इन्डो प्यासिफिकबारे अमेरिकाले जवाफ मागेको छैन : प्रचण्ड

Breaking News Mukya Samachar Special News Trending

इलाम 28 भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अमेरिकाले अघि सारेको इन्डो प्यासिफिक रणनीतिका सम्बन्धमा आफूले दिएको अभिव्यक्ति वास्तविकताभन्दा बाहिरबाट आएको दाबी गरेका छन् । इन्डो प्यासिफिकको सम्बन्धमा अमेरिकाले नेपालसँग कुनै जवाफ नमागेकोसमेत उनले बताए ।

चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा प्रचण्डले इन्डोप्यासिफिकलाई ‘तथाकथित’ भनेको र त्यसमा नेपाल संलग्न नहुने बताएको भन्दै सामाचारहरु सार्वजनिक भएका थिए । यसबारे अमेरिकाले नेपाल सरकारको आधिकारिक धारणा मागेको भनिएको थियो । तर, शनिबार बिहान इलामबाट आयोजित पत्रकार भेटघाटमा प्रचण्डले चीनबाट पनि यसबारे आधिकारिक वक्तव्य नआएको र अमेरिकाले पनि आधिकारिक रुपमा कुनै जवाफ नमागेको बताए ।

‘चीनबाट आधिकारिक परराष्ट्र मन्त्रालयबाट स्टेटमेन्टका रुपमा आएको होइन । कुनै समाचार एजेन्सीको समाचार बनाउने क्रममा आएको हो,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘अर्को कुरा अमेरिकाको राजदूत या स्टेट डिपार्टमेन्टले मागेको पनि होइन । त्यहाँ काम गर्ने एकजना कर्मचारीले बाहिर भनेको मात्रै हो । आधिकारिकरुपमा न चीनले, न अमेरिकाले भनेको स्थिति हो ।’

यो पनि पढ्नुहोसइण्डो प्यासिफिकमा प्रचण्डको भनाइ नै नेकपाको लाइन !

असंलग्न र स्वतन्त्र विदेश नीतिको मान्यताबाट नेपाल विचलित नभएको बताउँदै प्रचण्डले कुनै पनि शक्तिकेन्द्रको सैन्य गठबन्धनमा सहभागी नहुने बताए । प्रचण्डले भने, ‘हाम्रो चीनका बारेमा एक चीन नीति छ । हामी चीनविरुद्ध नेपालको भूमि प्रयोग गर्न दिन्नौं भन्ने पनि हाम्रो प्रष्ट नीति हो । यही कुरा मैले गरेको हो । इण्डो प्यासिफिकका सन्दर्भमा पनि चीनका विरुद्ध हुने कुनै गतिविधि सहृय छैन भनिएको हो ।’

उनले आफ्नो उद्देश्य अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने नभएको बताउँदै अन्तर्राष्ट्रिय सम्बन्धबारे राखेको विषय वास्तविकताभन्दा भिन्न भएर बाहिर आएको जिकीर गरे । ‘म सबै राष्ट्रसँग समान सम्बन्ध भएको देख्न चाहन्छु,’ उनले थपे, ‘कुनै देशको नीतिविरुद्ध र राष्ट्रको अहित हुने कुरा बोले भन्नु निराधार हुन्छ ।’

प्रचण्डले क्युबा, भेनेजुएला आदिका सन्दर्भमा अमेरिकाप्रति नकारात्मक धारणा बनाउन खोजेको भन्ने प्रचार पनि सत्य नभएको बताए । उनले भने, ‘भेनेजुएलाका बारेमा मैले भनिसकेको छु र परराष्ट्रले पनि भेनेजुएलाको बारेमा त्यहीँका जनताले निर्णय गर्ने हो, बाहिरबाट कुनै हस्तक्षेप हुनु हुँदैन भन्ने कुरा भनिसकेको हो ।’

भेनेजुएलामा अमेरिकाले गरेको हस्तक्षेपविरुद्ध प्रचण्डले विज्ञप्ति जारी गरेपछि नेपाली राजनीतिमा तरंग उत्पन्न भएको थियो ।

प्रचण्डले भेनेजुएलामा मात्र नभई क्यूबामा गरिएको नाकाबन्दी पनि जायज नभएको बताए । ‘क्यूबाको पक्षमा त पुरै संसार छ । संयुक्त राष्ट्रसंघबाट नाकाबन्दीविरुद्ध प्रस्ताव पारित छ,’ उनले भने ।

भेनेजुएला, क्युबा र इन्डोप्यासिफकको कुरा गरेर अमेरिकालाई उत्तेजित बनाउन नखोजिएको प्रचण्डले बताए । ‘क्यूबालाई सहयोग र ऐक्यबद्धता जनाउन उनीहरुको टोली नेपाल आएको थियो । चेको छोरी नै आउनु भएको थियो । त्यो कार्यक्रममा मैले सुरक्षा परिषदको निर्णय कार्यान्वयन हुनुपर्यो, हामी त्यो मामिलामा क्युबाको पक्षमा छौं भनेको हो,’ प्रचण्डले भने, ‘तर अमेरिकालाई उत्तेजित पार्ने हाम्रो कुनै आवश्यकता छैन ।’अमेरिकासँग कैयन पक्षमा द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने काम भएको बताउँदै प्रचण्डले अमेरिकाका अधिकारीहरुसँग धेरै पटक नेपालको परराष्ट्र नीतिबारे बोलेको जानकारी पनि दिए ।

Leave a Reply

Your email address will not be published.