इलाममा ग्रामीण सडकको सास्ती

  • 9
    Shares
इलाममा ग्रामीण सडकको सास्ती

प्रेम अधिकारी पशुपतिनगर(इलाम)

इलामको माईजोगमाई १ का देबि अधिकारी चार दिन अघि देखि कोरोना संक्रमित हुनुहुन्छ । संक्रमित भएको भोलीपल्टबाटै उहाको स्वास्थ्यमा समस्या भयो । थप उपचार गराउन झापा जान अनेक प्रयत्न गर्नु भयो । तर, सवारीसाधन नपाएपछि उहा शनिबार मात्र झापाको बिर्तासीटी अस्पताल पुग्नु भयो ।
निर्माण हुँदै गरेको सडक बर्खे झरीले भत्कीए पछि माईजोगमाई १ नयाँबजार–फिक्कल १९ किलोमिटर पार गर्न अहिले ७ घण्टा बढी लाग्छ । कोरोना संक्रमित संचारकर्मी अधिकारी र उहाकी श्रीमती स्वास्थ्यकर्मी संगीता उप्रेती दुबै संक्रमित भएर समस्या हुँदा पनि यातायतको अभावमा समयमा उपचारमा जान सक्नु भएन । उहाहरु शनिबार नयाँबजारबाट इलाम पुगेर बिर्तामोर्ड जानु भयो । अधिकारीले भन्नु भयो ‘बाटोकै कारण उपचार नपाएर मर्नु पर्ने रहेछ ।’
ठाउँठाउँमा निर्माण हुँदै गरेको सडकमा गाडी फस्न थालेपछि उक्त सडकमा यातायत ब्यवसायीले यातायत संचालन गर्न समेत छोडेका छन । खाद्यान्नका केहि सावारी साधन जबरजस्ती संचालन भैरहेका छन् ।
ट्रयाक खनिएको ६५ वर्षपछि गतसालबाट कालोपत्रे गर्नका लागि काम शुरु भएको इलामको फिक्कल–नयाँबजार सडक निर्माण भैरहेको छ । जेष्ठ महिना देखि नै सडक अवरुद्ध भएपछि यातायत संचालनमा समस्या भएर उक्त क्षेत्रका बासिन्दाले समस्या खेप्नु परेको हो । फिक्कलबाट सामान लिएर हिडेको सावारी साधन धेरै जसो बाटोमै थन्कीने गरेका छन् । जहाँ पुग्दा गाडी फस्छ त्यहि रात काटेर मौसममा सुधार आएपछि गन्तब्यमा पुग्ने गरेको स्थानीय ब्यवसायी संगम भट्टराईले बताउनु भयो । उहाले भन्नु भयो‘ सरसामान त जसोतसो आईपुग्छ, बिरामी हुँदा अस्पताल पुग्नै नपाई मरिन्छ भन्ने पीर छ, बर्खाका ५ महिना काट्नै गाहे।’

विक्रम सम्बत २०१० सातामा तत्कालिन बडाहाकीम सन्तबिर लामाको नेतृत्वमा खनिएको सडक ट्रयाक खोलीएको ६ दशक पछि प्रदेश १ सरकारको लगानीमा सूर्योदय नगरपालिकाको फिक्कल देखि नयाँबजार हुँदै जौबारी सम्म पुग्ने सडक कालोपत्रे गर्ने कामको थालनी भएको छ । ३६ महिनामा कालोपत्रे सक्ने गरि फिक्कल– नयाँ बजार सडक कालोपत्रे गर्ने काम भैरहेको छ । उक्त सडक कालोपत्रेका लागि प्रदेश १ सरकारले ५३ करोड लगानी गरेको छ ।


