सुन्तला महोत्सव

Breaking News Hot News Mukya Samachar Special News Trending पर्यटन

पाँचथर: कतै टार परेको, कतै भिरालो भूगोल । साना साना चिटिक्क पारेर बनाइएका घरहरु । यहीबीचमा बगानमा लटरम्म सुन्तला फलेका छन् । पूरै गाउँलाई नै शोभायमान बनाउने गरी फलेका पहेला सुन्तलाले किसानाको चेहेरामा चमक ल्याएको देखिन्छ । यो दृष्य दक्षिणी मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बाको हो ।

यो ठाउँको विशेष पहिचानको रुपमा सुन्तला रहेको छ । प्रायःजसो यहाँका सबै बस्तीमा सुन्तला लगाइएको छ । यतिबेला सुन्तला फलेर बस्ती हेरिरहु लाग्ने भएको छ । कतै सुन्तला टिप्न, कतै हंगान थाम्ने गरी फलेको फल जोगाउन टेको लगाउने तथा कतै व्यापारी सुन्तलाको बोट हेरिरहेका देखिन्छन् । सुन्तलाका लागि साविक कुरुम्बा गाविसको वडा नं २, ३ र ४ निकै चर्चित छ । हरेक घरमा सुन्तला खेती लगाइएको छ । व्यावसायिक रुपमा लगाइएको सुन्तला खेतीबाट आम्दानी हुन थालेपछि किसानको मुहारमा खुसी छाएको छ । यतिमात्र हैन सुन्तला खेती बढ्दै गएको छ । यो सुन्तलाको पकेट क्षेत्र हो ।

यहाँका अगुवा किसान तेजबहादुर लावतीले गत वर्ष आफ्नो बगानको सुन्तलाको दाम ६ लाख ५० हजार थापेका थिए । अहिले पनि घरै छेउदेखि फैलिएको बगानमा लटरम्म सुन्तला फलेको छ । ‘यो साल बेचेको छैन । आफैं बजारसम्म लैजाउ भनेर गाडी नै किनेको छु । अब गाउँका केही किसानको सुन्तलासमेत तराई झार्छु,’ उनले भने, ‘यहाँ त बगान नै बिग्छ । गाउँगाउँमा सडक पुगेको छ । अब यहाँ सुन्तलाले आम्दानी लिन थाल्यो । यहाँको सुन्तला हेर्ने र कोसेलीका रुपमा किन्न आउनेको संख्या पनि बढिरहेको छ ।’ २०६० देखि व्यावसायिक सुन्तला खेती लगाएका उनको बगानमा ६ सय सुन्तलाका बोट छन् । केही बोटबाट अझै उत्पादन दिन बाँकी छ । तेजबहादुरको जस्तै पहेलो सुन्तलाले कुरुम्बाका किसानको चेहेरामा चमक आएको छ । धान फल्ने खेत र मकै कोदो छाडेर ६० को दशकको प्रारम्भदेखि यहाँका किसानले व्यावसायिक रुपमा सुन्तला खेती लगाएका छन् ।

यतिबेला सुन्तला पाकेर हेरिरहु लाग्ने पहेलपुर भएको छ । सुन्तला बेच्ने चिन्ता किसानलाई पटक्कै छैन । केही साताअघि नै व्यापारीले बगानबगान चहारेका रहेका छन् । अन्यत्र सुन्तला खेती गर्ने जमिन मासिँदै गइरहेका बेला यहाँ भने फैलिरहेको छ । हरेक घरमा लगाइएको सुन्तलाको आम्दानीले किसानका अनुहारमा खुसी देखिन्छ । यस्तै खुसी सुनाउछिन् इन्द्रकुमारी लावती । सुन्तला खेती गरेबापत नै राष्ट्रपति कृषक पुरस्कार प्राप्त गरिसकेकी इन्द्रकुमारी नयाँ बिरुवाबाट पनि फल दिन थाल्दा आम्दानी दोब्बर हुने बताउछिन् । बगानमा पाँच लाख रुपैयाँभन्दा बढीको सुन्तला रहेको उनले बताइन् । सबै बिरुवाले फल दिन थाल्दा १० लाखभन्दा बढी वार्षिक आम्दानी हुने उनले सुनाइन् । सुन्तला खेतीमा मिहेनतका साथ काम गरिरहेको बताउने उनले आम्दानी र सम्मान दुवै पाएको सुनाउँछिन् । २० रोपनीमा सुन्ताला खेती लगाइएको उनले बताइन् । यहाँ गाउँमै बिरुवा उत्पादन हुन्छ ।

