इलाम नगरपालिका वडादेखि योजना छान्दै

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस

इलाम: संघीय सरकारले बजेट सार्वजनिक गरेसँगै स्थानीय तहहरु पनि आफ्ना योजना छनौट र स्थानीय बजेट निर्माणको काममा लागेका छन् । आगामी असार १० सम्ममा स्थानीय पालिकाहरुले पनि बजेट पेश गरिसक्नु पर्ने कानूनी प्रावधान अनुसार इलामका पालिकाहरु पनि वडा तहदेखिका योजना छनौट र बजेट निर्माणमा लागेका छन् ।
नयाँ जनप्रतिनिधि निर्वाचित भएसँगै आउने नयाँ बजेट र नयाँ योजना प्रति यतिबेला मतदाताहरु पनि उत्तिकै उत्साहित रहेका छन् । जिल्लाकै पुरानो इलाम नगरपालिकामा पनि अहिले सबै वडाहरु योजना छनौटको तयारी गरिरहेका छन् । निर्वाचित जनप्रतिनिधि आएसँगै नयाँ नगरप्रमुखले सबै वडालाई एक करोड रुपैयाँको बजेट ‘सिलिङ’ तोक्ने प्रतिवद्धता गरेका थिए । सोही अनुसार सबै वडाका समितिहरुले योजना छनौटको तयारी गरेको नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले बताए ।
‘मेयरको प्रतिवद्धता अनुसार सबै वडाले वडा तहका योजना छनौट गर्न सर्कुलर गरिएको छ । आर्थिक, सामाजिक, वन–वातावरण, फोहोर मैला व्यवस्थापन जस्ता क्षेत्रहरुलाई प्राथमिकतामा राख्न भनिएको छ ।’ प्रवक्ता दुलालले भने ‘एक करोडको सिलिङ भित्र वडा तहका योजना हुनेछन् । ती योजना सँगै नगरस्तरीय योजना छनौट र माथि जाने योजना समेत आउने छन् ।’ यसरी आएका योजनाहरु नगरबाट हुनेलाई नगरपालिकाबाट र संघमा पठाउनेलाई कार्यपालिकाको निर्णय गरेर माथि पठाउने प्रवक्ता दुलाल बताउँछन् ।
यसपटक उत्पादन मूलक र स्वरोजगार बनाउने किसिमका कार्यक्रम ल्याउने तयारी इलाम नगरपालिकाको रहेको बताइएको छ । ग्रामीण कृषि उत्पादन, ग्रामीण पर्यटन प्रवद्र्धन, स्वास्थ्य, शिक्षा , पूर्वाधार जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम तथा बजेट निर्माण गर्ने तयारी रहेको प्रवक्ता दुलालले जानकारी दिए । दुलालका अनुसार नयाँ आर्थिक वर्षदेखि सम्पत्ति र भूमिकरमा १० प्रतिशत छुट, कोभिडका कारण धरासायी बनेका होटललाई १० प्रतिशत कर र अन्य साना व्यवसायीलाई ५ प्रतिशत कर छुट दिने नगरपालिकाको तयारी रहेको छ ।

Leave a Reply

Your email address will not be published.