एसईई नहुने भएपछि परीक्षार्थी खुसी कि दुःखी ?

Breaking News Hot News Mukya Samachar Special News Trending

काठमाडौं । लामो अन्योलपछि सरकारले अन्ततः यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने निर्णय गरेको छ । गत चैत ६ गतेबाट सुरु हुनुपर्ने एसईई परीक्षा कोरोनाको त्रासका कारण अघिल्लो दिन स्थगित गरिएको थियो ।

शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले अब सम्बन्धित विद्यालयहरूकै आन्तरिक मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरूलाई प्रमाणपत्र दिनेछ । यसको लागि यसअघि लिइएको टेस्ट परीक्षाको मूल्याङ्कन एउटा महत्वपूर्ण आधार हुन सक्छ ।

देशभरका चारलाख ८२ हजार २१९ विद्यार्थीले एसईईको तयारी गरेका थिए । परीक्षा स्थगित भएपछि तीन महिनादेखि उनीहरू अन्योलमा थिए ।

अर्थात्, उनीहरू खुसी देखिए । त्यसो त एसईईका लागि घुँडा धसेर गरेको मेहनत खेर गएकोमा खिन्न हुने विद्यार्थीहरू पनि छन् ।

विद्यार्थीहरूको भनाइ जस्ताको त्यस्तैः

‘एसईई राम्रो गर्ने तयारीमा थिएँ’
समीक्षा घिमिरे,डीएभी स्कुल, जावलाखेल

एसईईका लागि मेहनत गरेर पढेकी थिएँ । ए प्लस आउने लक्ष्य थियो । एकदिन अगाडि परीक्षा रोकिँदा दुःख लागेको थियो । त्यसपछिको तीन महिना यत्तिकै बित्यो । त्यतिबेला पढेको काम लागेन । फेरि परीक्षा दिनु परेको भए झ्याउ नै हुन्थ्यो होला । दोहोर्‍याएर पढ्न पनि जाँगर लाग्थेन होला । ठिकै भयो ।

स्कुलले लिएको टेस्टमा मेरो ‘ए ग्रेड’ आएको थियो । टेस्ट परीक्षाको नतिजामा विद्यालयले धेरै टाइट गरेको हुन्छ । त्यसको तुलनामा एसईईमा राम्रो नतिजा आउँछ । मेरो विचारमा अब विद्यालयले टेस्टलाई मात्रै नभएर त्यसअघिका आन्तरिक परीक्षाहरूको पनि मूल्याङ्कन गर्नुपर्छ ।

जे होस्, अब ढुक्क भएको छु । आगामी दिनका लागि योजना बनाउने छु । साइन्स नै पढ्छु होला । कहाँ पढ्ने, थाहा छैन । बुबाआमाको सल्लाह लिएर कलेज रोज्ने छु ।

‘प्रतिस्पर्धा गर्ने अवसर गुम्यो’
तायामा राई,एसबिए, मैतीदेवी

चैतमा अचानक रोकिएको एसईई परीक्षा अब नहुने समाचार एक किसिमले दिक्कलाग्दो छ । आफ्नो स्कुलको परीक्षामा जुन ग्रेड आयो, त्योभन्दा राम्रो ल्याउन गरेको मेहनत अहिलेलाई काम नलाग्ने भयो ।

सबै स्वतः पास हुनु नराम्रो त होइन होला, तर प्रतिस्पर्धा गरेर सर्टिफिकेट पाउँदा लाग्ने मजा अब नहुने भयो । अब यो वर्ष सबैलाई कोरोना भाइरसबाट पास भएको भनेर जिस्काउँछन् होला । हाम्रो ब्याचकालाई कलेजहरूले पनि त्यसरी नै टि्रट गर्छन कि । हाम्रो पालाको एसईईको नमज्जा यही हुने भयो ।

‘एकदमै खुसी छु’
क्षितिज गुरागाईं, नारायणी मावि, भरतपुर

दाइहरूले एसईई नहुने भयो भन्ने समाचार सुनाउँदा बडो मजा लाग्यो । तीन महिनादेखि के गर्ने के भन्ने भएको थियो । फागुनमा परीक्षाको राम्रो तयारी गरिएको थियो ।

एसईई दिन उत्साहित थियौं । तर, परीक्षा सुरु हुने ठिक अघिल्लो दिन स्थगित भएको सुन्दा साह्रै दिक्क लागेको थियो । अहिले चाहिँ ढुक्क लागेको छ ।

