बालुवाटारभित्रै मागियो प्रधानमन्त्रीको राजीनामा, प्रचण्डभन्दा पूर्वएमाले कडा

Breaking News Hot News Mukya Samachar Special News Trending

काठमाडौं । भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा नेपालका नेताहरु पनि लागेको अभिव्यक्तिका कारण प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीमा संकटमा परेका छन् ।

मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा शीर्षनेताहरुले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न मात्र उठाएनन्, ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन मागसमेत गरे ।

प्रधानमन्त्री ओलीले आइतबार मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा नयाँ नक्सा छापेका कारण भारतले आफूलाई हटाउन खोजेको दाबी गरेका थिए । त्यसमा नेपालकै नेताहरु लागेको भए पनि त्यो सफल नहुने उनले बताएका थिए ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक ओलीको यही अभिव्यक्तिमा केन्द्रित भयो ।

सुरुमै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नियमित एजेण्डाअनुसार सीमा विवाद र नयाँ नक्साबारे छलफल गर्नुपर्ने भए पनि परिस्थिति बदलिएको बताए ।

मदन भण्डारी जयन्तीको दिन अर्का अध्यक्ष ओलीले दिएको अभिव्यक्तिले अवस्था गम्भीर बनाएको उनले बताए । ओलीको अभिव्यक्तिले नेपालले अझै आत्मनिर्णयको अधिकार प्रयोग गर्न पाएको छैन भन्ने सन्देश दिएको मात्र होइन, पार्टीकै नेताहरुमाथि अविश्वास देखिएको बताए । साथै विदेश सम्बन्धमा पनि प्रतिकुल असर पर्ने भन्दै यसबारे छलफल गर्नुपर्ने भएको उनले बताए ।

प्रचण्डले निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताका लागि निवेदन परेको विषय पनि उठाए । कतिपयले केपी ओलीले पार्टी फुटाउँछन् भन्दै आएको र झापाकै मान्छेले दल दर्ताका लागि निवेदन दिएको उल्लेख गर्दै उनले कसले किन नेकपा एमाले दर्ता गर्न खोज्यो भनेर खोजविन गर्नुपर्ने बताएको एक स्थायी कमिटी सदस्यले बताए ।

त्यसको जवाफमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले भारतको विरोध गर्दा पार्टीका नेताहरुको चित्त किन दुख्यो ? भन्दै प्रतिप्रश्न गरेका थिए । तर, भारतले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन खोजेको र त्यसमा नेपाली नेताहरुको सहभागिताबारे थप खुलाएनन् । प्रधानमन्त्रीले आइतबार आफूले भारतीय मिडियाहरुका बारेमा मात्र चर्चा गर्न खोजेको भन्दै आफ्नो भाषणको बचाऊ गरे ।

निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताको निवेदनबारे भने आफूलाई थाहा नभएको प्रधानमन्त्रीले बैठकमा बताए । उनले बैठकमा भनेका थिए, ‘दल दर्ता कसले किन गर्न खोनेको हो, मलाई थाहा छैन । मचाहिँ नेकपाकै मान्छे हुँ, यो पार्टीको अध्यक्ष हुँ ।’

साथै उनले ननईश्यूलाई ल्याएर पार्टीको बैठकमा किन छलफल गर्न खोजेको भन्दै प्रचण्डमाथि नै प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले दल दर्ता र भारतले सरकार ढाल्न खोजेको प्रमाणबारे प्रष्ट नभएको बताए । तर, त्यसपछि ओली बोलेनन् । त्यसपछि अरु नेताहरुले आफ्नो धारणा राखेका थिए ।

‘ओलीबाट सरकार र पार्टी दुबै चलेन’

प्रचण्ड र ओलीको सवाल जवाफपछि स्थायी कमिटीमा वरिष्ठ नेता झलनाथ खनाल बोलेका थिए । झलनाथ खनालले स्पष्ट रुपमा प्रधानमन्त्रीको राजीनामा मागेका थिए । बैठकमा बोल्ने पूर्वएमालेका नेताहरु प्रचण्डभन्दा कडा रुपमा प्रस्तुत भएका थिए ।

प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका नेता खनालले ‘हामीलाई भारतको एजेन्ट भन्न खोजेको हो ? भन्ने प्रश्न गरे ।

ओलीले सरकार एकलौटी चलाएको र पार्टी बैठकहरुको पनि उपेक्षा गरेको भन्दै खनालले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट ओलीको राजीनामा मागे । ‘पार्टीले हटाउँछु भन्यो भने केपी कमरेडले त्यसलाई मान्नुपर्छ । तनाशाहले जस्तो बलजफ्ती गर्न पाइँदैन’ उनले बैठकमा भने, ‘लिखित प्रस्ताव ल्याउँ, छलफल गरौं ।’

अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पनि अध्यक्ष ओलीप्रति आक्रामकरुपमा प्रस्तुत भएका थिए । उनले ओलीमा दम्भ, अहंकार र अरुलाई दास बनाउने प्रवृत्ति रहेको र त्यसले नै समस्या भएको बताए ।