गत अर्थिक बर्ष ढिलो गरी ठेक्का सम्झौताको रकम निकासा गरिदिएकाले काम गर्न समस्या भएको ठेकेदार कम्पनी खनाल कन्टक्सनका डिल्ली खनालले जानकारी दिनु भयो । उहाका अनुुसार अव ५ किलोमिटरमा मात्र कटिङको काम वाँकी छ । लामो समयको लगातारको झरीले काममा समस्या भएको खनालले बताउनु भयो ।
इलाम जिल्लाका १० वटा स्थानीय पालिकामा रहेका ग्रामिण सडकको हालत अहिले सबैतिर उस्तै छ । इलाम सदरमुकाम भएर सन्दकपुर गाउँपालिका पुग्ने सडकले पनि स्थानीयलाई सास्ती दिएको छ । इलामको बिब्ल्याँटेबाट १४ किलोमिटरको दुरीमा रहेको प्रतिद्ध धार्मिक स्थल माईपोखरी देउरालीको ५ किलोमिटर क्षेत्र कालोपत्रे भएको छ । अन्य २ किलोमिटरमा कालोपत्रे गर्ने काम भैरहेको छ । वाँकी रहेको ७ किलोमिटरमा यात्रा गर्न उक्त क्षेत्रमा घण्टौ समय खर्चनु पर्दछ । सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले संघीय सरकारको आर्थिक लगानीमा काम भईरहे पनि ढिलो गरी काम हुँदा स्थानीयलाई आउजाउमा समस्या भएको बताउनु भयो । उक्त क्षेत्र भएर जमुना माबु, माईमझुवा , सन्दकपुर संचालन हुँने बाटोको पनि हालत उस्तै रहेको छ ।बहुप्रतिक्षित राँके रबि राजमार्गमा पर्ने सडक क्षेत्रको पनि हालत उस्तै रहेको छ । उक्त सडक निर्माणको जिम्मा लिएको कम्पनीले समयमा काम नर्गदा थप समस्या भएको छ । इलाम, पाँचथर र धनकुटा जिल्ला जोड्ने उक्त सडकको सन् २०१८ मा एफ्को इन्फाटेक प्रालिसँग निर्माण संम्झौता भइ काम शुरु भएपनि उल्लेखीय काम हुँन सकेको छैन । पूर्वी पहाडी जिल्लाबाट सोझै तराई जोड्ने एक सय किलोमिटर लामो सडक तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजना भए पनि समयमा काम नहुँदा स्थानीयले समस्या झेल्नु परेको छ ।
यस्तै गजुरमुखी दोभान हुँदै फाकफोकथुम गाउँपालिका जाने सडक पनि संचालनमा आउन सकेको छैन । हिउँद भरी निर्माण गरीएका सडक बर्खायाम शुरु भए पछि हिलाम्मे हुँदा गाउँपालिकाको सम्पर्क सदरमुकाम संग टुट्ने गरेको छ । माङसेबुङ, रोङ गाउँपालिका , देउमाई नगरपालिका , इलाम नगरपालिका , माईनगरपालिका , सूर्योदय नगरपालिका चुलाचुली गाउँपालिकाका ग्रामिण सडक पनि हिलाम्मे भएपछि सहज रुपमा यातायत संचालनमा समस्या छ ।
मेची राजमार्ग अन्तरगत इलाम माईखोला गोलाखर्क सडक खण्डमा जमिन भासीन थालेपछिबर्सेनी समस्या हुँदै आएको छ । उक्त क्षेत्रमा सतहभन्दा १५ मिटर मुनिको जमिन बग्ने र भासिने गरेको जनाइएको छ । जमिन बग्ने र भाषिने गरेको उक्त क्षेत्रको ५ किलोमिटर सडक जोखीममा रहेको छ ।ग्रामिण क्षेत्रका सडक काम नदिने अवस्थामा पुगेपछि स्थानीयलाई ढुवानी र आउजाउमा समस्या हुँदै आएको छ । स्थानीय स्तरमा उत्पादन भएका नगदेवाली , दुध , सागसब्जी बजार लैजान र बजारबाट खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तु लैजान समस्या पर्दै आएको छ । ग्रामिण सडक हिलाम्मे भएर यातायत संचालनमा समस्या हुँन थालेपछि कोभिडको बिरामी र अन्य बिरामीलाई समयमै अस्पताल लैजान समेत समस्या पर्दै आएको छ । इलाममा निर्माण शुरु भएका मुल्यमन्त्री ग्रामिण सडक समेत काम नदिने अवस्थामा पुगेका छन् ।

गोरखापत्र दैनिकबाट साभार