एक संक्रमितको दु:खानुभूति

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रमोसन रोचक स्वास्थ्य/शिक्षा

तारा सापकोटा

शनिबार बिदाको दिन । बेलुका ७ बजेतिर बरन्डामा हावा खाँदै सुस्ताइरहेको थिएँ । अचानक मोबाइलको रिङ बज्यो । हेरेँ, ल्यान्डलाइनबाट फोन आएको रहेछ । कसले गर्‍यो होला ?  फोन रिसिभ गरेँ ।

‘हेल्लो, म जिल्ला अस्पतालबाट । अस्ति बुधबार तपाईंले दिनुभएको पीसीआर रिपोर्टको नतिजा आयो । दु:खको कुरा तपाईंको पनि पोजिटिभ आएछ । अब १४ दिन आइसोलेट भएर बस्नुहोला, केही समस्या भएमा अस्पतालमा सम्पर्क राख्नुहोला, धन्यवाद !’

आहा कस्तो रेस्पोन्स ! कस्तो आत्मीयता ! म पुलकित हुँदै यो खबर लिएर श्रीमतीकहाँ पुगेँ । उता उनलाई पनि सोहि व्यहोराको फोन आएको रहेछ । केही लक्षणसमेत देखिएकाले कोरोनाकै शंका त छँदै थियो, आज आधिकारिक रुपमा रिपोर्ट नै आएपछि मनमा चिसो पस्यो । लक्षण गम्भीर त थिएन तर वृद्ध अवस्थाकी आमा र सानो छोरोलाई कसरी जोगाउने मुख्य चिन्ता यही बन्यो । खानामा रुचि भएन ।

000

बिहान अबेसम्मै उठ्न मन लागेन । ओछ्यानमै केके सोचिरहेको थिएँ । निद्रा खुले पनि जिउ अल्छी बनेको थियो । सायद मनोवैज्ञानिक भयको मात्रा बढेर हो कि !

यही बेला कसैले फोन गर्‍यो । उठाउन मन लागेन । लामो समय रिङ आइरहेकाले दिक्क मान्दै उठाएँ । आफ्नै वडाका अध्यक्षले फोन गर्नुभएको रहेछ । मेलै सम्बोधन गर्न नपाई उतैबाट कुरा सुरु भयो, ‘तपाईंको परिवारमा कोभिड देखियो भन्ने जानकारी पाएँ । अहिले के कस्तो छ अवस्था ? घरमा अप्ठेरो परेमा हामीले बनाएको सुविधासम्पन्न आइसोलेसनमा बस्नु भए पनि हुन्छ । कुनै समस्या भए हामी छौं, चिन्ता लिनुपर्दैन । चाँडै ठिक हुनुहुनेछ ।’

‘हैन हजुर, यहाँ म ठिकै छु । सम्झनुभयो धेरैधेरै धन्यवाद । केही परे म सम्पर्क गरौंला, धन्यवाद’ भनेर फोन राखिदिएँ ।

हामी बूढाबूढी संक्रमित भए पनि घरमा ७० कट्नुभएकी आमा र सानो छोरो छन् । उनीहरुलाई कसरी जोगाउने ? दैनिक प्रयोगका सामान कसरी लिन जाने ? झ्याम्मिँदै आउने छोरोबाट कसरी टाढिने ? जोहो गरेको दालचामल पनि सकिन लागेको छ । बजारमा निषेधाज्ञा छ… यस्तै अनेक सोचमा रुमल्लिइरहेको थिएँ । तल ढोकाबाट कसैले बोलाएको आवाज आयो ।

‘तपाईंहरुको लागि सामान आएको छ, हामी उद्योग वाणिज्य महासंघको अफिसबाट ।’ यति भनेर दुई जना भाइहरु स्कुटीमा फर्किइहाले ।

सामान ल्याएर हेरेँ । एउटा पत्र पनि रहेछ, दाल, चामल, तेल, नुन, चिनी सहितका सामानको लिस्ट भएको । आहा कति ठूलो सहयोग ! कति विवेकी मन ! पालिका र मनकारी संस्थाको समन्वय भएको देखेर गदगद भएँ ।

