इलामको सन्दकपुर गाउँपालिकाको निति कार्यक्रम तथा बजेट सार्वजनिक

  • 258
    Shares
इलामको सन्दकपुर गाउँपालिकाको निति कार्यक्रम तथा बजेट सार्वजनिक

कम बजेटमा उत्कृष्ठ विकास : जिसस प्रमुख बराल

सन्दकपुर: इलामको सन्दकपुर गाउँपालिकाको आर्थिक बर्ष २०७७÷०७८ को निति कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको छ । चालु आर्थिक बर्षको लागि ३२ करोड ६८ लाख ५७ हजार ३ सय ९० रुपैया बराबरको बजेट गाउँपालिका उपाध्यक्ष शोभा पराजुलीले प्रस्तुत गरिन् । उनले कृषि स्वास्थ्य, पर्यटन, भौतिक पुर्वाधारलाई प्राथमिकतामा राखेर चालु आर्थिक बर्षको लागि योजनाहरु बनाइएको बताइन् । शुसासनको प्रत्याभुती दिलाउँदै इ गभरनेन्सको अवधारणलाई साकार बनाउँदै लगिने उनले बताइन् ।

गाउँपालिका अध्यक्ष उदयबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि जिसस प्रमुख गणेश बरालले तुलनात्मक रुपमा अन्य स्थानीय तहको भन्दा सन्दकपुरमा बजेट कम भएपनि विकासमा अब्बल रहेको बताए । उनले आन्तरिक स्रोतबाट वडा कार्यालय र मुख्य प्रशासनिक भवन बनाउनु नै सन्दकपुरको सवैभन्दा सफल पक्ष रहेको बताए । उनले पर्यटनको प्रचुर संभावना बोकेको स्थानीय तह भएको हिसाबले समृद्धिको लागि सवैभन्दा ठुलो हतियार पर्यटन नै रहेकाले यसबाट सन्दकपुरले समृद्धि हासिल गर्नेमा आफु विश्वस्त रहेको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडा नं २ का वडाध्यक्ष एवम गाउँपालिकाका प्रवक्ता गिरिराज खनालले वडाबाट छनौट भएर आएको योजनालाई प्राथमिकिकरणको आधार गाउँपालिकाले चालु आर्थिक बर्षको लागि समावेश भएको बताए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका उपाध्यक्ष एवम नेपाल टेलिभिजनका पत्रकार सुजन तिमसिनाले सन्दकपुर जलश्रोत र जैविक विविधताले महत्वपुण स्थानीय तह रहेको बताए । उनले जनप्रतिनिधि आएपछि पर्यटनको प्रचुर संभावना बोकेको यस क्षेत्रले विकास निर्माणका क्षेत्रमा समेत उल्लेख्य प्रगती गरेको बताए ।

आदिवासी जनजाती महासंघका रुपेन नेम्वाङले ३ आर्थिक बर्षको चरणको पुरा गर्दा सन्दकपुर गाउँपालिकाले सर्वाङगीण विकासमा आशातित प्रतिफल हासिल गरेको अनुभुत भएको बताए । डम्बर सिंह सुनुवारले भोगचलन गरेको भुमिलाई गाउँपालिकाको आर्कषणको केन्द्र बनाउन जनजाती महासंघले डिपिआरको प्रक्रिया अघि बढाएको उनले बताए गाउँपालिकाको विकासे योजनाहरु प्रजातान्त्रिक एवम सुशासनको ढाँचामा अघि बढने विश्वास रहेको उनले बताए ।

शिक्षकहरुको प्रतिनिधित्व गरेर बोल्दै सरस्वती माविका दिवाकर रिजालले आगामी बर्षमा सवै विद्यालयलहरुको ऐतिहासिकता झल्कने बिषय बस्तु समेट्न गरी पुस्तक निकाल्न गाउँपालिकाले पहल गर्नुपर्ने बताए । उनले विद्यालयहरुको अभिलेख र सम्पुर्ण डाटाहरु समावेश भएका पुस्तक भए सबैलाई जानकारीमुलक हुने उनले बताए । वडा नं ४ का वडाअध्यक्ष बर्तमान राईले सवै जनप्रतिनिधिहरुको एकताले जनअपेक्षाहरुलाई केही हदसम्म सम्वोधन गर्न सफल भएको बताए । उनले जनताहरुको चाहना र उनीहरुबाट छनौट गरिएको योजनाहरु नै गाउँपालिकाले विगतका बर्षहरुबाट प्राथमिकतामा राखेर छनौट गरिरहेको बताए ।

