तेह्रथुम स्थित तमोर नदीको फाक्चुवा दोभानको सेती वगरमा माझीले भेट्टाएको शव ताप्लेजुङवाट ३२ दिन देखि वेपत्ता भएकी फूलवारी चोकपुरकी किशोरी मन्दिरा अधिकारीकै भएको पुष्टि भएको छ ।
मृतक मन्दिराका काका चन्द्र अधिकारीका अनुसार मन्दिराको अनुहार पहिचान गर्न सकिने अवस्थामा नभए पनि उनले हातमा लगाएको चुरा र जिउमा लगाएको रातो टि सर्टका आधारमा मन्दिराको शवको पहिचान भएको हो । मन्दिराको शव पहिचान पछि अहिले शवलाई डुङ्गा वाट तमोर तारेर पोष्टमार्टमको लागि फिदिम अस्पताल तर्फ लाने प्रयास भइरहेको छ । तमोरको वगरमा एक किशोरीको शव फेला परे पछि दुई दिन देखि उक्त स्थानमा तेह्रथुम प्रहरी शवको सुरक्षा दिएर वसेको थियो । इलाका प्रहरी कार्यालय आठराई तेह्रथुमका इन्सपेक्टर शेशकराम थाम्दारका अनुसार माछा मार्ने क्रममा पाँचथरको सिम्लेका धनवहादुर माझीले उक्त शव फेला पारेका थिए । प्रहरी द्वरा गत पुस ९ गते पक्राउ परेका ताप्लेजुङ हाङपाङका रमेश अधिकारीले मन्दिराको हत्या आफुले नै गरेको भनेर स्विकारि सकेका छन् ।

मन्दिराको हत्या गत मंसिर १७ गते ताप्लेजुङको नाङखोल्याङ र फूलवारीको सिमाना भएर वग्ने तमोर नदीको किनारमा रहेको मित्ला खेतमा गरेर उनको शवलाई मित्लाको झोलुङ्गे पुलवाट तमोरमा झारेको भन्दै रमेशले प्रहरी सँग घटनास्थलमै आएर यस अघि नै यसको पुष्टि गरिसकेका थिए । यदपी मन्दिराको शव नभेटिएका कारण उनलाई हाल सम्म बेपत्ताको सुचिमा राखिएको थियो। हत्या आरोपित रमेशलाई मन्दिरा बेपत्ता भएको २३ दिन पछि अर्थात् गत पुस ९ गते हाङपाङ स्थित उनकै घरवाट प्रहरीले पक्राउ गरी हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको छ ।
रमेश र मन्दिरा नाताले दाजुवहिनी पर्छन् । उनीहरु सँग तिहारमा लगाएको भाईटिकाको गहिरो भावनात्मक सम्बन्ध समेत थियो । गत मंसिर १७ गते फूलवारी स्थित आफ्नै घरवाट बेपत्ता भएकी मन्दिरालाई रमेशले घरैवाट अपहरण गरि लगेर बलात्कार पछि मारेर तमोरमा फालेको हुन सक्ने मन्दिराका परिवारको आरोप छ ।