इलामको चुरे क्षेत्रमा बर्षौ देखि खानेपानीको समस्या,दुई बर्ष भित्रमा समाधान गर्ने स्थानीय तहको दावी

Breaking News Special News Trending समाज


प्रेम अधिकारी ,पशुपतिनगर(इलाम)

इलामको दक्षिणी चुरे क्षेत्रमा पानीका मुहान सुकेसँगै शुक्का मौसममा खानेपानीको बर्षौ देखी समस्या छ । चुरे क्षेत्रको वन फडानी ,भू–क्षय कारण हिउँदमा पानीका मुहान सुक्ने गरेकाले त्यस क्षेत्रका सर्वसाधारण बर्षौ देखि खानेपानीको समस्या झेल्न बाध्य भएका हुन ।बढ्दो जनघनत्वलाई पहिले भएको पानीको स्रोतले थेग्न छोडेको छ । पानीका मुहान सुक्दै जादा इलामको माई नगरपालिका ,चुलाचुली गाउँपालिका र रोङ गाउँपालिकाका चुरे क्षेत्रका स्थानीय घण्टौ समय लगाएर खोला ,खोल्सा धाएर पानीको समस्या टार्दै आएका छन् ।

बनजंगल बिनास र जनघनत्व बढ्दै जादा उक्त क्षेत्रमा प्राकृतिक कुवा, धारा सुकेसँगै इलामको दक्षिणि चुरे क्षेत्रका बासिन्दाले खानेपानीको अभाव झेलेको बर्षौ बितेको छ । गाउँमा रहेका पानीका मुहान सुकेसँगै दक्षिणि चुरे क्षेत्रका बासिन्दाका लागि खोला र खोल्साका किनार पानीका श्रोत भएका छन् । मुहान सुकेसँगै खानेपानीका आयोजनाका पुराना धाराहरु जीर्ण बनीसकेका छन् ।
रोङ गाउँपालिकाको वडा नम्बर ५ जिरीखिम्ती मालबाँसेका तोयानाथ खनालले अव पनि खानेपानी समस्या समाधान नहुने हो भने बसाँई सर्नुको अर्को कुनै बिकल्प नहुने बताउनु भयो । ‘खानेपानी समस्या होला भनेर बर्षौ बित्यो अवत भएका खोला खोल्साको पानी पनि सुकिसक्यो, समाधान कतैबाट भएन, खनालले गुनासो पोख्नु भयो ।’
रोङ गाउँपालिकाको वडा नम्बर ५ जिरीखिम्ती मालबाँसे, वडा नम्बर २ को दुधे, बरफल्याङ , वडा नम्बर ४ लगायतका स्थानमा हिउँद बर्खा दुवै समय खानेपानीको अभाव छ । वडा नम्बर ४ सालबोटेवाट यस अघि नै खानेपानीको समस्याले ४ घर परिवार बसाँई सरीसकेको गाउँपालिका अध्यक्ष समशेर राईले जानकारी दिनु भयो । अध्यक्ष राईका अनुसार यी क्षेत्रमा ठूला खानेपानी आयोजना संचालन गरी पानीको समस्या समाधान गर्न नसके सिंगो बस्तीनै बिस्थापीत हुने छ । अध्यक्ष राईले भन्नु भयो ‘खानेपानी समस्या समाधान गर्न गाउँपालिकाका साना योजनाले नधान्ने भएपछि प्रदेश र संघमा योजना प्रस्ताव पठाउदै छौ ।’
खानेपानी समस्याकै कारण माई नगरपालिकाको अवस्था उस्तै भनायक बन्दै गएको छ । माईनगरपालिकाको वडा नम्बर ५ लक्ष्मीपुर, वडा नम्बर ६ र ८ को महमाई, वडा नम्बर १० को चिसापानी, वडा नम्बर १ को दानाबारी क्षेत्रका स्थानीय बर्षौ देखि पानीको अभावमा स्थानीय खोला खोल्साको खानेपानी घण्टौ लगाएर बोकेर खान बाध्य छन । महमाईका चन्द्र तामाङले बर्षौ देखि मानिस, चौपयालाई पीउने पानीको समस्या रहेको बताउनु भयो । तामाङका अनुसार पीउने संगै सिंचाईको समेत चरम अभाव रहेको छ ।
खानेपानीको अभाव टार्न १ नम्बर प्रदेश सरकारको ९५ लाख रुपियाँ लगानीमा माईनगरपालिकामा लाटालाटी खानेपानी आयोजना निर्माणको काम भैरहेको उपप्रमुख बिष्णुमाया रिमाल आचार्यले जानकारी दिनु भयो । माईनगरपालिकाकै चिसापानीमा प्रदेश सरकारको ५५ लाख रुपियाँ लगानीमा शिवपोखरी खानेपानी आयोजना संचालन भैरहेको छ । नगरपालिकाले सितलु र शुक्रबारे बजारमा डिप बोरिङ गरेर पानी निकाल्ने काम गरेको छ । उपप्रमुख रिमालले नगरको पहाडी क्षेत्रमा पानीको समस्या भए पनि बिद्युत बिस्तार भई नसकेका कारण इनार बनाउन नसकिने बताउनु भयो । रिमालले भन्नु भयो‘हाम्रोमा पानीका मुहानै पहिले देखिनै कम्ती हुन , बनजंगल बिनास संगै भएका मुहान पनि अहिले सुक्दै गएका छन, संरक्षणका योजना बनाउदै छौ।’

