इलामको माईखोलामा प्रिस्ट्रेस पुलको शिलान्यास

  • 99
    Shares
इलामको माईखोलामा प्रिस्ट्रेस पुलको शिलान्यास

रोशन काफ्ले, नयाँबजार : इलामको माईखोलामा प्रदेशसभाको २ निर्वाचन क्षेत्र जोड्ने पुलको शिलान्यास गरिएको छ । प्रदेश सांसद खिनु लङ्वा लिम्बुको बजेटमा प्रदेशसभा इलाम क्षेत्र नं १ को ९१० र इलाम क्षेत्र नं २ को ९१० जोड्ने रुलुपको माईखोलामा प्रिस्ट्रेस पुलको शिलान्यास गरिएको हो । इलाम नगरपालिका–२ सुम्बेक र माईजोगमाई–६ प्याङको संगम स्थलमा रहेको माईखोला पुलको आज प्रदेश सांसद लड्वा र माईजोगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राईले शिलान्यास गरे ।

पुर्वाधार विकास कार्यालय भद्रपुर झापा मार्फत इलाममा पहिलो पटक प्रिस्ट्रेस पुल निर्माण थालिएको हो । आगामी २०७९ साल असार २० गते सम्पन्न हुने ४० मिटर लामो पुल दिवारनायागरारशंकर त्रिशक्ति जेभी इलामले २०७७ असार २६ गते सम्झौता गरी निर्माणको प्रक्रिया अघि बढाएको थियो । २।४ मिटर फुटपाथ सहितको पुल ८।४ मिटर चौडा हुने पुर्वाधार विकास कार्यालयका प्राविधिक उमेश योन्जनले बताए । पुलको कुल लागत ५ करोड ६१ लाख ५ हजार ८ सय ५३ रुपैया रहेको छ ।

शिलान्यस कार्यक्रममा बोल्दै प्रदेश सांसद लङ्वाले बर्खाको समयमा उपचारको अभाव र खोलामा बगेर मर्ने क्रम चाडै अन्त्य हुने बताइन् । उनले आफ्नो बजेटबाट एउटा महत्वको योजना छान्नुपर्नेमा आफुले रुलुपमा पुल निर्माणलाई प्राथमिकतामा राखेर प्रदेशसभाबाट अघि बढाएको बताइन् । सांसद लङ्वाले १ बर्षभन्दा लामो समय अध्ययन र डिजाइनबाट सुरु गरिएको पुल जिल्लाकै नमुना हुनेमा आफु विश्वस्त रहेको बताइन् । उनले कोरोना कहरका कारण मन्त्रालयबाट ५० प्रतिशत बजेट कटौती गर्ने परिपत्रका कारण विकासका आयोजनाको कामहरु प्रभावित भएको बताउँदै चाडै हिउँदे अधिवेशनबाट खुल्ला गर्नका लागि पहल गरिने बताइन् ।

कार्यक्रममा बोल्दै विशेष अतिथि माईजोगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राईले लामो समय देखि प्रतिक्षा गरेको पुल निर्माणको सपना साकार भएको बताए । उनले बर्षको करिब ६ महिना बाढीका कारण माईजोगमाईको क्षेत्रका कृषि उत्पादनले बजार पाउँनै समस्या रहेकाले पुल निर्माणले कृषि क्षेत्रबाट राहत महसुस गराउने बताए । उनले सदरमुकाम पुग्नका लागि प्याङ क्षेत्रका बासिन्दालाई सहज हुने बताए ।

वर्तमान राजनितिक अवस्थाको बारेमा बोल्दै राईले नेपालको संविधान विद्यार्थीले बोकेको खाता जस्तो नभएकाले यसलाई कोलेप्स गर्ने हो भने जनताको अधिकार समेत संकुचित हुने बताए । उनले ७० बर्ष लामो त्यागबाट बनेको संविधान कुनै एउटा व्यक्तिको आवेगमा आएर संकुचित हुन नदिन प्रतिगमनका विरुद्ध आवाज उठाउनुपर्ने बताए । उनले मुलुकमा शान्ति र स्थायीत्व भए विकास छिटो र पारदर्शी हुने बताए ।

वडा नं ६ का अध्यक्ष भवानी लिङ्दमले बर्सेनी खोलामा मान्छे बग्नुपर्ने अवस्थाबाट राहत मिल्ने विश्वास रहेको बताए । उनले बिगत ३ दशक भन्दा लामो समय देखि पुलको माग गरेपनि प्राप्त हुन नसक्दा प्याङ क्षेत्रका बासिन्दाले सास्ती भोग्नुपरेको बताउँदै अब भने यस क्षेत्रका बासिन्दाले बर्षभरी कृषि उपज इलाम बजारसम्म सहज रुपमा विक्री गर्न पाउने बताए । पुल नहुँदा सुत्केरीसेवा र विरामीलाई अस्पताल लग्न समस्या रहेकाले केही समय भित्रमा समाधान हुने बताए ।

इलाम नगरपालिका–२ का वडाध्यक्ष नारद लम्सालले २ स्थानीय तहको बर्खाको समयमा हुने सम्बन्धविच्छेद पुल निर्माणपछि अन्त्य हुने बताए । उनले जिल्लाकै नमुना पुल बनेपछि दुवै स्थानीय तहको विकास निर्माणले मुर्तरुपमा लिने बताए ।

कार्यक्रममा बोल्दै पुल निर्माण कम्पनीका प्रतिनिधि एवम निर्माण व्यवसायी संघ इलामका अध्यक्ष सुवास चिपालुले बजेट व्यवस्थापन समयमा हुन नसक्दा विकासका आयोजनाको काम प्रभावित हुने बताए । उनले प्रदेश सांदस लङ्वा सामु समयमा बजेट निकासा र व्यवस्थापन गरिदिए तोकिएको समयमा पुलको सम्पुर्ण काम सम्पन्न हुने बताए ।

कार्यक्रम समापन गर्दै पूर्वाधार विकास कार्यालयका डिभिजन इन्जिनियर रमेश कुमार श्रेष्ठले जिल्लामै आफ्नो कार्यालयबाट पहिलो नमुना पुल निर्माण भएको बताए । उनले अन्य पुल निर्माणमा जस्तो प्रिस्ट्रेस पुलमा रडको प्रयोग कम हुने भएकाले कम लागतमा धेरै काम गर्न सकिने बताए । उनले पुलमा फलामे लठ्ठा समेत प्रयोग हुने भएकाले पुल मजबुत बन्ने बताए । उनले पुल निर्माणको गुणस्तरमा कुनै पनि सम्झौता नहुने बताए ।