नयाँबजार । माईजोगमाई गाउँपालिका वडा न १ नयाबजारमा रहेको दुग्ध तथा चीज उत्पादन केन्द्रको उत्पादन ठप्प भएको छ । दैनिक ९५० लिटर दूध सङ्कलन गर्दै आएको केन्द्र गत जेष्ठ २४ गतेबाट ठप्प भएको हो । कोरोना भाईरस तथा लकडाउनको प्रत्यक्ष असरका कारण दूध सङ्कलन ठप्प भएको केन्द्रका हाकिम मिश्री प्रसाद चौधरीले बताए । दूध करिब ६ वटा सहकारी सस्था मार्फत उक्त केन्द्रमा सङ्कलन हुने गरेको र सोही केन्द्रमा चीज उत्पादन हुने गरेको थियो ।
लकडाउनका कारण चीज ढुवानी गरि काठमाडौ पठाउन समस्या साथै दूध गुणस्तरको नहुदा चीज फुलेका कारण बन्द गर्नुपरेको चौधरीले बताए । उनका अनुसार हाल चीज बिक्री नहुँदा स्टक राखिएको छ । चीज बनाउन डेनमार्कबाट केमिकल ल्याउनुपर्ने र उक्त सामग्री नआएपछी दूध बन्द गर्नु परेको केन्द्र प्रमुख चौधरीले बताए । सँस्थामा संकलन हुने दुधलाई फिक्कल र बिराटनगर लग्न पहल गरिए पनि सफल हुन नसेकेको एक कर्मचारीले बताए । बिराटनगर केन्दमा पर्याप्त दूध भएको र फिक्कलमा पहल गर्दा दैनिक ५०० लिटर मात्र लिने भएपछी थप ४५० लिटर दूध लिन आफुहरु समस्यामा परेको कर्मचारीले बताए ।
देशमा कोरोना संक्रमण बढिरहेको बेला दुध ठप्प हुँदा किसानहरु मार मा परेका छन् । नयाँबजार आसपासका क्षेत्रका बासिन्दाको मुख्य आम्दानीको श्रोत दुध रहेको छ । किसानहरुले केही समय अगाडी आफै ढुवानी गरि दैनिक फिक्कल दूध पठाएका थिए । तर फिक्कलमा समेत मिल्क होलिडे हुदा सधै किसान आफैले भाडा तिरेर लान सम्भब नरहेको चौधरीले बताए ।