चुरे क्षेत्रमा पर्ने चुलाचुली गाउँपालिका ६ साकफारा, वडा नम्बर ५ बुकुवा, वडा नम्बर २ बाह्कोठे, वडा नम्बर १ कमल , वडा नम्बर ३ लागयतका स्थानमा खानेपानीको समस्या छ । यी क्षेत्रमा बर्षौ देखिको समस्याले स्थानीयलाई हैरान बनाई सकेको छ । साकफारामा सांक्ष्सद बिकास कोष र गाउँपालिकाको ३० लाख लगानीमा दशमी खानेपानी आयोजना निर्माण कार्य भैरहेको छ । त्यस्तै वडा नम्बर ५ मा १ नम्बर प्रदेश सरकारको १ करोड १० लाखको लागतमा खानेपानी आयोजनाको काम भैरहेको छ । प्रदेश सरकार र गाउँपालिकाको लगानीमा बाह्कोठे, कमल , बुकुवा लगायतका स्थानमा खानेपानी आयोजनाको काम भैरहेको चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले बताउनु भयो । गाउँपालिकाले केहि ठाउँमा डिप बोरिङ गरेर पानी निकाल्ने काम गरीरहेको छ ।चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले खानेपानीको समस्या टार्न नयाँ प्रविधि ‘समरसीयल’ शुरु गरिएको जानकारी दिनु भयो । यो प्रविधिबाट जमिन भित्र पाईप गाडेर बिद्युतबाट पानी तान्ने गरिन्छ । अध्यक्ष राईले अवको २ बर्ष पछि गाउँपालिकाको खानेपानी समस्या लगभग समाधान हुने दावी गर्नु भयो । उहाले भन्नु भयो ‘लामो समय जनप्रतिनिधि नहुँदा कर्मचारीले ध्यान दिएनन, हामीले अवको २० बर्ष सम्मलाई धान्ने गरी योजना संचालन गर्दै छौ ।’ अध्यक्ष राईका अनुसार बनजंगल बिनासका कारण र बढ्दो जनघनत्वका कारण गाउँपालिकामा पानीको समस्या थपिदै गएको हो ।
माई नगरपालिका , चुलाचुली गाउँपालिका र रोङ गाउँपालिकामा बिकास निर्माण, बस्ती बिस्तार, बनजंगल फडानी, भूक्षयका कारण खानेपानीको समस्या भएको पाईन्छ । माई र चुलाचुलीमा २ बर्ष भित्रमा धेरै खानेपानीको समस्या समाधान हुने दावी गरिए पनि रोङ गाउँपालिकाको समस्या समाधान हुने छाटकाट छैन । उक्त क्षेत्रबाट निर्वाचित प्रदेश सांसद धिरेन्द्र शर्मा रमणले आगामी आर्थिक बर्षको बजेटमा इलामका चुरे क्षेत्रमा खानेपानी समस्या समाधान गर्न पहल गरिने बताउनु भयो ।

५० हजार बढी जनसंख्याको बसोबास रहेको चुरे क्षेत्रको खानेपानी समस्या समाधानका लागि सरकारी निकायबाट प्रयास गरेपनि दिर्घकालसम्म पानी हुने मुहान नहुँदा धेरै खानेपानी आयोजना अलपत्र छन् ।
पानीको संकट परेसँगैँ विद्यार्थीहरू विद्यालयमा तिर्खा लाग्दा पिउनका लागि घरैबाट बोतलमा पानी ल्याउने गर्छन् भने कोही नजिकका गाउँ पसेर पानी मागेर पिउने गर्छन् । चुरे क्षेत्रका विद्यालयमा खानेपानी अभाव हुँदा तिर्खा लाग्दा पिउने र विद्यालय सरसफाईमा समस्या हुने गरेको दानाबारीका तेजबहादूर घिमिरे बताउनु भयो ।
पुराना खानेपानी आयोजनाका मुहान सुकेपछि धारामा राम्ररी पानी आउन छोडी सकेको छ । पानीको अभावले महमाईको लोसे भन्ने गाउँमा गाईवस्तुलाई पानी खुवाउन केराको दाम्चा पेल्ने गरिएको छ ।
वर्षेनी वनजङ्गल मासिदै गएकाले पानीका मुहान सुक्दै गएको सर्वसाधरणको ठहर छ । यस क्षेत्रका बासिन्दामा चुरे क्षेत्रका वन मासिएकै कारण खानेपानीका श्रोत घटेको थाहा भएपनि वन विनाश रोक्न कुनै पहल भएको देखिंदैन् । सामुदायिक वन दिनप्रतिदिन विनास हुने क्रमले पनि खानेपानीको अभाव वर्षैपिच्छे बढ्दै गएको स्थानीयको गुनासो छ । चुरे क्षेत्रमा पानीका श्रोत जोगाउन सहयोग पु¥याई रहेका रूख विरूवा फडानी हुने क्रम बढेकाले पानीका श्रोत सुक्दै गएका छन् ।
गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published.