चियाको फष्ट फ्लस नाश भयो

Special News Trending प्रदेश नं. १ बिजनेस

टीका खतिवडा,इलाम:

चिया नटिपिँदा ठेकेदार, उद्योगी र मजदुरलाई समस्या

इलामका सरकारी चिया वगानमा यसपटक सिजनको पहिलो उत्पादन हुने चियापत्ती (फष्ट प्mलस) टिपिएन । सरकारले तोकेअनुसारको ज्याला पाउनुपर्ने मागसहित चिया मजदुरको आन्दोलनका कारण पहिलो टिपाइ नटिपिएको हो । महनिा दिनदेखी आन्दोलनमा रहेका मजदुरको माग सुनुवाइ नहुँदा जिल्लाका सरकारी चिया बगानमा चिया टिपाइ हुन सकिरहेको छैन । मजदुरले काम ठप्प पारेर आन्दोलनमा रहँदा पनि चियाबगान लिजमा लिएर ब्यवस्थापन गरिरहेको त्रिवेणी सांघाइ ग्रुपले अहिलेसम्म कुनै चासो देखाएको छैन ।
दैनिक ज्यालादारीको रुपमा काम गरिरहेका मजदुरले काम नगरेको एक महिना दिन सवतिसक्यो । तर सांघाइले मजदुरको समस्या समाधानमा चासो नदेखाएकाले आफूहरु काममा फर्किन नपाएको भन्दै मजदुरहरु आक्रोशित भएका छन् । आन्दोलनका कारण चिया टीपाई नहुँदा सांघाइ ग्रुपलाई पनि दैनिक घाटा भइरहेको छ भने बगानमा काम रोकिएपछि दैनिक ज्यालादारी मजदुरलाइ पनि छाक टार्न समेत समस्या पर्न थालेको छ ।
श्रमिकहरुले श्रम ऐन, २०७४ कार्यान्वयन हुनुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन हुनुपर्ने र श्रावणदेखि बृद्धि भएको ज्याला पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् । चरणबद्ध आन्दोलनमा उत्रिएका चिया मजदुरहरुले चैत १७ गतेदेखि अनिश्चितकालिन हड्ताल शुरु गरेका छन् ।
हड्तालसँगै विरोधका बिभिन्न कार्यक्रम गर्दै आएका छन् । झापा र इलामका चिया मजदुरहरुको आन्दोलनका कारण सात वटा सरकारी बगान र कारखानाहरु बन्द छन् । गुणस्तरीय चिया उत्पादन हुने यही सिजनमा लामो समयसम्म बन्द भएका कारण कारखानाहरुलाई लाखौँ नोक्सानी भइरहेको छ । चियाको पहिललो टिपाइलाई गुणस्तरिय उत्पादनका रुपमा लिइन्छ तर यहि चिया टिप्न नपाउँदा मजदुर, मालिक र ठेकेदारलाई समस्या भइरहेको छ ।
सुर्योदय नगरपालिकाका निजी चिया उद्योगहरुको संगठन सुर्योदय टि प्रोड्युसर्स एशोसिएशनले भने मजदुरहरुको माग कार्यान्वयन गरेको छ । झापा मेची नगरपालिकाका राज टी स्टेट र ज्यामिरगढीले पनि श्रमिकको माग अनुसारको सेवा सुविधा दिएको छ । तर, निगमको चियाबगान ५० वर्षका लागि लिजमा लिएको सांघाईले भने मजदुरको मागलाई बेवास्ता गर्दै आएको छ ।
आन्दोलनको महिना दिन बित्दासम्म चिया श्रमिकहरुको आवाज वेवास्ता रहेको नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दिपक तामाङ बताउँछन् । साउन १ गतेदेखि लागू हुने गरी चिया बगानमा काम गर्ने श्रमिकको ज्याला दैनिक तीन सय ८५ रुपैयाँ र कारखानामा काम गर्ने मजदुरलाई थप ४२ रुपैयाँ तोकेको छ । तर, अहिले श्रमिकहरुले दैनिक दुई सय ७८ रुपैयाँ मात्र पाइरहेका छन् ।
श्रम ऐन, २०७४, श्रम नियमावली २०७५ र सामाजिक सुरक्षा ऐनमा श्रमिकको नियुक्ति पत्र, बिमा, विदा सुविधा, औषधी उपचार लगायतको व्यवस्था रहेको छ । बार्षिक तलब वृद्धि, चाड पर्व खर्च, उपचार खर्चलगायतका सेवासुविधा तोकेको छ ।
लामो समयदेखि चिया टिपाई नहुँदा बगानमा चियाका मुनाहरु हुर्किएका छन् । अब ति मुनाबाट चिया उत्पादन हुन नसक्ने विज्ञहरु बताउँछन् । टीपाई नभएपनि पहिलो उत्पादन काटेर फाल्नु पर्ने हुन्छ । यो सिजनको चिया बर्षभरिकै सबैभन्दा स्वादिलो हुने भएकाले फष्ट फ्लसको चियापत्ति र तयारी चिया महङ्गोमा बिक्री हुने गरेको छ । समस्या समाधान गर्न सांघाई ग्रुपले बेवास्ता गरिरहेको मजदुरहरुको भनाई छ । यता सरकारी निकायबाट समेत समस्या समाधान गर्न कुनै पनि कदम नचालिएको भन्दै उनीहरु असन्तुष्ठ छन् । आफूहरुको रोजगारी हराएको र काम गर्न नपाउँदा दैनिक छाक टार्न समस्या भएको भन्दै मजदुरले तत्काल समस्या समाधान गर्न सम्वन्धित निकायले पहल गर्नु पर्ने माग राखेका छन् । चिया वढि उत्पादन हुने इलाम र झापाका सरकारी चियावगान सांघाई ग्रुपले लिजमा लिएको छ ।
निजि स्तरका उद्योगहरुले सरकारले तोके बमोजिमकै ज्याला दिने निर्णय यस अघि नै लिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published.