फिक्लल : इलामको सूर्योदय नगरपालिकाबाट नागरिकता बितरण तथा राष्ट्रिय परिचय पत्र दर्ताको काम शुरु भएको छ । नगरपालिकाबाटै नागरिकता बितरण तथा राष्ट्रिय परिचय पत्र दर्ताको काम शुरु भएपछि जिल्ला प्रशासन कार्यालय इलाम धाउनु पर्ने बाध्यताबाट सूर्योदय नगरपालिकाका बासिन्दा मुक्त भएका हुन ।
आईतबार एक कार्यक्रमका बिच राष्ट्रिय परिचयपत्रको लागि दर्ता स्टेसन सूर्योदय नगरपालिकामा स्थापना भएको छ । अबदेखि यहाँका नागरिकले राष्ट्रिय परिचयपत्रको दर्ता गर्न जिल्ला प्रशासन कार्यालयमा धाउन नपर्ने भएको नगर प्रमुख रण बहादुर राईले जानकारी दिनु भयो ।
सूर्योदय नगरपालिकामा आयोजित कार्यक्रममा सूर्योदय नगरपालिकाका नगर प्रमुख राई र इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले संयुक्त रूपमा राष्ट्रिय परिचयपत्रको दर्ता स्टेसनको उद्घाटन गर्नुभयो । यस्तै सूर्योदय नगरपालिका वडा न २ पशुपतिनगरमा रहेको सीमा प्रशासन तथा अध्यागमन कार्यालयबाट नगरका १४ वटै वडाका नागरिकले नागरिकता बनाउन पाउने भएका छन् । उक्त कार्यालयको समेत शुभारम्भ गरिएको छ ।
नगर प्रमुख राईले सूर्योदय नगरपालिकाका नागरिकले नागरिकता बनाउन तथा राष्ट्रिय परिचय पत्र दर्ता गराउन इलाम सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालय सम्म नै पुग्नुपर्ने र यसबाट जनताको समय र खर्च दुवै बढी हुने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तथा मातहतका अन्य निकाय सँगको समन्वयमा नगरका १४ वटै वडाका नागरिकले सीमा प्रशासन तथा अध्यागमन कार्यालयबाट नागरिकता पाउने व्यवस्था मिलाइएको बताउनु भयो । सेवालाई अझ छिटो र प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय सँगको समन्वयमा काम गर्ने सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राईले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी कल्पाना श्रेष्ठले यी दुईवटै काम सूर्योदयबाट शुरु भए पछि जिल्ला प्रशासन कार्यालयमा लाग्ने भिड सकेत घट्ने बताउनु भयो ।

सूर्योयमा पालिका स्तरबाटै नागरिकता र राष्ट्रिय परिचय-पत्र
