भिडियो खिच्ने को ? किशोर श्रेष्ठ शंकाको घेरामा !

भिडियो खिच्ने को ? किशोर श्रेष्ठ शंकाको घेरामा !

शालिकराम पुडासैनीले आत्महत्या गर्नुपूर्वको भिडियो रेकर्ड जनआस्था साप्ताहिकका सम्पादक तथा प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले सार्वजनिक गरे । उनले भिडियो सार्वजनिक गरेको भोली पल्टै प्रहरीले आत्महत्या दुरुत्साहनमा न्युज २४ का पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गर्यो । प्रहरीले उनीहरुलाई आत्महत्या दुरत्साहनमा मुद्दा चलायो ।

तर, चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन मुद्दामा पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई लगाएका आरोप र तथ्यलाई अस्वीकार गरेको छ । पुडासैनीका आत्महत्या सम्बन्धमा अदालतले केहि प्रश्न उठाएको छ । भिडियो सार्वजनिक श्रेष्ठले गरेको अवस्था, रविसँग पुरानो रिसइवी र अदालतले भिडियो खिच्ने समयमा दोस्रो व्यक्ति पनि छन् भनेर किटान गर्नुले शंकाको सुई किशोर श्रेष्ठ तिर पनि सोझिएको छ । श्रेष्ठले अदालतले उठान गरेका कतिपय प्रश्नको उत्तर दिनै पर्दछ ।

आदालतले उठाएका प्रश्न ?
१. पुडासैनीलाई कसैले मारेर झुन्ड्याएको भन्ने प्रचार र चर्चा थियो तर अदालतले पोष्टमार्टम रिपोर्टका आधारमा पुडासैनीको मृत्यु आत्महत्या भएको हो भनेको छ ।

२. पुडासैनीले मृत्यु अघि रेकर्ड गरेको भिडियोमा भित्री वस्त्रमा देखिएको तर झुण्डिएको अवस्थामा टिसर्ट र पाइन्टमा देखिएकाले मृत्युकालीन घोषणा र आत्महत्या गर्दाको अवस्था फरक देखिएको उल्लेख छ ।

३. मृत्युअघि पुडासैनीले रेकर्ड गरेको भिडियोको अन्त्यमा बुबा, आमा र पत्नीसँग माफ माग्दै हात जोडेको अवस्थाले भिडियो रेकर्ड पुडासैनी आफैँले गरेको भन्ने कुरा अदालतले विश्वास गरेको छैन । भिडियो रेकर्ड हुँदा अरु कसैको सहयोग लिएको अवस्था देखिएको उल्लेख छ ।

४. पुडासैनीको भिडियो रेकर्ड र आत्महत्या फरक फरक समयमा भएको देखियो । यदि घोषणा लगत्तै आत्महत्या गरेको अवस्थामा भिडियो रेकर्ड गर्न सहयोग गर्ने अर्को व्यक्तिले आत्महत्या गर्न रोक्ने, बचाउने, गुहार गर्न सक्ने अवस्था हुन्थ्यो तर यी कुनै पनि कार्य नभएकाले भिडियो रेकर्ड लगत्तै आत्महत्या गरेको देखिएन भन्दै आदेशमा आत्महत्या दुरुत्साहनको दाबीलाई अस्वीकार गरेको छ ।

५. मृतक, रवि र युवराज पूर्व सहकर्मी भएका हिसाबले फोन सम्पर्क हुनु स्वभाविक भएको र कल डिटेललाई मात्र अवान्छित सम्वाद मान्न नसकिने भनी प्रहरीले पेश गरेको कल डिटेलको प्रमाणलाई अदालतले अस्वीकार गरेको छ ।

६. घटना हुँदा अर्थात् पुडासैनीले आत्महत्या गरेको अवस्थामा आरोपित उपस्थित भएको देखिएन भनिएको छ । यसले आरोपित तीन जनाबाहेक अरु नै कोही भिडियो रेकर्ड गर्ने समयमा उपस्थित थिए भन्ने कुरा पुष्टि हुन्छ ।

७. मृत्युकालीन घोषणा लगत्तै आत्महत्या भएको हो भन्ने समयलाई प्रमाणको रुपमा लिन भिडियो फोरेन्सिक विशेषज्ञ र शव परीक्षण विशेषज्ञलाई अदालतमा प्रमाणको रुपमा परीक्षण नगरी यकिन गर्न नसकिने भन्दै आदेशमा प्रहरीले दाबी गरेको मृत्युकालीन घोषणालाई स्वीकार गर्न इन्कार गरेको छ ।

८. मृतकको शरीरमा घाउ चोट कसरी भयो भन्ने प्रहरी अनुसन्धानबाट नखुलेको भन्दै अदालतले अनुसन्धानमाथि प्रश्न उठाएको छ ।

९. दुई महिना अघिबाट अर्को टेलिभिजनमा काम गर्न थालेकाले पुडासैनीको आर्थिक परनिर्भरता र तनाव पनि आरोपितसँग सम्बन्धित देखिएन भनेर तनाव दिएर आत्महत्या गर्न बाध्य पारेको प्रहरीको आरोपलाई अदालतले अस्वीकार गरेको छ ।

