कतारले निःशुल्क मेडिकल सुविधा दियो तर म्यानपावरले १३ करोड असुले

Breaking News Hot News Mukya Samachar Special News Trending

रोजगारीका लागि कतार जान गरिने स्वास्थ्य परीक्षण निशुल्क भएपनि म्यानपावर कम्पनीले युवाबाट प्रि–मेडिकलको नाममा १३ करोड भन्दा बढी असुलेको पाइएको छ ।रोजगारीका लागि नेपाली युवा कतार पठाउँदै आएका म्यानपावर कम्पनीले कतार भिसा सेन्टर काठमाडौमा निशुल्क गर्न सकिने स्वास्थ्य परीक्षणवापत श्रमिकलाई दोहोरो मेडिकल गर्न लगाएर १३ करोडभन्दा बढी अतिरिक्त शुल्क भराउन बाध्य पारेका हुन्।
२०१९ को जुन १८ बाट कतारको गृह मन्त्रालयले बायोमेट सर्भिसेस प्रालिलाई नेपालमा निश्चित आवासीय प्रक्रियाहरूमा काम गर्ने गरी श्रमिकको हकमा निशुल्क मेडिकल र बायोमेट्रिकको सेवा संचालन गर्न अधिकार दिएको भएपनि म्यानपावरलेश्रमिकसँग जनही ४ हजार ५ सय लिएर दोहोर स्वास्थ्य परीक्षण गराउने गरेका छन् । कतार भिसा सेन्टरमा लाइनमा बसेका केही नयाँ र कतारबाट फर्केर पुनः जाने कामदारले भने दोहोरो मेडिकल नगरेको बुधबार कारोबारसँग बताएका छन् । यसरी दोहोरो मेडिकल नगर्नेको संख्या भने २० प्रतिशत पनि छैन ।

कतार भिसा सेन्टर (क्यूभीसी) ले नेपालमा सेवा सुरु गरेपछि मात्र कतार जान ६० हजारको हाराहारीले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएको देखिन्छ । श्रम स्वीकृति लिएकामध्ये आधालाई मात्र प्रि–मेडिकल गर्न लगाएपनि ३० हजार युवालाई जनही ४ हजार ५ सय रुपैयाँ शुल्क थप दिएपनि १३ करोड रुपैयाँ हुन आउछ । कतार भिसा सेन्टरले पनि कतार जाने प्रक्रियामा रहेका औषत ३ सय युवाले दैनिक मेडिकल र बायोमेट्रिक सेवा लिने गरेको जनाएको छ ।
यस सम्बन्धमा वैदेशिक रोजगार व्यवसायी सघका अध्यक्ष विष्णु गैरे र महासचिव सुजित श्रेष्ठलाई सम्पर्क गर्दा उनीहरूसँग भने सम्पर्क हुन सकेन । रोजगारीका लागि कतार जाने कामदारले स्वास्थ्य परीक्षण र बायोमेट्रिक वापत कुनै पनि शुल्क बुझाउनु नपर्ने कतार भिसा सेन्टरले जनाएको छ । कतार सरकारले पूर्ण निशुल्क गरेको सेवामा म्यानपावर कम्पनीको मिलेमतोमा श्रमिकलाई जबरजस्ती मेडिकल गर्न लगाईकरोडौं असुल्ने गरेको पाईएको छ । कतारले भिसा सेन्टर परियोजनाअन्तर्गत पहिलो चरणमा आठ देशभारत, नेपाल , श्रीलंका, पाकिस्तान, बंगलादेश, इन्डोनेसिया, फिलिपिन्स र ट्युनिसियामा लागू गरेर श्रमिकलाई निशुल्क सेवा दिँदै आएको जनाएको छ । कतार जाने विदेशी श्रमिकको स्वास्थ्य परीक्षण गुणस्तरिय नभएको जनाउदै त्यहाँको गृह मन्त्रालयले भिसा सेन्टर मार्पmतअन्तरराष्ट्रिय मापदण्ड अनुकूल हुने गरी श्रमिकको मेडिकल र बायोमेट्रिक सेवादिने जनाएको छ । बायोमेट्रिक दर्तामा श्रमिकको अनुहारको तस्बिर, औला छाप, आँखाको प्रकारको विवरण लिइन्छ भने स्वास्थ्य परीक्षणमा आँखाको दृष्टि क्षमता, केही रक्तपरीक्षण, एक्सरे र डिप्थेरिया र टिटानसको भ्याक्सिन दिइने सेन्टरले जनाएको छ ।
कतार भिसा सेन्टरमा मेडिकल र बायोमेट्रिकका लागि आएका अधिकाक्ष युवाले प्रि मेडिकलवापत जनही ४ हजार ५ सय बुझाएको बताएका छन । “कतारमा रोजगारीमा जाने श्रमिकको सुबिधाको लागि भनेर नेपालमा कतार भिसा सेन्टरको स्थापना भएको भएपछि श्रमिकलाई कतार पुगेर मेडिकल अनफिट भएर फर्कन पर्ने समस्या पर्ने छैन,” एक युवाले कारोबारसँग भने,“तर क्युभिसी सुरु हुनु पुर्व जुन बैदेशिक रोजगारीमा ‘शून्य लागत’ को विषयमा प्रचार गरिएको थियो त्यो भने नभएको पाइएको छ ।”
उनका अनुसार म्यानपावर एजेन्सीहरूले कामदारलाई सोझै क्यूभीसीमा मेडिकल गर्न पठाउने गरेका छैनन् ।त्यसको कारण क्युभिसीमा मेडिकल गर्दाको खर्च कतारको स्पोन्सरले तिर्ने भएपनि मेडिकल फेल भएको खण्डमा म्यानपावरले तिर्नु पर्ने हुन्छ ।मेडिकल फेल भएको पैसा श्रमिकले नै तिर्ने भएपनि म्यानपावरकले पछि पैसा लिन असजिलो हुने भएपछि सुरुमा नै श्रमिकलाई भार थोपर्दै ४ हजार ५ सय रुपैयाँ तिराएर काठमाडौका विभिन्न मेडिकल सेन्टरमा मेडिकल गराउने गरेका छन ।
यही अवस्थालाई देखाउँदै कतिपय म्यानपावर एजेन्सीहरूले प्रतियुवा सुरुमा नै १८ हजार धरौटी राख्न लगाउदै कामदारलाई क्युभिसी पठाउने व्यवस्था मिलाएकोपीडित युवाले बताएका छन् । कानुनअनुसार प्रक्रिया नपुगी (सेवा शुल्क लिनु पर्ने अवस्था भएपनि) श्रमिकसँग पैसा लिन पाइँदैन । यसरी १८ हजार धरौटी राखी मेडिकल पास भएमा त्यसलाई समग्र खर्चमा जोडेर कटाउने र मेडिकल फेल भएमा क्युभिसीमा रोजगारदाताले तिर्नु पर्ने भनी १३७ डलर तिरेको पेपर देखाउने र पैसा फिर्ता नगर्ने गरिएको पीडितले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.