घाम लागे पनि चिसाे बढ्दै, अझै केही दिन यस्तै माैसम रहने

Breaking News Hot News Mukya Samachar Special News Trending

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा पछिल्ला केही दिन यता घाम लागे पनि बढी चिसो महसुस गरिएको छ ।

गएकाे एक हप्तादेखि दिनहुँ जसो घाम लागे पनि बिहान र बेलुका बढी चिसो महसुस गरिएको छ । अहिले किन चिसो बढेको भनि राखिएको जिज्ञासामा मौसमविद् शान्ति कँडेलले कुनै पनि किसिमको मौसमी प्रणाली विकास नभए पनि यस्तो अवस्था अझै केही दिन रहने बताउनु भयो ।

उहाँले चिसो बढे पनि काठमाण्डाै उपत्यकाको तापक्रम शून्य डिग्रीमा नझर्ने र बिस्तारै तापक्रम बढ्दै जाने बताउनु भयो । काठमाण्डाैसहित देशका अन्य भेगमा पनि पछिल्ला दिनमा चिसो महसुस गरिएको छ ।

तराईमा हुस्सु र कुहिरोले बिहान र साँझपख बढी चिसो हुने गरेको छ । अहिले तराई क्षेत्रमा कुहिरो लागेको छ भने देशका पूर्व र मध्यका केही ठाउँमा आंशिक बदली रहेको मौसमविद् कँडेलको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाण्डाैकाे न्यूनतम तापक्रम २ दशमलव ८ र अधिकतम तापक्रम १८ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

महाशाखाले तराईको हुस्सु/शीतलहरसम्बन्धी शुक्रबार बुलेटिन निकालेर सुदूरपश्चिम प्रदेशको तराई भूभागबाहेक बाँकी तराईका भूभागमा हुस्सु र कुहिरो लागेको जनाएको छ । अबको केही दिन सामान्यतया मौसम सफा रहने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.