यसको प्रयोग गर्ने गरेका थिएनन् । सन् १५६९ मा पोर्चुगली मिसनरीहरुले राजालाई पत्र लेखेर चियाको महत्वको बारेमा जानकारी दिएका थिए । उनीहरुले औषधीय पेयको रुपमा उल्लेख गरेसँगै केही धनीहरुले पाहुनाको स्वागतको लागि यसको प्रयोग गर्न सुरु गरे । यसरी पोर्चुगल नै चिया प्रयोग गर्ने पहिलो युरोपेली मुलुक बन्यो । त्यसपछि बिस्तारै युरोपभरी यसको स्वाद फैलिन थाल्यो ।

    चियाको निहुँमा चीन र युरोपको युद्ध

    चियाको विषयमा चीन र युरोपबीचको युद्ध भएको इतिहाससमेत हामीसँग छ । १७ शताब्दीसम्ममा पुरै युरोपेलीहरुलाई चियाको लत बसिसकेको थियो । त्यो लतका कारण युरोपले चीनबाट व्यापक मात्रामा चियाको आयात गर्न थाल्यो । चीनले युरोपबाट उनका सामग्रीहरुको आयात गर्न थाल्यो । १७ औं र १८ औं शताब्दीमा, चिनियाँ सामग्रीको मागले ९विशेष गरि रेशम, पोसेलिन माटोको भाडा र चिया ० युरोपमा बेलायत र चीनको चिङ राजवंशबीच व्यापारिक असन्तुलन सिर्जना गरेको थियो । युरोपेली चाँदीहरु चीनमा आउँथ्यो जसलाई चीनले भित्र्याउँथ्यो ।

    चियाको तीब्र आवश्यकतासँगै युरोपेलीहरु व्यापार घाटाको अवस्थामा पुग्न थालेका थिए । त्यसपछि बेलायतीहरुले नयाँ जुक्ती निकालेर चिनियाँहरुमा अफिमको लत बसाइदिए । त्यतिबेला ब्रिटिसले भारतमा आफ्नो उपनिवेश कायम गरिसकेको थियो । भारतमा व्यापाक मात्रामा अफिम खेती हुने भएकोले चिनियाँहरुलाई अफिम बेचेर नै बेलायतले आफ्नो व्यापारको नोक्सानीलाई पूर्ति गरेको थियो । त्यसको लागि स्थानीय एजेन्टहरु नै खडा गरेर चिनियाँहरुलाई अफिमको लत बसाउने गरिएको थियो । चिनियाँहरु युरोपेलीले आफूहरुलाई अफिमको लतमा फसाएको कारण चीनका तत्कालीन मानिसहरु केही पनि नयाँ सिर्जनात्मक काम गर्न नसक्ने भइसकेका थिए ।

    यसरी चिनियाँहरु सधैं अफिमको लतमा फसेपछि सन् १८३९ मा चिनियाँ सम्राटले अफिमलाई अबैध घोषणा गरेर विदेशी व्यापार बन्द गरिदिए । कैयौं टन अफिम समुद्रमा कसैले नदेख्ने गरी नष्ट गराइयो । चीनको यो कारबाहीलाई ब्रिटिस सरकारले आपत्ति जनाएपछि दुईपटकसम्म दुबै पक्षबीच युद्ध भएको थियो । यो युद्धलाई अफिम युद्ध नामले चिन्न थालियो । तर, यसको मूल कारण भने युरोपियनहरुमा बसेको चियाको लत नै थियो ।

