एटिएम ह्याक गरेका चिनियाँको तीस लाख रुपैयाँ साट्ने तीन नेपाली पक्राउ

Breaking News Hot News Mukya Samachar Special News Trending

शनिबार काठमाडौंका एटिएम ह्याकिङ गरी पैसा निकालेका चिनियाँको नेपाली रुपैयाँ डलरमा साट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीका अनुसार ह्याकिङ गरेर फरार तीन जना चिनियाँको पैसा साट्नेहरूलाई सोमबार दिउँसो ठमेलबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा डेक्सो मनी एक्सेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपाललय मनि एक्सेन्जका रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दुवाडी छन्।

प्रहरीले उनीहरूले चिनियाँबाट लिएको २९ लाख ९९ हजार रुपैयाँमा पनि नियन्त्रणमा लिएको छ। चिनियाँहरूले नेपाली पैसा मनी एक्सचेन्जवालालाई दिएर २५ हजार ८ सय ६२ अमेरिकी डलर लिएर गएका थिए।

गैरकानुनी रूपमा मुद्रा सटही गरेको अभियोगमा पक्राउ परेकामाथि छानबिन भइरहेको प्रहरीले जनाएको छ।

यसअघि आइतबार राति प्रहरीले ह्याकिङमा संलग्न३६ वर्षीय सु लुसलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।

‘उपकरण’ प्रयोग गरेर चिनियाँ नागरिकले एटिएमको पैसा एकैपटकमा ताने स्वाट्टै
प्रभु बैंकको दरबारमार्गस्थित एटिएम बुथमा शनिबार अपराह्न चार बजे कोही पस्यो। रकम ह्वारह्वार्ती निकाल्न थाल्यो। विदाको दिन, सामान्य अवस्थाभन्दा बढी नै पैसा झरेपछि केन्द्रीय कार्यालयमा रहेका कर्मचारी छक्क परे।

शनिबार बैंकहरू बन्द रहने भएकाले शुक्रबार नै प्राविधिक टोलीले कम्तिमा आइतबार कार्यालय अवधिसम्म पुग्नेगरी पैसा राख्ने गर्छन्।

उता शनिबार बिहानै ११ बजेतिर क्षणभरमै एटिएम रित्तिएपछि नविल बैंकको प्राविधिक टोलीले पनि सिसिटिभी फुटेज हेर्न थालेको थियो। एक चिनियाँ नागरिकले कमलादीको एटिएमबाट रकम झिक्दै झोलामा हाल्दै गरेको सिसिटिभी फुटेजमा देखिएको थियो।

तिनै नागरिक पुनः तीनधारामा पुगेको भेटिएपछि नबिलका कर्मचारीहरूले प्रहरीलाई खबर गरेका थिए।

नविलका एक उच्च अधिकारीले सेतोपाटीसँग भने, ‘हाम्रोमा प्रभु बैंकको कार्ड घोटेको देखियो, नबिल बैंकका एटिएमबाट ती नागरिकले करिब ७० लाख रुपैयाँ झिकेको पाइएको छ।’

उता प्रभु बैंकका कर्मचारीले पनि एटिएमको ‘सिस्टम’मा केही समस्या पो हो कि परीक्षण गरे तर त्यस्तो केही फेला परेन। केहीबेरमै पैसा रित्तिएपछि कर्मचारीले महानगरीय प्रहरी परिसर काठमाडौंमा फोन गरे।

‘अस्वभाविक तरिकाले पैसा निस्किरहेको छ, एटिएम बुथमै कसैले केही गरेको हुनसक्छ,’ प्रभु बैंकले प्रहरीलाई गुनासो सुनाएको थियो।

परिसर प्रवक्ता डिएसपी होबिन्द्र बोगटी टोली लिएर दरबारमार्गतिर निस्किए। परिसरले महानगरीय प्रहरी वृत्त दरबारमार्ग, कमलपोखरी र सोह्रखुट्टेको टोलीलाई चारैतिर परिचालन गरिसकेको थियो।