यो गाउँमा परम्परादेखि नै सुन्तला फल्ने भए पनि व्यावसायिक रुपमा खेती थालिएको डेढ दशक भयो । विगतमा खाएर तथा कोसेली पठाएर सकिने सुन्तला यतिबेला कमाइको माध्यम बनेको छ । सुरुमा बाहिरबाट बिरुवा ल्याए पनि अहिले गाउँमै बिरुवा उत्पादन गरेर बेच्न थालिएको किसानले सुनाए । यतिबेला व्यापारीले सुन्तला टिप्न थालेका छन् । ठूलो आकारमा फलेको सुन्तला स्वादिलो हुने गरेको किसनको भनाइ छ । पूर्वका विभिन्न बजारमा यहाँको सुन्तला रुचाइएकाले बगान किन्न व्यापारीले प्रतिस्पर्धा नै गर्ने गर्छन् । किसानले निकै मिहेनतले सुन्तला हुर्काएको पाइन्छ । यो ठाउँको आम्दानीको मुख्य माध्यम सुन्तलालाई बनाइएको छ । किसान मिहेनत गरेर लागेका छन् । यही मिहेनतले बोट नथाम्ने गरी सुन्तला फलेको छ । सुन्तला खेतीले किसानलाई आम्दानी दिनुका साथै गाउँको पहिचानसमेत स्थापित गरेको वडाध्यक्ष अविशेक लावती बताउँछन् । गाउँपालिकाबाट पनि किसानलाई सहयोग भइरहेको उनको भनाइ छ । यो ठाउँ सुन्तलाको पकेट क्षेत्रको रुपमा रहेको छ । यहाँ उत्पादन भएको सुन्तला झापाको दमक हुँदै विभिन्न बजारसम्म पुग्छ । सुन्तला फसल विगतभन्दा अलि लेकतिर राम्रो हुन थालेको किसानको अनुभव छ ।

पुराना ठाउँभन्दा पनि माथिल्लो बस्तीमा सुन्तला राम्रो देखिएको इन्द्रकुमारीले जानकारी दिइन । कुरुम्बाको सुन्तलामा भने छुट्टै किसिमको पहिचानसमेत रहेको छ । किसानले नयाँ खेती विस्तार गरेका छन् भने बिरुवा फसल दिने बेला पुग्दै गरेको पनि देखिन्छ । सुन्तला खेतीलाई टिकाइराख्न र थप विस्तार गर्नका लागि गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्ने काम अघि बढाएको मिक्लाजुङ गाउँपालिकाका प्रमुख अमरराज माखीले बताए । यहाँ यतिको सुन्तला फल्छ र यतिको आम्दानी हुन्छ भन्ने आधिकारिक तथ्यांक छैन ।

तर, टोलटोलमा सुन्तला खेती भइरहेको छ । सुन्तला बगानबीचमा तरकारीलगायत खेतीसमेत गरेर किसानले थप आम्दानी लिइरहेका छन् । स्थानीय कुरुम्बा माविका प्रधानाध्यापक डिकबहादुर राई सुन्तलाले गाउँको पहिचान झल्काएको बताउँछन् । ‘किसानलाई राम्रो आम्दानी हासिल भइरहेको छ । यतिमात्र हैन गाउँकै पहिचान दिएको छ । युवा पुस्ताको पनि आकर्षण बढ्दै गएको छ,’ लावतीले सुनाए । यहाँको सुन्तला गुणस्तरीय रहेको स्थानीय किसानको भनाइ छ । फिदिम टुडेबाट

Leave a Reply

Your email address will not be published.