इलामको रोङ गाउँपालिका मौरी पालनमा ब्यवसायीक बन्दै

  • 280
    Shares
इलामको रोङ गाउँपालिका मौरी पालनमा ब्यवसायीक बन्दै

प्रेम अधिकारी,इलाम:


इलामको रोङ ४ हडियाका बलराम तामाङ बिहानै देखि साझै सम्म मौरी बिकास केन्द्रमा मौरी संगै दिन बिताउनु हुन्छ । बलरामको दिन मौरीको हेरचाह र स्याहार सुसारमै बित्ने गर्छ । उहाको दैनिकी लामो समय देखि मौरी संगै बित्ने गरेको छ । उहा भन्नु हुन्छ ‘घर परिवार भन्दा पनि मौरीकै चिन्ता लाग्न थालेको छ ।’
इलामको रोङ गाउँपालिकाले ४ नम्बर वडाको हडियामा ४ बर्ष अघि गाउँपालिकाको पहिलो कार्यक्रमका रुपमा मौरी अनुसन्धान केन्द्र स्थापना गरेको थियो । डेढ रोपनी क्षेत्रफल जमिनमा गाउँपालिकाले तारबेरा गरी आधुनिक घार सहित २५ घार मौरी लगाएर केन्द्रको स्थापना गरेको थियो । केन्द्र अहिले देशका बिभिन्न पालिकाबाट अध्ययन , अवलोकनका लागि आउने केन्द्रका रुपमा बिकास भएको छ ।
मौरी अनुसन्धान केन्द्रमा एउटा कार्यालय भवन, सौचालय , गोलघर , पार्क निर्माण गरिएको छ भने उक्त जमिनमा मौरीको महका लागि आवश्यक पर्ने स्वस्थानी कलकी, बोटलकल , घुर्बीस, पाउलेनीया , आँप जस्ता बोटबिरुवा लगाईएको छ । मेची राजमार्ग नजिकै रहेको अनुसन्धान केन्द्रमा हाल सम्ममा दर्जनौ पालिकाका जनप्रतिनिधि आएर अध्ययन गरीसकेको केन्द्रका कर्मचारी बलराम तामाङ बताउनु हुन्छ ।
गाउँपालिकाले अनुसन्धान केन्द्रबाट मौरी , मह उत्पादन गरेर बेच्ने भन्दा पनि अध्ययन अवलोकन स्थल मात्र बनाउने लक्ष्य लिइएको गाउँपालिका प्रवत्ता तथा ६ नम्बर वडाका वडाध्यक्ष मनिकुमार स्याङबोले बताउनु भयो । उहाले भन्नु भयो ‘ लगानी कति गयो भन्दा पनि अनुसन्धा केन्द्रले अन्य किसानलाई कति प्रेरित गर्दै छ भन्ने हेर्ने हो ।’ केन्द्रको स्थापनाका लागि कर्मचारी तामाङले नै डेढ रोपनी जग्गा गाउँपालिकालाई निःशुल्क उपलब्ध गराउनु भएको छ । केन्द्रमा मौरीका आधुनिक घार राखिएको छ । उक्त घार केन्द्रले ४ हजार पाँच सय रुपियाँमा बिक्री गर्ने गरेको छ । मौरी सहितको घार केन्द्रले १० हजारमा बिक्री गर्न मुल्य नै तोकेको छ । बर्षमा दुई पटक मह काड्ने गरिएको छ । भदौ÷असोज र जेष्ठ÷असारमा मह काड्ने गरिन्छ । लामो समयको झरीमा मौरी रस खोज्न जान नसक्ने हुँदा झरी पर्ना साथ कर्मचारी तामाङ महुरीलाई चास्नी(चिनी पानी) खुवाउन थाल्नु हुन्छ ।
अनुसन्धान केन्द्रमा राखिएका मौरीलाई बछिउ , कमिला , मलसाप्राबाट जोगाउन निक्कै मुस्किल पर्ने गरेको छ । कर्मचारी तामाङ भन्नु हुन्छ ‘ मौरीको दुःख पीडा र जिवन त अनौठो हुँदो रहेछ , बुझनै नसकिने ।’ उहाको अनुभवमा मौरीले मह जम्मा गर्न जति मेहनत गर्छ मौरी हेरचाह गर्नेले त्यो भन्दा बढी नै ध्यान दिनु पर्छ । दिनमा तीन पटक सम्म प्रत्येक घार खोले हेर्ने गर्नु पर्दछ । कतिपय मौरी घार भित्रै मरेका हुन्छन । तीनलाई झिकी रहनु पर्ने तामाङले बताउनु भयो ।