मंगलबारको बैठकमा नेता नेपालले भने, ‘ओलीलाई विधि होइन, दास चाहिएको छ । पार्टी होइन, गुट चाहिएको छ ।’ यही कारण पार्टी नियोजितरुपमा विर्सजन गर्न खोजिएको त होइन भन्ने शंका लाग्न थालेको उनले बताएका छन् । उनले अघि भनेका छन्, ‘यो पार्टी साना दुःखले बनाएको होइन, सबैलाई चेतना भया ।’

उपाध्यक्ष बामदेव गौतमले पनि प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामा मागे । ओलीले आफ्नो कमजोरी कहिल्यै आत्मसाथ गर्न नसकेको र अहिले पनि त्यो नदेखिएको उनले बताए । गौतमले बैठकमा भने, ‘तपाई पार्टीको सबै ठाउँमा अल्पमतमा पर्नुभएको छ । अल्पमतमा परेपछि स्वतः राजीनामा दिनुपर्ने हो, राजीनामा दिनुस् ।’

प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि भारतले आफ्नो सरकार ढाल्न खोजेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाए । आन्तरिक राजनीति र व्यक्तिगत स्वार्थका लागि कूटनीतिक र परराष्ट्र सम्बन्धमाथि खेलबाड भएको भन्दै उनले आपत्ति जनाए । श्रेष्ठले बैठकमा भने, ‘उहाँलाई त्यस्तो लागेको भए पार्टीमा छलफल गर्नुपथ्र्यो । प्रमाण खोजेर राजदूतलाई बोलाएर सोध्नुपथ्र्यो र देश निकाला गर्नुपर्थ्यो ।’

तर, नेपालको नयाँ नक्सा छापेका कारण हटाउन खोजेको भन्ने प्रधानमन्त्रीको दाबी गलत भएको उनले बताए । भारतले नेपाली भूमिसमेत समावेश गरेर नोभेम्बर २०१९ मा नयाँ नक्सा जारी गरेपछि नेकपा केन्द्रीय समितिले लिम्पियाधुरासहितका भूभाग समावेश गरेर नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको उनले स्मरण गरे । तर सरकारले आनाकानी गरेको भन्दै श्रेष्ठले भने, ‘ नक्साको कुरा नीति तथा कार्यक्रममा पनि थिएन, हामीले सचिवालय बैठकबाट मुख्यसचिवलाई फोन गरेर थप्न लगाएको होइन ?’

साथै नेपालको नयाँ नक्सा नछापिँदै १७ वैशाखको सचिवालय बैठकमा नेताहरुले राजीनामा माग गरेको स्मरण गर्दै उनले प्रधानमन्त्रीको भिव्यक्तिका कारण देश र पार्टी दुबैलाई घाटा लागेको बताएका छन् ।

पार्टी एकतालाई कांग्रेसलाई हराउने र सरकारमा जाने अर्थमा मात्र बुझेका कारण पनि समस्या आएको उनले बताए । प्रधानमन्त्री ओलीमा आफूलाई बम्हज्ञानी ठान्ने, फरक मत राख्नेहरुलाई सत्रु मान्ने, अरुलाई दास बनाउन चाहने, उपयोग गर्ने प्रवृत्ति रहेको भन्दै उनले भने, ‘हिजोसम्म म यो सरकार सफल हुनुपर्छ भन्थेँ तर अब यो भन्न नसक्ने ठाउँमा पुगेको छु । हाम्रो पार्टीको सरकार सफल हुनुपर्छ भन्छु ।’

तर, प्रवक्ता श्रेष्ठ बोल्दा प्रधानमन्त्री ओली बैठकमा थिएनन् ।

त्यसपछि स्थायी कमिटी सदस्यहरु बेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, गोकर्ण विष्टलगायतले बोलेका थिए । सबै नेताहरुले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति गलत भएको धारणा राखेकका छन् ।

ओलीबाट पार्टी र सरकार दुबै चल्न नसकेको भन्दै उनीहरुले निकास दिन आग्रह गरेका छन् । एक स्थायी कमिटी सदस्य भन्छन्, ‘आज बोल्ने सबै नेताहरुको धारणा समान थियो, पछिल्लो अभिव्यक्तिपछि उहाँ (ओली)ले पार्टी र सरकारको नेतृत्व गर्ने हैसियत गुमाउनुभयो । नैतिक प्रश्न पनि उठ्यो, अब मार्गप्रशस्त गर्नुस् ।’

नेताहरुका अनुसार सचिवालय सदस्य रामबहादुर थापा बादल, ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल बोल्न बाँकी छ । यस्तै अरु स्थायी कमिटी सदस्यले पनि बोल्न बाँकी नै छ । बुधबारको बैठकमा अरुले बोलेपछि प्रधानमन्त्री एवं अध्यक्ष ओलीको जवाफ अपेक्षा गरिएको छ ।

प्रधानमन्त्रीनिवासमा नेकपा स्थायी कमिटीको बैठक अघिल्लो बुधबारदेखि बस्दै आएको छ ।अनलाइनखबर

Leave a Reply

Your email address will not be published.