बोगटीको टोलीले दरबारमार्गस्थित प्रभुको एटिएम बुथबाट चिनियाँ नागरिक निस्किँदै गर्दा झोलासहित समात्यो। ३२ वर्षीय झु लियाङआङलाई प्रहरीले झोलामा पैसा कोचकाच पारेर निस्किँदा पक्राउ गरेको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार झु समातिएपछि अन्य पाँच जना चिनियाँ नागरिक बसेको ठाउँ पत्ता लाग्यो।

उनको साथबाट २० थान नक्कली भिजा कार्ड फेला परेका थिए। ‘झुलाई नियन्त्रणमा लिएपछि अन्य चिनियाँ नागरिक बसेको स्थान पत्ता लाग्यो,’ बोगटीले भने।

झुको प्रारम्भिक सूचनालाई पछ्याउँदै प्रहरी हात्तिसारस्थित माया मनोहर बुटिक होटलको कोठा जाँच गर्न छिर्‍यो। त्यहाँ अन्य चार जना चिनियाँ नागरिक कोठाबाट बाहिरिने क्रममा थिए।

सोही बेला नियन्त्रणमा लिँदा उनीहरूबाट एक करोड २६ लाख २९ हजार ४५ रुपैयाँ नेपाली रुपैयाँ भेटियो। त्यससँगै ३५ वर्षीय चेन बिनबिन, ३५ वर्षीय क्वियु युङक्विङ, ४० वर्षीय लुओ जिआल्बी र २९ वर्षीय लिन विनमेङ समातिए।

‘गन्नसमेत नभ्याइकन सुटकेस, झोलामा पोको पारेर राखेको, खाँदेको अवस्थामा रकम बरामद भयो,’ महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले आइतबार पत्रकार सम्मेलमा भने, ‘उनीहरू चीन फर्किने चाँजो मिलाउँदै थिए।’

यी पाँच जनाबाहेक तीन जना यसअघि नै भागिसकेको सुवेदीले बताए। उनीहरू चीन फर्किसकेको हुनसक्ने आशंका पनि छ।

परिसरका अनुसार पाँच चिनियाँ नागरिकबाट ९ हजार १०८ अमेरिकी डलर, चिनियाँ युआन ११ सय ९१, युरो २५०, क्याम्बोडिएन मुद्रा पाँच हजार र हङकङ डलर ८० पनि बरामद भएको छ।

भागेकासहितका चिनियाँ नागरिक शुक्रबारमात्रै नेपाल आएको बुझिएको छ। उनीहरू आएलगत्तै शनिबार बिहानदेखि एटिएमबाट पैसा झिक्न सक्रिय भएका थिए।

हालसम्म नबिल, प्रभु र हिमालयन बैंकबाट रकम झिकेको पाइएको छ। यो अझै बढी रहेको प्रहरीले जनाएको छ।

नेपाल बैंकर्स एसोसिएसनले झन्डै तीन करोड रुपैयाँ यसरी निकालिएको प्रारम्भिक निष्कर्ष निकालेको छ। तथापि, बैंकहरूले विवरण दिइनसकेकाले यसमा तलमाथि पनि हुनसक्ने एसोसिएसनले जनायो।

कसरी निकालियो रकम

प्रहरीका अनुसार चिनियाँ नागरिकले सफ्टवेयर ‘ह्याक’ गरेर पैसा निकालेको देखिन्छ किनभने, उनीहरूको साथबाट आधा दर्जन उपकरणहरू फेला परेका छन्। विभिन्न किसिमका यी उपकरण के कस्ता हुन्, क्षमता के हो र कहाँबाट फेला पारिए भन्नेमा प्रहरी र बैंकहरू यकिन हुन सकेका छैनन्।

बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने, ‘मालवेयर भन्ने सिस्टम ह्याक गर्ने भाइरस प्रयोग गरेर भिजा कार्ड अप्रुभ गराइ रकम निकालेको हो भन्न सकिन्छ। तर, यसबारे विधिविज्ञान प्रयोगशालाले नबताइकन निष्कर्षचाहिँ निकाल्न गाह्रो हुन्छ।’ प्रहरीले पनि बरामद भएका भिजा कार्ड र उपकरणबारे आइटी क्षेत्रका विज्ञ र बैंकर्सहरूसँग सोधखोज गरिरहेको छ।