    नेपालमा चियाको चलन

    यसरी विश्वभरी घुमेको चियाले नेपाललाई पनि आफ्नो स्वाद चखाउन बाँकी राखेको छैन । चियाको लागि उपयुक्त वातावरण रहेकाले नेपालीहरुले आफ्नै भूमिमा उत्पादन गरेर पनि धेरै चियाको प्रयोग गर्न थाल्यो । बचेको चिया निर्यात पनि गरिने गरेको छ । अहिले नेपालमा चियासम्बन्धी साना उद्योगहरु १५० वटाको हाराहारीमा छन् भने ठूला उद्योगहरु २२ वटा छन् । चियाका मूल ३ माउ प्रजाती हुन्छ । जसमध्ये पहिलो हो क्यामेलिया साइनेन्सिस् । यसको उत्पत्ति चीनबाट भएको हो । दोस्रोमा क्यामेलिया साइनेन्सिस् आसामिका हुन्छ । यसको उत्पत्ति भारतको आसामबाट भएको हो । तेस्रोमा क्यामेलिया साइनेन्सिस् क्याम्बोड जातको चिया हुन्छ । यसको उत्पत्ति कम्बोडियामा भएको हो । भिन्न भिन्न आकार र यसको स्वादको आधारमा पनि यसलाई छुट्टयाउन सकिन्छ ।

    चिया विशेषज्ञ सोनाम पाल्जोर लामा ग्रीन टीले लामो इतिहास बोकेको बताउँछन् । कालो चियाको इतिहास त्यति लामो नभएको नभएपनि पौराणिक कालमा समेत ग्रीन टीको प्रचलन रहेको उनले बताए । ग्रीन टीलाई ओसारपसारमा ज्यादा भण्डारण चाहिने, यसको प्रशोधन प्रक्रिया लामो भएको जस्ता कारणले ग्रीन टीको ठाउँ कालो चियाले लिएको उनले बताए । ग्रीन टीलाई २४ महिनाभन्दा धेरै राख्न सकिँदैन । त्यसैले पनि यसको विकल्पमा कालो चियाको अवधारणा आएको उनको बुझाई छ ।

    नेपालको हिमाली भेगका मानिसहरुले क्यामेलिया साइनेन्सिस् युक्त पत्ताहरुको प्रयोग गर्न सुरु गरेको केही वर्ष मात्रै भएको लामाले जानकारी दिए । लामाका अनुसार झण्डै ३ हजार वर्ष पहिले पनि चीनको युनान प्रान्तबाट भोट भेगसम्म टी(ट्रेडको रुट थियो । सिल्क रोडले समेटेको ठाउँमा सोही बाटो हुँदै जाने र नसमेटेको ठाउँमा छुट्टै टी ट्रेड रुट बनाएर चिया ओसार पसार गर्ने गरिन्थ्यो । त्यतिबेला चियालाई आधा प्रशोधन गरेर इट्टा जस्तो वा गोलो बनाएर भोट पुर्‍याउने गरिन्थ्यो ।

    त्यतिबेला चियाहरु सुनसँग साँट्ने गरेको इतिहाससमेत छ । लामाका अनुसार भोट धेरैले प्रयोग गर्ने चिया डार्क टी हो । त्यो ६ प्रकारको चियामध्येकोे एक प्रकार हो । यो अहिले काठमाडौंकै गुम्बाहरुमा पनि भोटबाट आएकाहरुले पिउने गर्छन् । शताब्दी पुरुष सत्यमोहन जोशी आफ्नो बालापनको समयताका काठमाडौंमा चिया खाने खासै चलन नभएको बताउँछन् । भोटबाट आएकाहरुले अर्कौ किसिमको चिया ल्याएर दिन्थे । कसैकसैले त्यो खाने गर्थे । अहिलेप्रयोग भएजस्तै चियाको चलन त प्रजातन्त्र आएको पनि निकै पछि मात्रै सुरु भएको हो ।

    हृवाइट टी, एल्लो टी, ग्रीन टी, उलङ टी, ब्ल्याक टी र डार्क टी गरी ६ किसिमका हुन्छन् । भोटमा खाने चियालाई पहिले उमालेर एउटा ढुङ्ग्रोमा हालेर त्यसमा त्यसमा नुन, चौरीको घिउ हालेर पिउने गरिन्छ । त्यसमा फाइबर, भिटामिन आदिले शरीरलाई स्वस्थ राख्न सहयोग गर्ने लामाको बुझाई छ ।

    अनलाईन खबरबाट