नेपाली कांग्रेसका नेता देवेन्द्र सुवेदीले गाउँपालिकाले आयोजना गर्ने सभा समारोहमा गरिदै आएको फुजुल खर्च कटौती गर्दै अघि बढ्नुपर्ने बताए । जनताको समस्यामा समाधानका निम्ति हातमा हात काधमा काध मिलाउन नेपाली कांग्रेस सधै तयार रहेको उनले बताए । उनले लोकतान्त्रिक पार्टीको कार्यकता भएको हिसाबले चुनावमा जित हार स्वभाविक भएको बताउँदै समयमा आवधिक निर्वाचन कांग्रेसको मान्यता रहेको धारणा राखे । जनताबाट छानेर आएको भनिएको योजनाहरु निति तथा कार्यक्रममा समावेश भएपनि योजना संचालन भएको नपाइएको सुवेदीले गुनासो राखे ।

मन्तव्य राख्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा सन्दकपुर गाउँपालिका अध्यक्ष प्रकाश पराजुलीले कोरोनाको सन्र्दभमा सन्दकपुर गाउँपालिकाले सफलता हात पार्न सफल भएको बताए । उनले सिमित श्रोत र जोखिमका बिचमा पनि सन्दकपुरमा कोरोनाको संक्रमणको जोखिमलाई न्युन बनाउन भुमिका खेल्ने स्वास्थ्यकर्मीको भुमिका सराहनिय रहेको बताए । कृषि विकास, आर्थिक विकास, सामाजिक विकास र भौतिक विकासलाई सिमित स्रोत र साधनका बिच जनअपेक्षा अनुसार अघि बढाउने कार्य उल्लेखनिय भएको बताए । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत महेश राईले गाउँपालिकाले तर्जुमा गरेको योजना निति नियम र ऐनको परिधि भित्र रहेर कार्यान्वयन गर्नु कर्मचारीको दायित्व रहेको बताए ।

संघियताको सवैभन्दा राम्रो पक्ष जनताले सेवा सुविधा घर दैलोमा पाउनु नै अब्बल पक्ष रहेको बताए । संविधानले स्थानीय सरकारको परिकल्पना गर्दा प्रतिपक्षीको परिकल्पना नगरेको कारण सवै मिलेर संघियता र विकासका काममा सहयोग गर्नुपर्ने राईले बताए ।

देशकै कम बजेट पाएपनि विकासमा अब्बल : गाउँपालिका अध्यक्ष राई

कार्यक्रम समापन गर्दै गाउँपालिका अध्यक्ष उदयबहादुर राईले जनप्रतिनिधि निर्वाचित भएको ३ बर्षको अवधिमा पाएको महत्वपुर्ण सुझावलाई मनन गर्दै अघि बढ्ने बताए । ३ बर्षको अवधिमा भए गरेका गल्तीहरु सुधार्दै चौथो बर्षमा स्वर्णिम पाइला चाल्दै जनअपेक्षाको कदर गर्ने बताए । निर्वाचन ताका गरेको बाचाहरुलाई पुरा गर्ने पार्टी नहेरी सम्पुर्ण गाउँपालिकाबासीहरुको हितमा काम गरिरहेको उदघोष गरे । देशको सवैभन्दा कम बजेट पाएको स्थानीय तह भएपनि आन्तरिक बजेटबाट विकासका कामहरुमा देशकै अब्बल भएको उनले बताए ।कार्यक्रमको संचालन शाखा अधिकृत धननारायण श्रेष्ठले गरेका थिए । नेकपाका कार्यलय सदस्य तथा नेपाल पत्रकार महासंघ इलामका पूर्व अध्यक्ष उमेश गुरुङ्गको पनि उपस्थिति रहेको थियो ।