१०. मृतक पुडासैनीले भिडियो रेकर्डमा दुई महिना अघि मानसिक तथा शारीरिक तनाव दिने गरेको उल्लेख गरेका छन् । दुई महिना अघिको तनावले अहिले आत्महत्या गर्नु परेको भन्ने भनाई समय सान्दर्भिक देखिएन भनेर अदालतले पुडासैनीको रवि, युवराज र अस्मिताको तनावले आत्महत्या गरेको भन्ने भनाईलाई अस्वीकार गरेको छ ।

११. अस्मिता कार्कीसँगको प्रेम सम्बन्ध न्युज २४ को सिधा कुरा जनतासँग भन्ने कार्यक्रममा प्रसारण गरिदिने हुन् कि भन्ने भयको परिकल्पना गरी आत्महत्या गरेका हुन् भने मृत्युको कारण विवाहइत्तेरको प्रेम सम्बन्ध र त्यसबाट सिर्जित तनावले पुडासैनीले सहीरुपमा व्यवस्थापन गर्न नसकी उद्वेलित मनोदशा वा प्रत्ययवाद अर्थात आरोपितका कार्य व्यवहार जिम्मेवार छ भन्ने अनुसन्धानबाट स्पष्ट नखुलेको भनी प्रहरीले लगाएको यो आरोप पनि अदालतले अस्वीकार गरेको छ ।

भिडियो खिच्ने को ?
अदालतको आदेशमा भिडियो खिचेको समय र आत्महत्या गरेको समय एउटै होइन । पुडासैनीले आत्महत्या अघि खिचेको भिडियो अरु कसैको सहयोगमा खिचेको हो भनेको छ । सञ्चार माध्यम र सामाजिकमा सञ्जालमा सार्वजनिक भएको भिडियो र प्रहरीले अदालतमा पेस गरेको भिडियो एउटै भएको स्पस्ट पारेको छ ।

अब यहाँ गम्भिर प्रश्न उठ्छ । प्रेस काउन्सिलका स्वघोषित कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले पहिलो पटक सञ्चार माध्यममा भिडियो सार्वजनिक हुन् । श्रेष्ठ जनआस्था साप्ताहिकका सम्पादक मात्र होइनन्, उनी प्रेस काउन्सिल जस्तो अर्धन्यायिक निकायको कार्यबाहक अध्यक्ष पनि हुन् । उनले सार्वजनिक गरेको भिडियो र प्रहरीले अदालतमा पेस गरेको भिडियो एउटै भएकाले कार्यबाहक अध्यक्ष श्रेष्ठले भिडियोको श्रोत प्रस्ट पार्नु पर्दैन ?

श्रेष्ठले परिवारबाट भिडियो प्राप्त गरेको भनेका छन् । तर, परिवारले त्यसलाई पुस्टी गरेको छैन । जब अदालतले नै भिडियो खिच्ने दोस्रो व्यक्ति छ भनेको अवस्था प्रहरीले दोस्रो व्यक्तिको खोजी किन नगर्ने ? प्रहरीले श्रेष्ठसँग भिडियो कसरी पुग्यो भनेर किन अनुसन्धान नगर्ने ?

श्रेष्ठले सार्वजनिक गरेको भिडियो र प्रहरीले घटनास्थलबाट बरामद गरेको भिडियो अदालतले एउटै हो भनेको छ । श्रेष्ठले भिडियो प्रहरीले दिएको भनेको भए बिवाद हुँदैनथ्यो । तर परिवारबाट लिएको हुँ भनेका छन् । परिवारले पनि हामीले दिएका हौँ भन्ने स्वीकारोक्ति आएको छैन । उनको यो भनाई नै शंकास्पद छ । प्रहरीले पनि भिडियो कसैलाई नदिएको बताएको छ ।

प्रहरी भन्दा पहिला परिवारको हातमा त्यो भिडियो कसरी पुग्यो ? कतै श्रेष्ठले अराए खटाएका व्यक्तिको भिडियो खिच्ने कार्यमा संलग्नता त छैन ? गम्भीर प्रश्न उठेको छ ।

भिडियोमा पुडासैनले दुईहात जोडेर बुबा, आमा र श्रीमतीसँग माफी मागेका छन् । भिडियो हेर्ने जो कोहीले पनि सेल्फी होइन भन्ने अनुमान गर्न सक्छन् । भिडियो खिच्ने सहयोग गर्ने दोस्रो व्यक्तिले पुडासैनीलाई आत्महत्या गर्नबाट किन रोकेनन् ? भनेर अदालतले पनि प्रश्न उठाएको छ । श्रेष्ठले भिडियो स्रोत नखोलेसम्म पुडासैनीले आत्महत्या गर्नु अघि भिडियो खिच्न कसले सहयोग गरेको थियो भन्ने खुल्दैन । श्रेष्ठले भिडियो दिने स्रोत दिएमात्र प्रहरी र अदालत भिडियो खिच्ने को भन्ने निस्कर्षमा पुग्न सक्तछ ।

