भ्रमण वर्ष २०२० को आज उद्घाटन हुँदै

भ्रमण वर्ष २०२० को आज उद्घाटन  हुँदै

काठमाडौं : सरकारले बुधबार भ्रमण वर्ष २०२० को प्रारम्भ बुधबारदेखि गर्दैछ । अपरान्ह ४ बजे सरकारले राजधानीको दशरथ रंगशालामा भ्रमण वर्षको औपचारिक उद्घाटन गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यक्रम रहेको छ ।

भ्रमण वर्ष २०२० संयोजक एवं वरिष्ठ उद्योगी सुरज वैद्यले तीन घण्टासम्म चल्ने उद्घाटन भब्य हुने बताएका छन् । उनले विदेशी अतिथिहरुलाई राखेर उद्घाटनलाई भब्य बनाइने बताए । वैद्यले भारत र चीनका पर्यटन मन्त्रीहरु आइसकेको जानकारी दिए ।

विभिन्न स्थानबाट र्यालीसहित दशरथ रंगशालामा पुग्ने कार्यक्रम रहेकाले ट्राफिक व्यवस्था अस्तव्यस्त हुनेछ । दिउँसोदेखि नै ट्राफिक समस्या हुनेछ । भीआइपीहरुका लागि टुडिखेलमा पार्किङको व्यवस्था गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सुरक्षा व्यवस्था चुस्त पारिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । प्रहरी मुख्यालयले समेत पनि जनशक्ति परिचालन गरेको प्रहरीले जनाएको छ । पर्यटन मन्त्री योगेश भट्टराईले स्वागत भाषण गर्नेछन् । सांस्कृतिक एवं पारम्परिक नृत्य र कलासहित तीन घण्टे कार्यक्रमलाई आकर्षक बनाइने छ । नेपाली सेनाले विशेष तयारी गरिरहेको छ ।

सातै प्रदेशले यो कार्यक्रमको उद्घाटन गर्दैछन् । मुख्य शहरमा भ्रमण वर्षलाई लक्षित गरी उद्घाटन गर्न लागिएको छ । सबै प्रदेशमा मुख्यमन्त्रीहरुले कार्यक्रमको उद्घाटन गर्नेछन् ।