मुख्यमन्त्री बहुतले पार्किङ तथा सिनेमा हल बन्ने , डिपिआर तयार

Special News Trending पर्यटन बिजनेस

इलाम: इलाम बजारमा रहेको पुरानो बसपार्कमा मुख्यमन्त्री बहुतले पार्किङ तथा सिनेमा हल बन्ने भएको छ । यो घर बनाउनका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गरि स्ट्रेन्थ इञ्जिनियरिङ कम्पनीले नगरपालिकालाई बुझाएको छ । नौ महिना लगाएर तयार पारिएको डिपीआरअनुसार चारतले पार्किङसहितको भवन बनाउनका लागि २३ करोड ६१ लख एक हजार रुपैयाँ लाग्ने भएको छ ।
इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले नगरको मात्र आन्तरिक श्रोतले नभ्याउने हँुदा भवन निर्माणका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय गरिने जानकारी दिए । उनले प्रदेशको सडक सुशासन र केन्द्रको नीति तथा कार्यक्रम अनुसार भवन बनाउनका लागि प्रस्ताव लैजाने बताए । सम्भवत आउँदो आर्थिक वर्षमा यो भवन निर्माण शुरु गरिने उनले जनाए ।
इलाम बजारमा रहेको पुरानो बसपार्कमा हाल २५ वटा सवारी साधन पार्किङको व्यवस्था रहेको छ । तर पार्किङसहितको नयाँ सिनेमा घर बनेपछि ४७ वटा जीप या कार र दुईसय मोटरसाइकल पार्किङ गर्न सकिनेछ । तीन रोपनी दश आना क्षेत्रफलमा बन्न लागेको भवनमा भूमिगत एक तलामा समेत पार्किङ ब्यवस्थापन गरिने छ । यस्तै भुइँतल्ला र पहिलोतल्लामा समेत पार्किङको ब्यवस्था गरिने भएको छ ।
माथिल्लो दोस्रो तलामा चार सिनेमा घर रहने छन् । अण्डरग्राउण्डमा १८ वटा, भुइँतलामा १३ र पहिलो तलामा १६ वटा गाडि पार्किङ हुने डिजाइन गरिएको कम्पनीका इञ्जिनियरहरुले जानकारी दिए । १७ मिटर उचाई भएको भवन निर्माण पछि यहाँ कम्तिमा बीस कर्मचारी व्यवस्थापनमा राख्नुपर्ने इष्टिमेट छ ।
यस्तै एक वर्ष उक्त भवन सञ्चालनका लागि करिब ८९ लाख खर्च हुने बताइएको छ । तर करिव नौ बर्षमा भवनबाट पुर्ण लागत उठ्ने समेत बताइएको छ । भवनभित्र काउण्टरहरू, फ्रेस रुमहरूको पर्याप्त व्यवस्था गरिएको छ ।
इलाम नगरपालिका ९ को सेरामा नयाँ वसपार्क निर्माण पुरा भइसकेकोले नगरपालिकाले बजारको पार्किङलाई व्यवस्थापन गर्नका लागि उक्त परियोजना अगाडि बढाएको दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published.