पुडासैनीको आतमहत्यामा दुरुत्साहनमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की होइनन्, भिडियो खिच्ने अरुनै कोही छन् भनेर अदालतले प्रस्ट पारेको छ । दोस्रो व्यक्ति पत्ता लागउन किशोर श्रेष्ठबाट कुन स्रोतबाट भिडियो पुग्यो भनेर अनुसन्धान गर्दा पत्ता लागउन कुनै कठिनाई हुँदैन ।

रविसँगको प्रतिशोध

एक वर्ष अघि किशोर श्रेष्ठले रविको अमेरिकन पासपोर्टको झमेला झिकेर नेपालबाट लखेट्ने प्रयास गरेका थिए तर असफल भए । रविले अमेरिकन पासपोर्ट त्यागे । श्रेष्ठ रविसँगको विवादमा नराम्ररी बद्नाम भए । रविसँग त्यही बदला निल शालिकराम पुडासैनीको आत्महत्यामा रविलाई सडाउने सड्यन्त्रमा श्रेष्ठ लागेका हुन् । तर, यस यस घटनामा उनी आफैँ बिवादको घेरमा परेका छन् ।

श्रेष्ठलाई लाग्न सक्छ हत्याको दोस्रो अभियोग 
श्रेष्ठ सम्पादक रहेको जनआस्था साप्ताहिकले २०५९ साल असोज २३ गते नायिका श्रीशा कार्कीको नग्न तस्वीरसहित समाचार प्रकासन गरेको थियो । जनआस्थाले श्रीशालाई वेश्यावृतिमा सम्लग्न भएको तथ्यहिन आरोप लगाउँदै नग्न फोटो प्रकाशन गरेपछि श्रीशाले असोज २८ गते आत्महत्या गरेकी थिइन् ।

जनआस्थाले नग्न तस्वीर प्रकाशन गरेर श्रीशा कार्कीलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै सम्पादक किशोर श्रेष्ठलाई कारवाहीको माग गर्दै कलाकारले सडक आन्दोलन गरे ।

जानकारका अनुसार श्रेष्ठ विरुद्धको श्रीशा हत्या अभियोग सरकारले चाहेमा पुनः व्यूँताउन सक्छ । श्रेष्ठ विरुद्धको हत्या अभियोग न्यायिक निकायबाट निरुपण भएको होइन । महान्यायधिवक्ताको कार्यालयले मुद्दा स्थगन मात्र गरेकाले उनी हत्या जस्तो संगीन आरोपबाट मुक्त भएका छैनन् ।

श्रीशा कार्कीको हत्याको आरोप लागेका श्रेष्ठलाई शालिकराम पुडासैनीलाई पनि आत्महत्या गर्न सड्यन्त्र गरेको आरोप लाग्न सक्छ । प्रहरीलाई प्रभावमा परेनन् भने भिडियो सार्वजनिक गर्ने पहिलो व्यक्ति भएकाले श्रेष्ठ प्रहरी अनुसन्धान र शंकाको घेरामा तानिन्छन् । भिडियो सार्वजनिक प्रकरणमा श्रेष्ठले प्रहरी र अदालतलाई सहयोग गरेनन् भने त्यसको आरोप उनीमाथि नै लाग्न सक्छ ।

मर्ने पुडासैनी पनि पत्रकार, आरोपित पनि पत्रकार, आरोप लगाउन कम्मर कसेर लाग्ने श्रेष्ठ पनि पत्रकार हुन् । यस्तो अवस्थामा नेपाली पत्रकारिता जगतले यस घटनाको खोजी र अनुसन्धान थप सक्रियता देखाउनु पर्दछ । श्रीशा काण्डमा सिंगो पत्रकारिता जगतको शिर झुकेको थियो ।

शालिकराम प्रकरणमा पनि पत्रकारिता जगतले शिर झुक्न नदिन श्रेष्ठले भिडियोको स्रोत खोल्नु पर्दछ । स्रोतलाई कुनै खतरा भएको अवस्था स्रोत खोल्दिन भन्न सकिन्छ । तर, भिडियो दिने स्रोतलाई कुनै खतराको सम्भावना छैन । यो एक गम्भिर विषय पनि हो ।

श्रेष्ठले पुडासैनीको आत्महत्या प्रकरणमा शंका र आरोपबाट उन्मुक्ति पाउने हो भने पनि स्रोत सार्वजनिक गर्नै पर्ने हुन्छ । र, अनुसन्धानमा अदालतलाई सहयोग गरेर मात्र उन्मुक्ति पाउन सक्छन् । होइन भने, पुडासैनीको मृत्युमा उनको सड्यन्त्र र संलग्नता हुन सक्ने शंकाले सँधै आलोच्य बन्न सक्छन् ।साभार ः सजिलो खवर, लेखक पत्रकार महासंघ झापाका अध्यक्ष हुन् ।