इलामको सूर्योदय नगरपालिकामा ६६ करोडको खानेपानी योजना

इलामको सूर्योदय नगरपालिकामा ६६ करोडको खानेपानी योजना

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा ६६ करोडको खानेपानी योजना संचालन हुने भएको छ ।पर्यटकीय नगरी सूर्योदयको कन्याम, लक्ष्मीपूर लगायत १४ वटै वडामा दिगो खानेपानी समाधानका लागि आयोजना संचालनका लागि टेन्डर आहवान भएको हो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहतको इलाम कार्यालयबाट संचालन हुने कन्याम, पञ्चकन्या खानेपानी योजनाबाट सूर्योदयको मात्र नभई इलाम नगरपालिका र रोङ गाउँपालिका बासी समेत लाभान्वित हुनेछन् ।
योजनाको प्रक्रिया अघि बढेपछि भविष्यमा नगरमा खानेपानीमा आउने सक्ने समस्या समाधानको निम्ति ऐतिहासिक कार्य भएको नगर प्रमुख रणबहादुर राईले बताउनु भयो । ३ बर्षमा उक्त योजना सम्पन्न हुनेछ । आयोजनको लागि नेपाल सरकारको ९० प्रतिशत र स्थानीयको १० प्रतिशत जनसहभागिता रहनेछ ।
जनसहभागिताको १० प्रतिशत भित्रमा बुझाउनु पर्ने अग्रिम १ प्रतिशत शुल्क अर्थात ६६ लाख रुपैयाँ खानेपानी आयोजनाको लागि जम्मा गरिसकेको राईले जानकारी दिनु भयो । बाँकी ९ प्रतिशत संरचना निर्माणका लागि जग्गा व्यवस्थापन, धाराजडान, पाइपलाइन विस्तारका लागि जनश्रमदान रहने छ ।
थोरै बजेटबाट खानेपानी समस्या समाधान नहुने भएपछि सूर्योदय नगरपालिकाले नगरसभाबाट सुख्खा क्षेत्र घोषणा गरी केन्द्रिय सरकारसंग ठूलो परिमाणमा बजेट माग गरेको र जस अनुरुप बजेट बिनियोजना गरिएको छ । एक दशक भन्दा अघि प्रारम्भ भएको यो आयोजना प्रत्येक बर्ष ५० लाखदेखि १ करोड सम्म छुटिने बजेट भएकाले प्रतिफल लिन समस्या देखिदै आएको राईले जानकारी दिनु भयो ।
नगर प्रमुख राईले टेन्डर आहवानपछि खानेपानीको समस्या हल हुनेमा विश्वस्त रहेको बताउनु भयो । उहाले तीन बर्षको निरन्तर प्रयासको प्रतिफल प्राप्त भएकाले स्थानीयलाई पानीको समस्याबाट ढुक्क हुन आग्रह गर्नु भयो ।