गुणस्तरीय किबी उत्पादन नहुँदा बजारको समस्या

Breaking News Mukya Samachar Special News Trending

इलाममा किवी खेती फस्टाएको भए पनि गुणस्तरीय उत्पादन नहुँदा बजारमा समस्या देखिएको छ । एक बोटमा करिव दुई सय किलोसम्म उत्पादन हुने किवीको गुणस्तरीय उत्पादनमा किसानले ध्यान नदिँदा बजारको समस्या परेको हो । यहाँ उत्पादित फल सानो हुने भएकाले पनि समस्या हुने गरेको बताइएको छ ।
पूर्वको इलामसहित केही जिल्लामा उत्पादन भइरहेको किवी फलको गुणस्तरीय उत्पादन नहुँदा बजारमा समस्या रहेको बताइएको छ । जमिनको उचाईअनुसार किवीको जात छनोट नहुँदा फलको उत्पादन सानो र तौल कम भएको विशेषज्ञले औंल्याएका छन् । गुणस्तरीय फल उत्पादन नहुँदा कम मूल्यमा बिक्री गर्न बाध्य भएको सरोकारवालाहरूको भनाइ छ । किवी फलको व्यावसायिक उत्पादन र उचित मूल्य पाउनका लागि किवी बालीको व्यवस्थापनमा ध्यान दिन आवश्यक भएको किवी फल महासंघका महासचिव तथा किवी विशेषज्ञ सगुन उप्रेती बताउँछन् । यहाँ उत्पादित किवीको फल सानो भएका कारण अन्य देशमा खासै राम्रो बजार पाउन नसकेको बताइएको छ । ठूलो फल हेर्दा समेत आकर्षक हुने भएकाले यसको मूल्य पनि महंगो पर्ने गरेको छ ।

इलाममा किवी फलको व्यावसायिकरणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत किवी जोन सञ्चालनमा रहेको छ । पाँच सय हेक्टर क्षेत्रमा फैलिएको किवी खेतीबाट बार्षिक पाँच सय टन उत्पादन हुने गरेको छ । उत्पादित किवी धेरै जसो जिल्लामै खपत हुने गरे पनि केही राजधानी र केही भारतको नयाँदिल्ली र दुवईमा निर्यात भइरहेको छ । विदेश निर्यात र बजार विस्तारका लागि गुणस्तरीय आकार र तौल भएको फल उत्पादनमा जोड दिए मात्र उचित मूल्य पाइने किवी जोन परियोजना सञ्चालक समितिका संयोजक देउकुमार राईको भनाइ छ । इलामको सन्दकपुर गाउँपालिकालाई लक्षित गरेर स्थापना गरिएको जोन मार्फत् अब ठूला तथा आकर्षक फल उत्पादन गर्ने कार्य अगाडि वढाइने उनले बताए ।
एक बोटमा करिव दुई सय किलोसम्म उत्पादन हुने किवी मकैबारी, चियाबारी र अलैँचीका बोट माथि थाँग्रा लगाएर रोप्ने गरिएको छ । किवीको ग्राफ्टीङ विरुवा उत्पादन गर्न इलामका किसान सीपालु भइसकेको राई बताउँछन् । केही समयअघि किवी खेतीको प्रवद्र्धन गर्न इलाममा किवी महोत्सवसमेत आयोजना गरिएको थियो । पहिला पहिला बाहिरबाट इलाममा किवी ल्याएर रोपिए पनि हाल इलाममा नै विरुवा उत्पादन गरिन्छ । यहाँ उत्पादित विरुवा हाल देशका विभिन्न जिल्लामा पठाउन सुरु गरिएको सन्दकपुर गाउँपालिकाका किसान रुद्र खतिवडाले बताए । उनका अनुसार उदयपुर, भोजपुर, धनकुटादेखि पश्चिमका जिल्लामा समेत किवीका विरुवा लैजाने गरिएको छ ।
पहिला एक मात्र जातको किवी उत्पादन हुन्थ्यो । पछिल्लो समय रेड किवी पनि बजारमा पाउन थालिएको छ । भिन्न जातका किवीका भिन्न स्वाद हुने उनी बताउँछन् । रेड किवी साउन अन्तिमदेखि बजारमा आउने गरेको छ । यसको विशेषता पनि छिटो उत्पादन हुनु र बोटमा नै फल पाक्नु हो । तर अन्य जातको किवी कात्तिक अन्तिममा मात्र पाक्छ । त्यो पनि बोटबाट टिपेर तातो ठाउँमा राख्दा मात्र पाक्ने गर्दछ । यी लगायत यसका समेत विभिन्न जातका हुने किसान बताउँछन् । यहाँ उत्पादित किवीबाट जुस, जामलगायतका परिकारसमेत बनाउन थालिएको छ ।
समुद्र सतहदेखि ८ सय मिटर र तीन हजार मिटर उचाइको क्षेत्रमा किवी फल खेती गर्न सकिने हुँदा आय आर्जन वृद्धिका लागि महत्वपूर्ण हुने हुन्छ । किवी फलमा १२ किसिमको फलफूलको स्वाद र १७ किसिमको प्रोटिन, भिटामिन र खनिज तत्व पाइन्छ । यो फलबाट जुस, जाम, जेली र वाइनसमेत बन्ने हुँदा घरेलु उत्पादनमा समेत यसलाई प्रयोग गर्न सकिने भएकाले यसको माग बढ्दो रहे पनि जमिनको उचाइअनुसार किवीको जात छनोट नहँुदा समस्या उत्पन्न भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.