गाउँपालिकाले वडा नम्बर ४ लाई मौरी पकेट क्षेत्र नै घोषणा गरेर ब्यवसायीक मौरी पालनमा सहयोग गर्दे आएको छ । स्थानीय रोङ मौरी पालक कृषक समुह मार्फत वडा नम्बर ४ का २५ घर परिवार समुहमै आवद्ध भएर ब्यवसायीक मौरी पालन गर्दे आएका छन भने उक्त गाउँमा अन्य ७५ घर गरी जम्मा एक सय घरमा आनुनिक तरिकाले मौरी पालन गरिएको छ । समुहका अध्यक्ष जितबहादुर राईले पालिकाबाट तालिम, घार सहितको मौरी अनुदानमा पाएपछि मौरी पालनमा किसान ब्यवसायीक बन्न थालेको बताउनु भयो । किसानले रोङकै सलकपुरमा निर्माण गरिएको आधुनिक घार ल्याएर सेरेना जातको स्थानीय मौरी पाल्दै आएका छन । सेरेना जातको मैरी सानो र बढी मेहनती हुने मौरी बिज्ञ कुमार मोत्तान बताउनु हुन्छ । वडा नम्बर ४ कै मौरीपालक किसान कल्पना राई प्राविधिक ज्ञान र इन्छा शक्ति भयो भने मौरी पालन ब्यवसाय जसले पनि गर्न सक्ने बताउनु हुन्छ । उहाका अनुसार बजारीकरणमा पनि खासै समस्या छैन । किसानले घरबाटै प्रति लिटर एक हजार रुपियाँमा मह बेच्ने गरेका छन् । प्रत्येक बर्ष एक घार मौरीले किसानलाई ब्यसायीक बनाउनका लागि बार्षिक ८ किलो ग्राम मह उत्पादन गर्नु पर्दछ । तर, कहिले फल फुल्ने र कहिले नफुल्ने हुँदा मह उत्पादनमा एकरुपता भने हुँदैन ।
रोङ गाउँपालिकाका ६ वटै वडामा अहिले मौरी पालन ब्यसाय संचालन गरिएको छ । वडा नम्बर ४ र ६ मौरी पालनका लागि प्रख्यात ठाउँ हुँन । ६ नम्बर वडाका प्रत्येक घरमा मौरी पालन गरिएको छ । वडा नम्बर ६ मा ९० घार मौरी पालन गर्दे आउनु भएका दावा स्याङबो मौरी पालनबाटै घर परिवार धान्दै राम्रो आम्दानी लिई रहेको बताउनु हुन्छ । उहा आधुनिक घार निर्माण गरेर बेच्ने पनि गर्नु हुन्छ ।
गाउँपालिकाको वडा नम्बर १ मा तीनतले मौरी पालक कृषक समुह, २ मा सिद्देश्वर मौरीपालक कृषक समुह, ४ मा रोङ मौरी पालक कृषक समुह र वडा नम्बर ६ मा सलकपुर मौरी पालक कृषक समुह दर्ता गरी समुह मार्फत नै मौरी पालन गराईदै आएको रोङ गाउँपालिकाका कृषि बिकास शाखा प्रमुख सन्तोष लाप्चाले जानकारी दिनु भयो । प्रमुख लाप्चाका अनुसार किसानलाई मौरी पालन सम्बन्धि तालिम, महजन्य फफुलका बिरुवा बितरण, आधुनिक घार बितरण गरी हाल सम्म गाउँपालिका र प्रदेश १ सरकारबाट मौरीपालन कार्यक्रममा ३३ लाख बढी रकम खर्च भैसकेको छ ।
कृषि क्षेत्रको बिकासमा लम्किएको गाउँपालिकाले मौरी पालन ब्यवसायलाई ब्यवसायीक बनाउनका लागि मौरी लघु उद्यम कार्यक्रम नै शुरु गरेको छ । गाउँपालिकाले ब्यवसायीक मौरी पालनमा लगानी बढाउदै गए पनि मह उत्पादनबाट हुँने बार्षिक आम्दानी भने यकिङ गर्न सकेको छैन । गाउँपालिका प्रवत्ता स्याङबोले मौरी पालनले वातावरण स्वच्छ राखी पर्यावरण जोगाउन सकिने बताउनु भयो । उहाले भन्नु भयो ‘मौरीले किसानलाई ब्यवसायीक बनाएको त छ नै बिषादीको प्रयोग पनि त्यति नै मात्रामा घटाएको छ , यसले वातावरण स्वच्छ भएको छ ।’ मैरी पालन गर्न थाले पछि बिषादीको प्रयोगले मारी मर्ने हुँदा किसानले आफै बिषादीको प्रयोग गर्न छोड्दै गएका छन् ।