सहसचिवको जागीर छाडेर जडिबुटी खेती, जहाँ छन्, सामान्य झारपातदेखि किलोकै ५० लाख पर्ने बनस्पति

  • 98
    Shares
सहसचिवको जागीर छाडेर जडिबुटी खेती, जहाँ छन्, सामान्य झारपातदेखि किलोकै ५० लाख पर्ने बनस्पति

किरण लोहनी:

डाक्टर खेमराज भट्टराई नेपाल सरकारका पूर्व सहसचिव हुन् । जैविक विविधिताका विषयमा विद्यावारिधि गरेका उनले २४ वर्ष निजामति सेवामा बिताए ।
वि।सं। २०४८ सालमा बैज्ञानिक अधिकृतको रुपमा सेवा प्रवेश गरेका भट्टराईले जागिरको सबैजसो समय वनस्पति विभाग अन्तर्गतका विभिन्न निकायमा बिताए । नेपालको जैविक विविधता र यसको सम्भावनाबारे गहिरो अध्ययन भएका कारण उनलाई लाग्थ्यो, नीति निर्माण तहमै हुँदा नेपालमा जडिबुटी खेतीको ब्यवसायिकरणका लागि धेरै काम गर्न सकिन्छ । तर सबै कुरा उनले सोचे र चाहे जस्तो हुन सकेन । ‘चाहे अनुसारको काम गर्न म आफ्नो सही चल्ने ठाऊँमा पुग्नुपथ्र्यो, त्यो भनेको वनस्पति विभागको महानिर्देशक हो’, भट्ट राईले भने, ‘तर क्षमता हुँदाहुँदै म भन्दा जुनियरलाई महानिर्देशक बनाइयो ।’
विभागको महानिर्देशक हुने र नेपालको जडिबुटी खेतीलाई नयाँ दिशा हुने वर्षौंदेखिको योजना पूरा नहुने जस्तो लागेपछि उनले जागिरबाट राजिनामा दिए । ‘अलिअलि चित्त पनि दुख्यो, त्यसपछि नेपालमा बस्नै मन लागेन, युनिभर्सिटीतिर पढाउँछु र उतै बस्छु भनेर क्यानडातिर लागें’, उनी भन्छन्, ‘क्यानडामा पनि दुई वर्षभन्दा बढी बस्न सकिनँ, त्यहाँ पनि आत्मसन्तुष्टि र आत्मसम्मान नपाएपछि फेरि नेपाल फर्किएँ ।’ नेपालमा प्राकृतिक रुपमै उम्रने जडिबुटीको थोरै ब्यवसायिकरण गर्न सके मात्रै पनि देशको अर्थतन्त्रले कोल्टे फेर्न सक्छ भन्ने विश्वास छँदै थियो, त्यसलाई ब्यवहारिक रुपमै सिद्ध गर्ने अठोट सहित भट्टराई जडिबुटीको ब्यवसायिक खेती गर्ने टुंगोमा पुगे । र, पोखरा कास्कीकोटमा जन्मेका उनी कर्मचारीलाई जडिबुटीको लतले नै गोरखा ल्याईपु¥यायो ।

‘नेपालमा विश्वभरका सबै देशमा हुने हावापानी पाइन्छ, त्यसमा पनि गोरखामा तराई, पहाड र हिमाली तीनै प्रकारको वातावरण छ’ भट्ट राईले भने, ‘मस्र्याङ्दी किनार माथितिरको भूभाग जडिबुटीका लागि हावापानीका हिसावले उत्तम भएकाले यतै आइयो ।’ साथीहरु मणिध्वज जोशी, रामहरि सुवेदी र भगवती मैनालीसँग मिलेर ब्यवसायिक जडिबुटी खेती गर्नेगरी ‘गोरखा अर्गानिक हर्वल फर्म प्रालि’ जन्माए । काठमाण्डौंमा दर्ता भएको यो कम्पनीले गोरखा नगरपालिका वडा नम्वर १४ देउ रालीको गोर्बुङ गाऊँमा जडिबुटी खेती सुरु गरेको एक वर्षमात्रै भएको छ । ‘नेपाललाई जडिबुटीमा आत्मनिर्भर बनाउने र भारत लगायत देशबाट हुने आयात प्रतिस्थापन गर्ने हाम्रो अभियान हो’ एक सय रोपनी भन्दा बढी क्षेत्रमा फैलिएको फार्मबाट सन्तुष्टि मिलेको भन्दै डाक्टर भट्टराईले भने, ‘यो हाम्रो अभियान हो, हामी मात्रैले त सक्दैनौं, कम्तिमा हाम्रो खेती हेरेर अरुलाई पनि प्रेरणा मिलोस् भन्ने उदेश्य हो ।’
कस्तो छ फार्म ?

