इलामको पुरानो गोर्खे बजार विकासको तिव्र दौडानमा

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस

विकासको पर्खाईमा रहेको इलामको ऐतिहासिक गोर्खे बजार विकसित बन्दै गएको छ । कयौँ सम्भावना भएर पनि ओझेलिएको गोर्खे स्थानिय सरकार बनेको ३ बर्षयता भने विकासको तिव्र दौडानमा पुगेको हो । इलामको पर्यटकिय नगरी सूर्योदय नगरपालिकाको १ नम्बर वडामा अवस्थित यस क्षेत्रमा सडक,विद्युत,खानेपानि,शिक्षा जस्ता विकासका पुर्वाधारहरु क्रमश विकसित बन्दै गएका हुन् ।

सडक:


धार्मिक,साँस्कृतिक, ऐतिहासिक तथा पर्यटकिय महत्व बोकेको यसठाउँमा दशकौँ देखिको ट्डकिलो समस्या नै सडक थियो । गोर्खे बजार भित्रको ५ सय २५ मिटर कालोपत्रे यसै बर्ष सम्पन्न भएको छ । ठेक्का मार्फत भएको उक्त कालोपत्रे सडक नगरपालिका अन्तरगतको कार्यक्रम हो । साथै ऋषिमोड–मानेभञ्ज्याङ बाह्रमासे सडकको काम गुणस्तरिय भैरहेको वडाध्यक्ष राजकुमार शेरेङ्गले बताउनुभएको छ । प्रदेश सरकारको झण्डै ५४ करोड लागतमा बन्न लागेको बरबोटे नयाँयाबजार सडकको एउटा शाखा बाटो श्रषिमोड ,गोर्खे, मानेभन्जाड सडक हो। नगरले श्रषिमोडदेखि कालोपत्रे गरी मानेभन्जाड पु¥याउने गरी आफ्नो कार्यलाई अघाडि बडाई सकेको छ । नगरले बजार क्षेत्रबाट कालोपत्रे गर्ने काम थालेको नगर प्रमुख रण बहादुर राईले जानकारी दिनु भयो । नगर प्रमुख राईले भन्नु भयो गोर्खे बजार ऐतिहासिक बजार भएर मात्रै होइन एक नम्बर बडाको महत्वपूर्ण बजार भएको हुनाले प्रत्येक हप्ता निकै ठूलो हाटबजार पनि लाग्ने भएकाले प्राथमिक्तामा राखेका हौ ।’
उक्त हाटबजारमा यस अघि धूलो र कच्ची बाटोका कारण बजारमा आवातजावत गर्न निकै कठिन हुदै आएको थियो । धेरै जनसंख्या लाभान्वित हुने गरी कालोपत्रेलाई बजारबाट शुरू गरेको राईले जानकारी दिनु भयो । यता सूर्योदय नगरपालिका वडा नम्बर ९, ३ र १ को बरबोटे–पान्दाम–जील–गोर्खे सडकको १ किलो मिटर कालो पत्रे सम्पन्न गरिएको छ । वडा नम्बर ९ को मानेडाँडा हुँदै वडा नम्बर ३ भएर वडा नम्बर १ जोडने लक्ष्यका साथ आर्थिक बर्ष २०७६÷७७ मा १ करोड रुपैयाँको हाराहारीमा १ किलोमिटर सडक कालोपत्रे गर्ने कामका लागि सोईना कन्ट्रक्सन संग ठेक्का सम्झौता भएको थियो । साढे ५ मिटर चौडाई भएको उक्त सडकको कालोपत्रे गर्ने कार्य सम्पन्न भएपछि गत एकसाता अघि सडक उद्घाटन गर्दै नगर प्रमुख राईले भन्नुभयो,हामी एक किलोमिटर सडक पक्की भयो भनेर बस्दैनौ, अन्य योजनामा थप कालोपत्रेका लागि निरन्तर पहल गर्छौ ।’उक्त सडक कालो पत्रे भएपछि कृषिजन्य बस्तुको ओसारपसारमा सहजता आएको नगर प्रमुख राईले बताउनुभएको छ। सडक निर्माणले किसानको ओसारपसारमा लाग्ने लागत समेत घटाउने बताउनुभयो।

स्वास्थ्य:

