इलामको सलकपुरमा उत्पादन गरिएका ‘केराका परिकार’ले पर्यटक तान्दै

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस

प्रेम अधिकारी , फिक्कल:

रोङ गाउँपालिका ६ सलकपुरका याम अधिकारीलाई हिजो आज भ्याई नभ्याई छ । बरिपरि केरा खेती भएको सानो घरको बिचमा ‘अधिकारी एग्रो एण्ड बनानाज फुडजोन’ छ । अधिकारीको बनानाज फुडजोनमा केराका परिकार चाख्न बिहानै देखि भिड लाग्ने गरेको छ । अधिकारीले खाद्याबस्तुका रुपमा प्रयोग हुँने केराबाट अचार, चिप्स, खिर, मम, पकौडा, भुजीया, चप, बनानामिट , बर्गर, पिजा, जाम , जुस र केराको बाण्डी उत्पादन गरी पर्यटकलाई चखाउदै आउनु भएको छ । कामको खोजीमा भौतारी रहनु भएका अधिकारीलाई केहि बर्ष अघि घरेलु कार्यालय मार्फत रोङ गाउँपालिकाले कैलालीको टिकापुरमा केराका परिकार सिक्न पठायो । उहाले ११ दिन केराका परिकार बनाउन सिक्नु भयो । सिकेर फर्कीए पछि अधिकारी त्यस्सै बस्नु भएन । गाउँका बेरोजगार युवालाई गाउँपालिकाको सहयोगका केराका परिकार बनाउन सिकाउनु पनि भयो ।
अधिकारीले आफनो घर वरिपरि धुस्रे, सेती , कमीले र कावुली केरा लगाउनु भएको छ । उहाले गाउँघरमा उत्पादन भएको केरा समेत उचित मुल्यमा किनेर बिभिन्न परिकार बनाउदै आउनु भएको छ । घरको अन्य काम भ्याएर बर्षको ६ देखि ८ लाख रुपियाँ कमाई भैरहेको अधिकारीले बताउनु भयो । अधिकारी भन्नु हुन्छ‘ बेरोजगारीले थलिएरको बेला काम सिकेर परिकार बनाउन थाले अहिले त भ्याईनभ्याई हुन्छ ।’ उहाको काममा उहाकी श्रीमती रेश्मा अधिकारीले साथ दिनुहुन्छ । गाउँघरमा खेर गैरहेको केराबाट बिभिन्न परिकार बनाउन थालेपछि तीन बर्षको अवधिमा अधिकारी दम्पतीको जिवनस्तरमा सुधार आएको छ । रेश्माले घरमै होमस्टे संचालन गर्नु भएको छ ।‘केराका परिकार चाख्नकै लागि आउने पर्यटकले होमस्टे कहिल्यै खाली हुँदैन’ रेश्माले भन्नु भयो ।
केराका परिकार चाख्न अधिकारीकोमा पुग्नु भएका पर्यटक दिनेश महतले नयाँ परिकार भएकाले सबैले रुचाउने बताउनु भयो । रोङ गाउँपालिकालेकेहि क्षेत्रलाई केरा पकेट क्षेत्र घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष शम्सेर राईले अधिकारी दम्पतीको ब्यवसायबाट धेरैले सिकेर जिवीको पार्जन गरीरहेको बताउनु भयो उहाले भन्नु भयो‘पर्यटनका नारा मात्र लगाएर हुँदैन, पर्यटकलाई नयाँ स्वाद पनि दिन सक्नु पर्छ, हामीले त्यसैको थलानी गरेका हौ।’
सलकपुरका धेरै जसो क्षेत्रमा केरा खेती गरिएको छ । उक्त वडाका वडाध्यक्ष मनिकुमार स्याङ्बोले देशका बिभिन्न स्थानबाट केराका परिकार चाख्नैका लागि पर्यटकहरु सलकपुर आउने गरेको बताउनु भयो । अधिकारीकामा पुगेका पर्यटकहरु कोसेलीका रुपमा केराका परिकार लिएर फर्कीने गरेका छन् । गाउँपालिकाले केराका परिकार बिक्री गर्न इलाम झापाको सिमाना जोरकलसमा बिक्री केन्द्र स्थापना गर्ने योजना बनाएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिनु भएको छ ।
तराईबाट नजिक रहेको र पहाडी सौर्दयताले भरीपूर्ण सलकपुर , झण्डीडाँडा नयाँ पर्यटकीय गन्तब्यका रुपमा बिकास हुँदै गएका छन् । सुन्तला , एबोकाडो, कुरिलो , अलैँची जस्ता कृषि उत्पादनले कहलिएको सलकपुर क्षेत्रमा अहिले १२ वटा होमस्टे दर्ता भएर संचालन हुँदै आएका छन् । झण्डीडाँडा झुल्केघाम हेर्ने गन्तब्यका रुपमा बिकास भैरहेको छ । बिशेषगरी छिमेकी जिल्ला झापा सहित भारतीय पर्यटक उक्त क्षेत्रमा आउने गरेको जस्केलो सामुदायिक होमस्टेकी अध्यक्ष कौसिला तामाङले जानकारी दिनु भयो । उक्त क्षेत्रपुग्न रोङको हर्कटेबाट १७ र झापा काकडभिट्टाबाट २१ किलोमिटर यात्रा गर्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published.