गोरखा अर्गानिक प्रालिले गोर्बुङ गाऊँमा डेढ सय रोपनी जग्गामा ९० प्रकारका जडिबुटी खेती गरेको छ । फार्ममा हाम्रो पाखापखेरामा पाइने लाजवती, रुदिलो र भृङ्गीराजदेखि विश्वमै सबैभन्दा बढी मूल्यमा बिक्री हुने अगारउडसम्मका जडिबुटी छन् । ‘विश्वकै महंगो वनस्पति भए पनि अगारउडको पर्याप्त खेती हुन सकेको छैन’ विश्वबजारमा प्रतिकिलो ५० लाख नेपाली रुपैया भन्दा बढी मूल्य पर्ने महंगो वनस्पतिको विशेषता बताउँदै भट्टराई भन्छन्, ‘अगारउडको हाल विश्व बजारमा ३० प्रतिशत मात्रै मागको आपूर्ति भएको छ । एउटा नेपालीले ५ बोट मात्रै यो विरुवा लगाउने हो भने यसैबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।’ नेपाली बजारमा एउटा बेर्नाको ७ देखि ८ सय रुपैया पर्ने भएपनि उनले भने भारतको आसामबाट डेढ शय रुपैयासम्ममा १ हजार विरुवा ल्याएका छन् । ‘एउटा रुख ३० देखि ४० मिटरसम्मको हुन्छ, रोपेको ८ वर्षमा उत्पादन दिन्छ’, अगार उडको उपयोगिता बताउदै उनी भन्छन्, ‘यो विरुवाको बोक्रा धुप बनाउन र भित्रको काठ अत्तर बनाउन प्रयोग हुन्छ, यसको काठबाट निस्कने तेल परफ्युमका लागि निकै उपयोगी मानिन्छ ।’
गोरखा अर्गानिक फार्ममा सुन्दा अनौठा लाग्ने अरु थुप्रै जडिबुटीको पनि खेती गरिएको छ । ६८ प्रकारको एन्टि अक्सिडेन्टयुक्त वनस्पति मोरिङ्गा अर्थात सितलचिनीदेखि अत्यधिक पोषकतत्व पाइने चियासिडका विरुवा हुर्किरहेका छन् । क्यान्सर किलरको रुपमा चिनिने सावरसपदेखि वरिपरिको माटोलाई समेत मलिलो बनाइदिने करन्ज नामका जडिबुटी कम्तिमा ५ वर्षमा हुर्कने छन् । यतिमात्रै होइन, हामीले झारपात भनेर बेवास्ता गरेका जडिबुटीको पनि भट्टराईको फार्मले ब्यवसायिकता पाएको छ । ‘हामी बाटैभरि लज्जावती झार देख्छौं खासै वास्ता पनि गर्दैनौं नि, रक्तस्रावदेखि मुटुसम्बन्धी रोगको औषधी यसैबाट बन्छ’ खेतका कान्लाकान्लामा पाइने भृङ्गीराजबारे भट्टराईले भने, ‘जण्डिस सम्बन्धी औषधी बन्ने यही झारबाट हो ।’ यसबाहेक फार्ममा तुलसी, नीम, अमला, दुधेझार, पुननर्वा, एलोभेरा, सिमली, पारिजात, अश्वगन्धा, दालचिनी, तेजपात लगायतका ८५ प्रकारका जडिबुटी लगाइएको छ । एक वर्षको विचमा फार्ममा सनराइज बैंकको ऋण सहयोगमा चार करोड रुपैया लगानी गरिसकेका भट्टराई सहितका साझेदार अझै लगानी बढाउने तयारीमा छन् ।
