सोह्र देशमा फैलियो कोरोना भाइरस,दक्षिण एसियामा नेपाल र श्रीलंका जोखिममा

Breaking News Special News Trending समाचार स्वास्थ्य/शिक्षा

काठमाडौं: चीनबाट फैलिएको कोरोना भाइरस कम्तीमा सोह्र देशमा फैलिएको छ । चीनमा कम्तीमा १०६ जनाको मृत्यु भएको छ । चीन बाहेकका देशमा भने कसैको मृत्यु भएको छैन । ४५१५ भन्दा बढी संक्रमित भएका छन् । चीन बाहिर ४७ जनामा संक्रमण भेटिएको दावी गरिएको छ । ३०० भन्दा बढीको स्वास्थ्य नाजुक छ । तर यो संख्या निकै नै बढी रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले दावी गरेका छन् ।

चीनबाट फैलेको भाइरस दक्षिण एसियामा नेपालपछि श्रीलंकामा पनि भेटिएको छ । सोह्र देशमा भएको भाइरस चीन बाहिर ४७ जनामा फेला परेको छ ।

थाइल्याण्डमा ८ जना फेला परेका छन् ।
अमेरिका, अष्ट्रेलिया, सिंगापुर र ताइवानमा ५–५ जना फेला परेका छन् ।
जापान, मलेसिया ४ र दक्षिण कोरियामा ४–४ जना फेला परेका छन् ।
फ्रान्समा ३ जना फेला परेका छन् ।
भियतनाममा २ जना फेला परेका छन् ।
नेपाल, श्रीलंका, क्यानडा, कम्बोडिया, जर्मनीमा १–१ जना संक्रमित फेला पारिएको बीबीसीले लेखेको छ ।
छ । नेपालमा ३० बर्षिय एक विद्यार्थी छुट्टीमा आएको बेला उनलाई संक्रमण देखिएको थियो।

नेपाल दक्षिण एसियामा कोरोना भाईरस भेटिएको पहिलो राष्ट्र भएको छ। जनवरी ९ मा वुहानबाट आएका नेपाली विद्यार्थीमा उक्त संक्रमण देखिए पछि उनी उपचार पछि घर फर्किसकेको नेपाली अधिकारीहरुले जनाएका छन्

परीक्षण नेपालमै
चीनबाट फैलिएको कोरोना भाइरसको परीक्षण नेपालमै थालिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सोमबारदेखि कोरोना भाइरसको नमुना परीक्षण थालिएको हो ।

प्रयोगशालाकी निर्देशक डा रुना झाका अनुसार भाइरसको परीक्षणका लागि आवश्यक पर्ने केमिकल आइतबार आएपछि सोमबारदेखि परीक्षण थालिएको हो ।

कोरोना भाइरसको शङ्का लागेका व्यक्तिको मात्रै परीक्षण हुनेछ । यसको रिपोर्ट आउन कम्तीमा २४ घण्टा लाग्नेछ ।

कस्ता हुन् शंका लागेका व्यक्ति
विशेषगरी चीनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र रसुवागढी नाका हुँदै यात्रुहरु बढी आउँछन् । दुवै क्षेत्रमा निगरानी बढाइएको छ ।

नेपाल आएका एक जनामा कोरोना भाइरस पुष्टि भइसकेको छ । दुई जनामा शङ्का गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

चीनबाट आएका व्यक्तिमा एक सय डिग्रीभन्दा बढी ज्वरो आएको भेटिए त्यस्तो व्यक्तिलाई विशेष निगरानीसहित टेकु अस्पताल पठाउने गरिन्छ ।

यस्तै रसुवागढी नाकामा रहेको चिनियाँ क्वारेन्टाइन कार्यालयले कोरोना सङ्क्रमण भएका पर्यटक आए त्यहीँबाट चीन फर्काइदिने तर नेपालीमा कोरोना भेटिए नेपाली स्वास्थ्यकर्मीको जिम्मा लगाउने सहमति भएको छ ।

के छ चीनको योजना
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका निर्देशक मा सिआओवेले कोरोना भाइरसको सङ्क्रमित बिरामीको उपचारलाई थप प्रभावकारी बनाउन थप एक हजार ६०० स्वास्थ्यकर्मीसहितका १२ समूहलाई प्रभावित क्षेत्रमा पठाईएको बताएका छन् ।

माले भने, “आयोगले विशेषज्ञसहितको थप ९०० स्वास्थ्यकर्मीको सात टोलीलाई यसअघि नै हुबेई पठाइसकेको बताए । सेनाले पनि ४५० अनुभव प्राप्त स्वास्थ्यकर्मीलाई त्यसतर्फ पठाइसकेको छ ।”

थप एक हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको उनले बताए । आयोगका निर्देशक माले भने, “हुबेईको क्षेत्रीय सरकारले कोरोना भाइरसलाई नियन्त्रण गर्न १४ करोड ३० लाख अमेरिकी डलर बजेट विनियोजन गरेको छ भने औषधी, मास्क,पञ्जा, चश्माजस्ता सुरक्षा पोशाकलगायत उपकरणहरू पनि अस्पतालहरूको आवश्यकता अनुसार पठाएको छ ।”

यसैबीच चीनले आगामी १८ दिनभित्रमा कोरोना भाइरसको सङ्मणलाई नियन्त्रणमा ल्याउन सकिने चीनका वरिष्ठ भाइरल रोग विशेषज्ञहरूले बताएका छन् ।

चिनियाँ इन्जिनियरिङ एकेडेमीका सदस्य वेन युमेईले आइतबार भने, भाइरस सङ्क्रमण रोक्न राज्यले चालेका सबै उपायका कारण रोगलाई आगामी २० दिनमा पूर्ण नियन्त्रणमा ल्याउन सकिनेमा हामी विश्वस्त छौँ ।

“मानव शरीर क्रमश जीबाणुसँग प्रतिरोध गर्न सक्ने अवस्थामा पुग्छ जसका कारण कोरोना भाइरस फैलिने क्रम अन्त्य गर्न सकिने छ,” साङ्घाईस्थित प्रमुख ‘मोलिकुलर भाइरोलोजी‘ प्रयोगशालाका प्राध्यापक वेनले बताए । हाम्रा कुराबाट

Leave a Reply

Your email address will not be published.