आज  रिपोर्ट आएको तेस्रो दिन । लक्षण देखिएको ६ दिन भइसकेको थियो । खानामा अरुचि र हल्का खोकीबाहेक स्वास्थ्यमा खास समस्या महसुस भएको थिएन । फेरि वडाध्यक्षले फोन गर्नु भो, ‘के कसो हुँदै छ सुधार ? वडाको तर्फबाट तपाईंहरुलाई सानो सहयोग पठाउँदै छु । अरु केही समस्या भए चौबीसै घन्टा मेरो फोन खुल्ला छ, सम्पर्क गर्नुहोला ।’

नभन्दै केहीबेरमा दुई जना भाइहरु वडा कार्यालयबाट आएको भन्दै एउटा पोका ढोकामा राखिदिएर गए । दाल, गेडागुडी, अदुवा, ब]सार, हरियो सागसब्जी रहेछ । आहा, जनप्रतिनिधि होऊन् त हाम्रो वडाध्यक्ष जस्तो । आमा पनि औधी खुसी हुनुभयो ।

आइसोलेसनमा बसेकाले भेटघाट बन्द हुने भइहाल्यो । छिमेकीहरुले पनि मेसेन्जरमा सोधखोज गरिरहेकै थिए । ‘केही साह्रोगाह्रो भए भन्नुस् है हामी छौं,’ यस खालका आत्मीय शब्दहरु छिमेकीबाट मेसेन्जरमार्फत आइपुग्थे । हाम्रो जस्तो छिमेकी , जनप्रतिनिधि, निजी क्षेत्रले सबैतिर यसरी नै सहयोग गरे संक्रमितको मनोबल उसै पनि बढेर जान्थ्यो । संक्रमण नियन्त्रणमा पनि निकै सहज हुने थियो ।

आज त खाना पनि राम्रै रुच्यो ।

दिनभर कोठामै बस्नुपर्दा एकछिन टिभी हेर्‍यो । फेसबुक, युट्युब चलायो । दिन काट्ने यिनै साधन बनेका छन् ।

सामाजिक सञ्जालभित्र आफूलाई भुलाउँदै थिए । अब त लक्षण पनि कम हुँदै गएको र खाना पनि रुच्न थालेकाले कोरोनाविरुद्धको लडाइँमा म विजयी बन्दै छु भन्ने पनि लागिरहेको थियो ।

एकाएक फेसबुकका टाइमलाइन श्रद्धाञ्जलीका तस्बिरले भरिन थाले । सधैं जन्मदिनको शुभकामना र विवाहोत्सवको बधाई आइरहने ठाउँ श्रद्धाञ्जलीले ओगटेको थियो । एकै व्यक्तिले आफ्ना साथीले राखेको श्रद्धाञ्जलीको कमेन्टमा RIP लेख्न भ्याइरहेको थियो । लाग्थ्यो, RIP लेख्छ छुट्यो भने उसले धेरै कुरा गुमाउनेछ ! पछि त चिनेजानेकै साथीहरुको फोटो राखेर श्रद्धाञ्जली आउन थाल्यो । हुँदाहुँदा मेरो मेसेन्जरमा समेत फलाना त बितेछ नि भनेर रिपरिपेहरुबाट ब्रेकिङ शैलीमा सूचना आउन थाल्यो ।

ओहो हट्टाकट्टा थियो साथी । सुविधासम्पन्न अस्पतालमा उपचार भइरहेको थियो । आखिर कोरोनाले लगिछाडेछ । यसपछि भने अब कोरोना जित्छु भनेर ढुक्क भएको मेरा खुट्टा काँप्न थाले । जिउ थरथर गर्न थाल्यो । शरीरमा ज्वरो होइन चिसोचिसो महसुस गर्न थालेँ ।

झल्याँस्स हुँदा त म सपनामा रहेछु ।

मुटु ढुकढुक भइरहेको थियो । जिउ तातेर उग्र भएको रहेछ । एक चक्की सिटामोल खाएर फेरि सुतेँ । सुत्नुअघि सम्झिएँ, ४ दिनपछि रिपोर्ट दिने अस्पताल अनि कोरोना महामारीमा बेखबर वडाध्यक्षको अनुहार…

Leave a Reply

Your email address will not be published.