ताप्लेजुङमा इलामे बाच्छी

Breaking News Mukya Samachar Special News Trending




ताप्लेजुङ : ताप्लेजुङको फुङलिङ नगरपालिकाले इलामबाट गाईको बाच्छी ल्याएर किसानलाई अनुदानमा दिने भएको छ । आर्थिक वर्ष २०७५÷७६ अन्तर्गत विनियोजित बजेटबाट ११ वटा बाच्छी ल्याएर किसानलाई दिइने भएको हो । नगरपालिका पशु सेवा शाखाका नायब सुब्बा राजेश अधिकारीका अनुसार इलाममा मौखिक सहमति गरेर अर्डर गरेको बाच्छी असार मसान्तभित्रै वितरण गर्ने तयारी छ । अधिकारीले भने, “आवतजावत २ दिनमै सम्भव हुन्छ । असारभित्रै कार्यक्रम गरि किसानलाई दिन्छौं ।”
कार्यक्रमका लागि २ लाख ८० हजार रूपैयाँ विनियोजन गरिएको छ । उक्त रकम बाच्छी पाउनका लागि छनोट भएको भोटेगाउँ बुङकुलुङ गाईपालन समूहको खातामा नगरले निकासा गरिसकेको छ । फुङलिङ नगरपालिका–९ हाङदेवास्थित समूहका अध्यक्ष बलबहादुर शेर्पाले समूहको खातामा आएको रकम निकालेर आफूहरू पनि बाच्छी लिन जाने जानकारी दिए । त्यहाँको पशुपालन व्यवसायको अध्ययन र शीपसमेत सिक्नका लागि व्यक्तिगत खर्च गरेर जाने तयारी गरेको अध्यक्ष शेर्पाले बताए । विनियोजित रकमको ३० प्रतिशत समूहले थप गर्नुपर्ने व्यवस्था छ ।

यसैबीच गोठ सुधार कार्यक्रमअन्तर्गत नगरका ११ वटै वडाका लागि साढे ३ लाख रूपैयाँ प्रदान गरिएको छ । प्रत्येक वडामा छनोट भएका किसानलाई जनही २२ हजार ७ सय २७ रूपैयाँका दरले प्रदान गरिएको हो । किसानको श्रमदानसहित एउटा गोठका लागि २९ हजार ५ सय ४५ रूपैयाँ खर्च भएको छ । गोठ निर्माणको अनुगमनलगत्तै भुक्तानी गरिएको हो । अनुदान प्राप्त गर्न कम्तिमा ३ वटा गाई वा भैंसी पालेको हुनुपर्ने मापदण्ड तोकिएको थियो । फुङ्लिङ नगरपालिका–५ का गन्जसिंह भट्टराईले नगरको अनुदानमा थपेर गोठ निर्माण गरिएको जानकारी दिए । भट्टराईले भने, “अब उन्नत जातको गाई तथा बीउ गोरु पनि दिए राम्रो हुन्थ्यो ।” यसैगरी नगरभित्रैका पशुपालन फर्ममध्ये एउटा फर्मको गोठ सुधार गरिएको छ । १ लाख ५६ हजार खर्चिएर फुङलिङ नगरपालिका–८ स्थित ‘साथीभाई कृषि तथा पशुपालन फर्म’ को गोठ निर्माण गरिएको हो । उक्त रकमको २५ प्रतिशत भने आफूहरूले बेहार्नुपरेको फर्म सञ्चालक बाबुराम पालुङ्वाले जानकारी दिए ।
नगरपालिका प्रमुख छत्रपति प्याकुरेलले पशुपालनका लागि लगानी गर्न प्रतिबद्ध रहेको बताए । आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि पशु सेवा कार्यक्रमअन्तर्गत ३५ लाख विनियोजन गरिएको छ । तीमध्ये गाई भैंसीमा कृत्रिम गर्भाधानका लागि आवश्यक सामग्री खरिद गर्न ३ लाख, ५० प्रतिशत अनुदानमा बाच्छी खरिद गर्न ४ लाख र बीउ गोरु खरिदका लागि नगरपालिकाले २ लाख विनियोजन गरेको छ । ११ वटै वडामा ५ वटाका दरले गोठ सुधार कार्यक्रम ५० प्रतिशत अनुदानमा लागू गर्ने नगरप्रमुख प्याकुरेलले बताए ।

Leave a Reply

Your email address will not be published.