एउटा एटिएम बुथ पच्चीस लाख रुपैयाँसम्म अटाउने क्षमताको हुन्छ। उनीहरूले आधा दर्जनजति एटिएममा सिस्टम ह्याक गरेर पैसा निकालेको पाइएको छ।

प्रहरीका अनुसार यो उपकरणबाट सिस्टम ह्याक गरेपछि एटिएमले अस्वभाविक रूपमा पैसा फालेको देखिन्छ।

‘कुनै व्यक्ति विशेषको पैसा भन्दा पनि सिस्टम ह्याक गरेर भएभरको सबै पैसा निकाल्ने कोसिस गरेको पाइयो,’ एसएसपी सुवेदीले भने, ‘नरित्तिउञ्जेल अनवरत् रुपमा उपकरणको सहायताले पैसा निकालेको देखिन्छ।’

यतिबिघ्न सम्भव गराउने ती उपकरणको क्षमता उच्च छ भन्ने बताउन सकिन्छ। र, नेपाली बैंकका एटिएम बुथहरू असुरक्षित हुन्रु भन्नेमा चाहिँ बैंकर्स र प्रहरीले पनि खासै बोल्न सकेको छैन।

‘यसरी बुथको भएरभरको पैसा रित्याउने किसिमको अपराधमा चाहिँ यो नयाँ प्रविधि अपनाएको देखिन्छ,’ ढुंगानाले भने, ‘हामी त पैसाको सुरक्षाका लागि नयाँ(नयाँ प्रविधि प्रयोगमा ल्याउँछौं। तर, अपराध गर्नेहरू हामीभन्दा अगुवा देखिए।’

ढुंगानाका अनुसार नेपालभित्र र बाहिरबाट पनि यसरी पैसा निकालिएको हुनसक्छ। यो उपकरण प्रयोगको विवरण हेरेर थप भन्न सकिने उनले बताए।

तर, नेपाली बैंककै एटिएम ‘टार्गेट’मा किन परे भन्ने अनुसन्धानकै विषय भएको एसएसपी सुवेदीले बताए।

‘उनीहरू बकाइदा तयारीसाथ आएका देखिन्छन्, पैसा झिकेर भागिहाल्ने योजना बनाएर,’ उनले भने, ‘उनीहरूले पूरै सूचना पाएर मात्र यो काम गर्न सकेका हुन्, यसमा देशीविदेशी समूह सक्रिय भएको हुनसक्छ।’

प्रहरीले चाँडै नियन्त्रणमा लिन सकेकाले क्षति कम भएको छ। ‘प्रहरी ढिलो परिचालन भएको भए उनीहरूले दरबारमार्ग र ठमेल क्षेत्रका एटिएम रित्याइदिने थिए,’ एसएसपी सुवेदीले भने।

पक्राउ परेकाहरूलाई बैंकिङ कसुरको मुद्दामा उच्च अदालत पाटनबाट म्याद लिई अनुसन्धान थालिएको उनले बताए।

ग्राहकको पैसा खाताबाट दायाँ(बायाँ हुँदैनस् बैंकर्स एसोसिएसन

बैंकर्स एसोसिएसनले अहिले जति पनि बैंक खाताहरूबाट रकम झिकिएको वा तत्काल हराएको भए त्यो पैसा बैंक स्वयंले भुक्तानी गरिदिने बताएको छ। एसोसिएसन अध्यक्ष ढुंगानाले पत्रकारसँग कुरा गर्दै आइतबार निक्षेपकर्ताले कुनै पनि किसिमको चिन्ता लिइरहन नपर्ने बताए। ‘निक्षेपकर्ताको रकम सुरक्षित हुन्छ, पैसा हराए त्यो बैंकले दिन्छ। हाम्रा बैंक एक दुई करोड नोक्सान व्यहोर्न सक्ने भएका छन्,’ उनले भने।

उनले बरामद भएको रकम बाहिरिन नपाएकाले पनि क्षति नहुने बताए। रकम बाहिरिइसकेकोबारे बैंकहरूले विवरण उपलब्ध गराउने र सोही बमोजिम निक्षेपकर्ताको रकम थाहा लाग्ने उनले बताए।

Leave a Reply

Your email address will not be published.