गोर्खेबासीको अर्को मुख्य समस्या स्वास्थ्य थियो । अब्यवस्थित सडक र भरपर्दो उपचार केन्द्रको अभावमा यहाँका मानिसहरु समयमा उपचार पाउन सक्दैनथिए । स्थानिय सरकार गठन भएयता भने स्वास्थ्य क्षेत्रमा समेत सुधार भएको छ । वडा कार्यालय, सूर्योदय नगरपालिका,प्रदेश सरकार लगायत विभिन्न सामाजिक संघसंस्थाको सहयोगमा ब्यवस्थित स्वास्थ्य चौकीको निर्माण भएको हो । आ ब २०७४ ७५ मा वडाले छुट्याएको ५ लाख बजेटबाट आरम्भ भएको अस्पताल निर्माणको काममा आ ब २०७५७६ नगरपालिकाले ५ लाख सहयोग गरेको थियो । प्रदेश १ कि सांसद खिनु लवा लिम्बुको पहलमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत ९ लाख बराबरको बर्थि र ल्यावको सामान प्राप्त भएको वडा नं १ का वडासदस्य चेत कुमार पाण्डे अमृतले जानकारी दिनुभएको छ । त्यसैगरि वानहात नामक सामाजीक संस्थाको ५० हजार र नगरको थप ५० हजार बराबरको बजेटबाट वर्थि सेन्टरमा आवश्यक सामान खरिद गरिएको छ भने वडाको ५० हजार बजेटले ररोगनको काम सकिएको पाण्डेले जानकारी दिनुभएको छ । २० लाख बजेटबाट सम्पन्न अस्पतालले यतिबेला बर्थि , डेलिभरि,ल्याव र ओपिडि सेवा प्रदान गरिरहेको छ । अहेब सुवास कार्की सहित १ ल्याव एसिस्टेन,२ नर्स,१ एच ए र १ सहायक कर्मचारी गरि ६ जनाले सेवा प्रवाह गरिरहेका छन् ।
सूर्योदय नगरपालिकाले सडक र स्वास्थ्यलाई प्राथमिकतामा राखेपछि गोर्खेको निरासिएको मुहारमा चमक देखिएको हो ।

ऐतिहासिक महत्व:

जिल्लाकै सबैभन्दा पुरानो तर प्रमुख व्यापारिक केन्द्रको रूपमा चिनिएको गोर्खे बजार केही बर्ष अघिसम्म सुनसान थियो । बजारको चहलपहल न्यून भएकाले यहाँबाट विस्थापित भइसकेका अधिकांश व्यापारी पुन नयाँ जाँगर लिएर आउन थालेका छन् ।

राणाकाल अघिदेखि नै अस्तित्वमा रहेको यो बजार जिल्लाभर मात्र होइन, बाहिरी जिल्लाका बासिन्दाका लागि पनि जडीबुटीलगायत नगदेबाली बिक्री गर्ने र नून चामल किन्ने केन्द्र थियो । तीन दशक अघिसम्म गोर्खे बजार प्रमुख व्यापारिक केन्द्रको रूपमा रहेको थियो ।

ऐतिहासिक र पर्यटकीय महत्वको यो बजारलाई पुनर्जीवन दिनुपर्ने स्थानीयवासीको माग पछि सूर्योदय नगरपालिकाले यस ठाउँलाई विशेष प्राथमिकतामा राखेको छ । लामो समय सुस्ताएको हटियामा केहि बर्षयता भने विभिन्न कार्यक्रम राख्दै रौनक बढाउन स्थानीयवासी लागिपरेका छन् । ‘हटिया शुरु भएपछि केही न केही चहलपहल पनि बढेको छ,’ स्थानीयले भने, “जुन हिसाबले बजार खस्कँदै गएको थियो । अहिले भने केही सुधार आएको छ ।” पछिल्लो सयम त्यहाँबाट विस्थापित भएका ठूला व्यापारी पनि यहाँ आउन थालेका छन् ।

सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारबाट करीब ११ किलोमिटर उत्तरमा रहेको यो बजार सुनसान बन्नुमा प्रमुख कारण सडक सञ्जाल नै थियो । नगरपालिकाको बाह्र्मासे सडक र कालोपत्रे योजना सफल भएपछि बजारको चहलपहल शुरु भएको मात्र छैन । स्थानियस्तरमा उत्पादित कृषिजन्य सामाग्री अन्तराष्ट्रिय बजारमा निर्यात गर्ने सहज बाटो तयार भएको छ ।