हाम्रो ब्याचका सबै साथी भएको म्यासेन्जर ग्रुप छ । परीक्षा नहुने भएपछि ग्रुपमा कुरा गर्दा सबै जना खुसी छन् ।

प्रि-एसईईमा मेरो ३.०५ आएको थियो । त्योभन्दा राम्रो गर्ने तयारी गरेको थिएँ । तर परीक्षा नहुने भयो । यो वर्ष ‘एसईई बिगि्रएर आत्महत्या’ भन्ने समाचार पनि सुन्नु नपर्ने भयो ।

‘साथीहरू पार्टी गरौं भन्छन्’
निरुता सोमै मगर, जनता मावि, विष्णुनगर

आमाले एसईईपछि मोबाइल किनिदिने भन्नुभएको थियो । तर लकडाउनले परीक्षा रोकिएपछि पहिला नै पाएँ ।

परीक्षा नहुने भएपछि साथीहरू खुसी छन्, केही दुःखी पनि छन् । धेरै पढ्नेहरू दुःखी छन्, कम पढ्नेहरू खुसी छन् । केही साथीहरूले त पार्टी गर्नुपर्छ पनि भनेका छन् । म ठिकठिकै पढ्नेमा पर्छु । अब होटल म्यानेजमेन्ट पढ्छु । समस्या नहोला भन्ने लागेको छ ।

‘म खुसी, भाइ दुःखी’
यमुना खतिवडा,रिब्स् स्कुल, बलम्बु

म र मेरो भाइ एसईईको तयारीमा थियौं । विद्यालयले लिएको पि्र-एसईईमा भाइको ‘ए प्लस’ र मेरो ‘बी प्लस’ आएको थियो । सर मिसहरूले मलाई अझै मेहनत गर्नु भन्नु भएको थियो । भाइ ‘ग्रेड ४’ ल्याउनुपर्छ भनेर पढ्दै थियो । म पनि मेहनत गर्दै थिएँ ।

चैत ६ गतेको परीक्षा अघिल्लो साँझ स्थगित भएपछि हामी गाउँ (नुवाकोट, पिपलटार) आयौँ । तर परीक्षा कहिले हुने भन्ने अनिश्चित भएर मन लगाएर पढेको चाहिँ थिइन । अब परीक्षा नभई पास हुने भन्ने सुनेर मलाई चाहिँ मजै लागेको छ ।

परीक्षा दिन पाए हुन्थ्यो भन्ने पनि नलागेको चाहिँ होइन । परीक्षा नदिई पास हुँदा गिज्याउँछन् कि जस्तो पनि लागेको छ । त्यो कारणले पनि भाइ चाहिँ खुसी छैन ।

ऊ आईटी इन्जिनियर बन्न चाहन्छ । एसईई दिन नपाएपछि ग्रेडिङ नबढ्ने भो भनेर दिक्क मानिरहेको छ । जे भए पनि अब निर्णय भइसकेछ । सरकारले दिने प्रमाण पत्रले ११ मा भर्ना लिन असजिलो पो हुन्छ कि !

‘यो बाध्यता हो’
नामबिन लिम्बु, हिमालय मावि, दमक

चैतमा परीक्षाको तयारी गरेर बसेको थिएँ । तर अन्तिम समयमा आएर एसईई सर्‍यो । त्यसपछि कोरोनाले तनाव बढायो ।

लकडाउन लम्बिँदै गएपछि परीक्षाको चिन्ता लाग्न थाल्यो । लकडाउनकै बीचमा पनि ‘म्याथ सर’ सँग पढिरहेको थिएँ । एसईईमा ‘ए’ ल्याउने लक्ष्य थियो । तर अब परीक्षा नै नहुने भयो । यसमा म दुःखी छैन । किनभने यो बाध्यात्मक अवस्था हो ।

‘एसईईको अनुभव गर्न नपाइने भो’
नितिशकुमार साह, स्वानिम पाठशाला, जनकपुर

हामीले परीक्षा हलमा बसेर एसईईको अनुभव गर्न नपाइने भयो । हलमा बसेर जतिसुकै टाइट परीक्षा भए पनि सबै प्रश्नको उत्तर लेख्नेगरी तयारी गरेको थिएँ । सबै तयारी बेकारै भए जस्तो लागेको छ ।

विद्यालयको आन्तरिक मूल्याङ्कनको आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र दिने भनेको छ । हेरौं विद्यालयले कसरी मूल्यांकन गर्छ । जेहोस् जीवनमा एकपटक आउने एसईईको अनुभव गर्ने मौका नपाएकोमा खिन्न छु । अनलाइनखबर

Leave a Reply

Your email address will not be published.