इलाममा सवारी साधनको नयाँ भाडादर निर्धारण

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस

मेची राजमार्गसहित इलाम जिल्लाका एक सय ४३ सडकमा सञ्चालन हुने सवारी साधनको नयाँ भाडादर निर्धारण गरिएको छ । अत्यधिक रूपमा भाडादर वृद्धि भएको गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय इलामको पहलमा मेची राजमार्ग र अन्य सहायक मार्गमा सञ्चालन हुने सवारी साधनको नयाँ भाडादर कायम गरिएको हो ।

मेची राजमार्गको इलाम–बिर्तामोड र इलाम–फिदिम रुटमा २२ प्रतिशत तथा जिल्लाका अन्य सहायक सडकमा सञ्चालन हुने सवारी सानमा १५ प्रतिशतले भाडादर वृद्धि गरिएको छ । मेची राजमार्गमा नयाँ भाडादर सोमबारबाट नै लागु भएको छ भने अन्य सडकको एक महिनापछि भाडादर पुनरावलोकन गरिने बताइएको छ ।

सडकको अवस्था अध्ययन गरी अन्य सडकको भाडादर पुनरावलोकन गरिने इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । अब इलाम–बिर्तामोडको भाडा ४ सय ३० र इलाम–फिदिमको भाडा ४ सय ८ रुपियाँ कायम भएको छ । यसअघि व्यवसायीले इलाम बिर्तामोड र इलाम फिदिमको भाडा ५०० बढी मनलाग्दो ढङ्गले लिदैआएका थिए । कोरोना जोखिमको समयदेखि व्यवसायी मनपरी ढङ्गले यात्रुबाट भाडा असुल्दैआएका थिए ।

स्थानीय यातायात व्यवस्थापन समितिको बैठकले २०७८ असोज १८ मा तोकेको भाडदारलाई आधार बनाएर नयाँ भाडादर समायोजन गरेको प्रजिअ ढुङ्गानाले जानकारी दिनुभयो । यसअघि तोकिएको आधिकारिक भाडादरअनुसार इलाम–बिर्तामोडको ३ सय ५३ र इलाम–फिदिमको ३ सय ३५ रुपियाँ थियो ।

समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले नयाँ भाडादरभन्दा बाहिर गएर भाडा असुल्ने सवारीचालक र सवारीलाई कारबाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो

‘सर्वपक्षीय छलफलबाट नयाँ भाडादर कायम गरिएको हो, अब कार्यान्वयनमा सबै पक्ष लाग्नु पर्छ ।’ मूल्यवृद्धि जिल्लाका सडकको अवस्था र सङ्घीय सरकारले तोकेको भाडदारलाई मध्यनजर गरी समितिले भाडादर कायम गरेको जनाएको छ ।

मेची राजमार्ग बाहेकका अन्य सडकमा पहिले भाडा निर्धारण गर्दा कच्ची रहेका सडक अहिले ग्राभेल वा पक्की बनेको हुनसक्ने र स्थानीय तहले निर्माण गरेका नयाँ सडक समेत थप भएकाले उक्त सडकको अध्ययन गरेपछि मात्रै भाडा कायम हुने समितिले जनाएको छ ।

जिल्लाका कच्ची सडकमा व्यवसायीले मनपरी भाडा असुल्दै आएका छन् । जिल्लाका ग्रामीण सडक हिलाम्मे हुने भएकाले यात्रुले जति पनि भाडा तिर्न बाध्य हुँदैआएका थिए । चाडबाडको समयमा व्यवसायीले आफूखुसी भाडा वृद्धि गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published.