देउरालीकै मस्र्याङ्दी किनारमा भने भाडामा एक शय रोपनी जग्गा लिएर त्यहीँको हावापानी सुहाउँदो जडिबुटी लगाउने उनको सोच छ । ‘सबै विरुवा हुर्केर प्रतिफल लिन ५ वर्ष जति लाग्छ’ भट्टराईले ढुक्कका साथ भने, ‘५ वर्षसम्म धैर्य गर्नुपर्छ, बजारको त चिन्तै छैन ।’ एक सय भन्दा बढी आयुर्वेदिक औषधी उत्पादन गर्ने गोरखा आयुर्वेद कम्पनीका पनि भट्टराई साझेदारमध्ये एक हुन् । अहिले सो कम्पनीले अधिकाँश जडिबुटी भारतबाट ल्याउने गरेको छ । उसले खपत गर्नेमध्ये ९० प्रतिशत जडिबुटी आफ्नो फार्मबाट उपलब्ध गराउने भट्टराईको लक्ष्य छ । ‘एकातिर भारतबाट बढी मूल्यमा आयात गर्नुपर्ने वाध्यता पनि हट्यो, मेरो उत्पादनले बजार पनि पायो ।’ उनले भने ।
चुनौती पनि उत्तिकै
गएको मंसीरमा फार्ममा उत्पादित केही जडिबुटी बिक्रीका लागि गोरखा बजारस्थित आयुर्वेद कम्पनीमा लैजाने क्रममा बाटैमा प्रहरीले समात्यो । प्रहरीले पूर्जी माग्यो, तर उनीसंग पूर्जी थिएन । ‘म मात्रै होइन, जिल्लाभरका जडिबुटी उत्पादक किसानको प्रमुख चुनौती यही हो’ भट्टराई भन्छन्, ‘जबसम्म अन्य कृषि उपजसरह जडिबुटीलाई पनि मान्यता दिइन्न, यस्तो समस्या आइरहन्छ ।’ त्यसका लागि वन नियमावलीमा विद्यमान ब्यवस्था संशोधन गरी जडिबुटीलाई पनि कृृषि उपज सरह मान्यता दिनुपर्ने उनको भनाई छ ।
यस्तै देशमा भित्रने अर्बौंको जडिबुटीको माग देशभित्रैको उत्पादनले धान्न सक्ने भएपनि सो अनुसारको योजना अहिलेसम्मका कुनै सरकारसंग नभएको उनले बताए । ‘गत वर्षकै तथ्याङ्क हेर्दा पनि हामीले ११ अर्ब ६५ करोडको जडिबुटी आयात गरेका छौं, तर निर्यात चाहिँ १ अर्ब ३४ करोड मात्रै’ उनी भन्छन्, ‘सरकारले थोरै नीतिगत ब्यवस्था मात्रै गर्ने हो भने हामी आयातलाई शुन्यमै झार्न सक्छौं ।’ जडिबुटी खेतीमा अनुदान उपलब्ध नभएको, बिमा हुन नसकेको विषयमा पनि भट्टराईको चित्त दुखाई छ । ‘अरु त छोडिदिऊँ, जडिबुटीको विऊविजन कहाँ पाइन्छ भन्यो भने देखाउने ठाऊँ पनि छैन’ उनी भन्छन् ‘जडिबुटीको बिषयमा सोधपुछ गर्ने निकाय पनि छैन । जडिबुटीमा प्रयोग हुने अर्गानिक मल, कृषिचुन पनि नेपाल सरकारसंग छैन ।’ भट्टराईको गोरखा अर्गानिक फार्मले पनि अधिकाँश जडिबुटीको विरुवा लखनउ, देहरादुन, कलकत्ता, मेक्सिकोबाट ल्याएको छ । माटो परीक्षण पनि सहज नभएको उनको गुनासो छ । ‘यति गरेर खेती शुरु गरेपनि किसानलाई प्रोत्साहित गर्न अनुदान, मलविऊको ब्यवस्था पनि छैन’ भट्टराईले भने, ‘नक्कली किसानहरु नक्कली फार्म खोलेर अनुदान आइरहेका छन्, तर यो खेतीमा लागेकालाई कसैले वास्ता गरेको छैन ।’ यसबारे गोरखा नगरपालीकादेखि गण्डकी प्रदेश र संघीय सरकारलाई ध्यानाकर्षण गराए पनि चासो नदिएको भट्टराईको दुखेसो छ । उनी भन्छन्, ‘उहाँहरुले गर्नुहोला भनेर कु¥यो भने समय बित्छ, त्यसैले आफैंले शुरु गरियो ।’ उक्त फार्मलाई जडिबुटि खेती गर्न चाहनेहरुको विश्वको नसकेपछि दक्षिण एशियाकै प्रमुख स्रोतकेन्द्रको रुपमा विकास गर्ने पनि भट्टराईको लक्ष्य छ ।दरौंदी अनलाईनबाट