मेची राजमार्ग खुलेसँगै दार्जिलिङसँग सिधा सम्पर्क कायम गर्न अन्य रुट खुलेपछि गोर्खे बजारलाई ठूलो असर परेको थियो । सन्दकपुर पुग्ने पर्यटकीय सडक र फिक्कल–मानेभञ्ज्याङ सडक व्यवस्थित हुने भएपछि बजारले कोल्टे फेर्न शुरु गरेको स्थानीयवासी बताउँछन् । पहिले पहिले इलामलगायत पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुमलगायत जिल्लासम्म यही बजारबाट दैनिक उपभोग्य सामग्री जाने गरेको थियो । यहाँ २०१८ सालमा नै भारतको दार्जिलिङबाट मोटर पुगेको थियो । गोर्खे बजार राणा शासनकै बेला पनि चल्तीमा रहेको स्थानीयवासी बताउँछन् । पृथ्वीनारायण शाहले सिक्किम आक्रमण गर्ने क्रममा गोर्खा फौज बास बसेकाले यस बजारको नामाकरण नै गोर्खे रहन गएको यहाँका जानकारहरु बताउँछन् ।

पर्यटकीय सम्भावना:


गोर्खेको मनोरम प्राकृतिक संम्पदा, नदीनाला, पुरानो विद्युत घर, मठमन्दिर , स्थानीय खोलाको माछा र त्यहाका स्थानीय परिकारले पर्यटकलाई समेत लोभ्याउने गरेको छ । गोर्खेको थुम्के डाँडा पर्यटकीय क्षेत्र हो । उक्त क्षेत्रबाट सूर्योदय, सूर्यास्तको दृश्यावलोकन गर्न पर्यटक जाने गरेका छन् । थुम्के डाँडामा दुर्लभ रेडपाण्डा समेत पाईन्छ । उक्त क्षेत्रमा बौद्धमार्गीहरुको धार्मीक स्थल चित्रे गुम्बा समेत रहेको छ । उक्त क्षेत्रमा जापानीज गुरु कर्याताले ध्यान गरेको एतिहासीक स्थलहरु रहेका छन । १८९० सालमा मारवाणी समुदायको प्रवेश सैँगै गोर्खे बजार लाग्न थालेको बताईन्छ । पूर्वका इलाम, पाँचथर ताप्लेजुङ तेह्थुम , भोजपुर, धनकुटा लगायतका जिल्ला बासीन्दाले समेत किनमेल र भारत प्रवेश गर्ने नाकाको रुपमा गोर्खे बजारलाई परम्परा देखि प्रयोग गर्दे आएको सूर्योदय नगरपालिकाका नगर प्रमुख राईका स्वकीय सचिव तथा स्थानीयबासी दिपेश राईले जानकारी दिनु भयो ।

गोर्खेको अर्को आवश्यकता:

विगतमा यहाँ कृषि विकास बैंक, पशुसेवा कार्यालय, भन्सार, प्रहरी चौकीलगायतका सरकारी कार्यालय थिए । तर अहिले प्रहरी कार्यालय मात्र स्थापना भएको छ । आलु, अलैँची र जडीबुटीका बिक्री र खाद्यान्न, नून, मट्टितेललगायत सामग्री खरीदका लागि यो बजारमा टाढाबाट ग्राहक आउने गरेका थिए । गोर्खेमा रहेको जिल्लाकै पहिलो लघु साना जलविद्युत् आयोजना अहिले बन्द छ । चौसठी किलोवाट क्षमताको सो लघु जलविद्युत् आयोजना पशुपतिनगर र गोर्खे बजारलाई लक्षित गरेर सञ्चालन गरिएको थियो । यो विद्युत्लाई मर्मत सम्भार गरेर सञ्चालनमा ल्याउन सके पशुपतिनगर र गोर्खेबासीलाई विद्युत् सुविधा पुग्ने स्थानीयवासीको माग रहेको छ ।
इलाम खबर डटकममा मनोज अधिकारीले लेख्नु भएको समाचार साभार

Leave a Reply

Your email address will not be published.