‘इलाम राष्ट्रिय नाटक महोत्सव–२०७६’ को तयारी तिव्र

‘इलाम राष्ट्रिय नाटक महोत्सव–२०७६’ को तयारी तिव्र

इलाम । आगामी माघ २६ गतेबाट हुने ‘इलाम राष्ट्रिय नाटक महोत्सव–२०७६’ को तयारी तिव्र रुपमा अगाडी बढाइएको छ । ७ वटै प्रदेशको मौलिक लोककथाको खोजी गरी नाटकको माध्यमबाट आन्तरिक एवम बाह्य पर्यटकहरुमा वृद्धि गरी भ्रमण बर्ष २०२० लाई सफल बनाउन आयोजित महोत्वमा सातै प्रदेशका १–१ मौलिक नाटक मञ्चन गरिने महोत्सवमा प्रत्येक दिन नाटककै बारेमा कार्यशालासमेत हुनेछ । सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको आयोजना तथा इलाम नगरपालिका अन्तर्गतको सहित्य, कला, संगीत प्रतिष्ठान र चेतना नाट्य समूहको सहआयोजनामा महोत्सव हुन लागेको हो ।
संस्थानले प्रत्येक प्रदेशबाट प्रतिनिधित्व रहनेगरी महोत्सवमा मञ्चन गरिने नाटक छनौट गरेको छ । त्यसमा आयोजक संस्थाले थप अर्को नाटक पनि मञ्चन गर्ने छ । प्रदेश १ बाट ‘सुम्निमा–पारुहाङ’, २ बाट ‘कनन हरलता’, बागमतीबाट ‘राजकुमार मल्ल युद्ध’, गण्डकीबाट ‘नमबुद्ध’, ५ बाट ‘कुजरी’ कर्णालीबाट ‘छैंटी’ र प्रदेश ७ बाट ‘लोली सञ्जा’ नाटक मञ्चन गरिनेछ । आयोजकको तर्फबाट ‘थान’ नाटक मञ्चन हुने इलाममा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पहिलो दिन माघ २६ गते टुडिखेलबाट ¥याली गरी गौतम बुद्ध सभागृहमा महोत्सवको उद्धघाटन र नाटक प्रस्तुती हुनेछ । फागुन १ गतेसम्म प्रत्येक दिन नाटक कार्यशालासँगै ७ वटै प्रदेशबाट सहभागी भएका नाटकहरु मञ्चन गरिने छ ।
गौतम बुद्ध सभागृहमा हुने महोत्सवमा ४ हजार बढीले अवलोकन गर्ने आयोजकले लक्ष्य राखेको छ । महोत्सवका लागी कुल १६ लाख ८५ हजार रुपैया बजेट विनियोजन गरिएको प्रतिष्ठानको अध्यक्ष टिका घिमिरेले बताइन् महोत्सव सम्पन्न गर्न का लागी विभिन्न उपसमितिहरु बनाइएको छ । दिवाकर भण्डारीको संयोजकत्वमा ११ सदस्यीय प्रचारपसार उपसमिति, प्रविन श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय स्वयमसेवक उपसमिति, शरदा उप्रेतीको संयोजकत्वमा ६ सदस्यीय खाद्य तथा आवास व्यवस्थापन उपसमिति निर्माण गरिएको छ । महोत्सवमा बाहिरबाट आउने पाहुनाहरुको लागी इलामको पर्यटकिय क्षेत्र माईपोखरी, पानीटार, कन्याम, भालुढुङ्गा उत्तरे पोखरी लगायतका स्थानमा समुह भ्रमण गराइने प्रतिष्ठानका सचिव दिवाकर भण्डारीले बताए ।
२०७४ सालमा समेत इलाममा पहिलो पटक नाटक महोत्सव आयोजना गरिएको थियो । नाटक महोत्सवमा आरोहण गुरुकुलले जिउँदो मान्छे, चेतना नाट्य समूहले एउटा यस्तो मान्छे, तरंग संस्कृति परिषद् हेटौंडाले फु–फु–फु, क्षितिज नाट्य समूहले इजलासको फैसला, चुलाचुली रंगमञ्चले खाल्डो, नौलो साहित्यिक बिहानी प्रतिष्ठानले उज्यालो पाइला, परिवर्तन नाट्य समूहले सुकुम्बासी राजा नाटक प्रस्तुत गरेका थिए ।