आज असार पन्ध्र : राष्ट्रिय धान दिवस मनाइँदै

आज असार पन्ध्र : राष्ट्रिय धान दिवस मनाइँदै

इलाम : राष्ट्रिय धान दिवस आज मनाइँदैछ । देशभर धान रोपेर र विभिन्न कार्यक्रम गरेर धान दिवस मनाइने भएको हो । प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउन थालिएको १६ वर्ष पुग्दैछ । नेपाली समाजमा असार १५ लाई मध्य रोपाईको मौसम मानेर दही चिउरा खाने चलन छ । संस्कृतिलाई संरक्षण गर्न राष्ट्रिय स्तरमा धान दिवस मनाउन थालिएको हो ।

पछिल्लो समय धान दिवस विद्यालय र कलेज तहमा समेत मनाइन्छ । विद्यालयहरुले विद्यार्थीहरुलाई रोपाईंमा सहभागी गराएर मनाउने गर्छन् । धान नेपालको प्रमुख बाली हो । यसले राज्यको कुल ग्राहस्थ उत्पादनमा महत्वपूर्ण योगदान गर्दै आएको छ । नेपालमा ८० भन्दा बढी प्रकारका धानका प्रजातिको विकास गरिएको छ ।

कृषि अनुसन्धान परिषदले स्थानीय र वर्णशंकर दुवै प्रजातिका धानका बीऊ उत्पादन गरेको छ । मनाङ र मुस्ताङबाहेकका ७५ जिल्लामा धान खेती हुन्छ । यस वर्ष मनसुन ढिला हुँदा अधिाकंश स्थानमा धान रोपाईं हुनसकेको छैन । रोपाईं हुननसक्दा कृषकहरु चिन्तित छन् । मलको अभावले कृषकहरुलाई थप समस्या परेको छ । आज एक अर्कामा रमाईलो गर्दै दही चिउरा खाएर धान रोप्ने चलन पनि छ ।

इलाममा १५ प्रतिशत रोपाँई


पर्याप्त बर्षा नभएका कारण इलाम जिल्लामा यो बर्ष रोपाँई गर्न ढिलो भएको छ । जिल्ला भरमा १५ प्रतिशत मात्र रोपाँई भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख रामसोगारथ साहले जानकारी दिनु भयो । उहाका अनुसार जिल्लाको लेकाली क्षेत्रमा अलि बढी बर्षा भएका कारण २५ प्रतिशत सम्म रोपाई भएको छ । इलामको बढी धान उत्पादन हुँने चुलाचुली गाउँपालिका , माई नगरपालिका , माङसेबुङ गाउँपालिक र फाकफोकथुम गाउँपालिकामा बढी धान उत्पादन हुने भए पनि रोपाँई कमै मात्र भएको छ । ती क्षेत्रमा बर्षा कम्ती भएकाले किसानको खेत बाझै रहेको छ । रोङ गाउँपालिका , इलाम नगरपालिका , देउमाई नगरपालिका , माईजोगमाई गाउँपालिका र सन्दकपुर गाउँपालिकाका केही क्षेत्रमा रोपाई गरिएको छ । पानी कम परेका कारण रोपाँई गर्न ढिलाई भएको कार्यालय प्रमुख शाहले बताउनु भयो । प्रमुख शाहले अझै केहि समय पानी नपर्ने हो भने जिल्लाको तल्लो भागमा ब्याड नै सुक्ने अवस्थामा पुगेको बताउनु भयो । जिल्लाको १४ हजार ९ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिदै आएको छ ।