कृषिजन्य बस्तु भारत निकासीमा समस्या

Special News Trending बिजनेस

प्रेम अधिकारी , इलाम:

पूर्वी नेपालमा उत्पादित कृषिजन्य बस्तु निकासीमा लामो समय देखिको समस्या अझै हटन सकेको छैन । इलाम लगायत पूर्वमा उत्पादन भएको चिराईतो, चिया, अदुवा जस्ता कृषिजन्य बस्तु निकासीमा बेला बेला भारतीय भन्सारमा आउने समस्याका कारण निकासीको समस्या हटन नसकेको हो ।
औषधीका रुपमा प्रयोग हुँदै आएको चिराइतो इलाममा प्रसस्त उत्पादन भए पनि निकासीको समस्याले किसान मारमा पर्दै आएका छन । चिराईतोको निकासी दुई बर्ष देखि ठप्प हुँदा इलामका किसान र ब्यवसायीका गोदाममा चिराईतो थन्कीएको छ । इलाम बिब्ल्याँटेका ब्यपारी कृष्ण पौडेलले भारतले चिराईतोमा दुई बर्ष देखि रोक लगाउदा एक सय मन बढी चिराईतो आफनो गोदाममा थन्कीएको बताउनु भयो । भारतले शुरुमा जडिबुटीजन्य बस्तु भनेर खरीद गर्ने गरे पनि दुई बर्ष देखि आफनो देशको सूचीकृत हुने बस्तुमा चिराईतो नपरेको भन्दै रोक लगाएको छ । ब्यवसायी कृष्ण पौडेलले भन्नु भयो ‘ चिराईतो नविके पछि यो ब्यवसायबाट किसानै पलायन हुने अवस्थामा पुगेका छन , यसको बजार नेपालमा छैन ।’ इलाममा गत बर्ष ३ हजार ५ सय मन बढी चिराईतो उत्पादन भएकोमा अहिले सम्म किसान र ब्यवसायीका गोदाममा नै थन्कीएको छ । निकासी समस्याकै कारण किसानले चिराईतोको खेती गर्न समेत छोड्दै गएका छन् ।
इलाम लगायत पहाडी जिल्लामा उत्पादन भएका नगदेवालीहरु अलैंची , अदुवा , चिया , चिराईतो किवी निकासीमा लामो समय देखि समस्या रहदै आएको छ । छिमेकी देश भारतले निर्यात हुने कृषिजन्य बस्तुको परीक्षण, गुणस्तर जाँच जस्ता कारण देखाएर निकासीमा समस्या देखाउदै आएको छ । केहि बर्ष अघि देखि भारतले अदुवा निकासीमा पटक पटक अवरोध गरेपछि ब्यवसायीले निकासी सहज बनाउन माग गर्दै आएका छन् । शुरुमा नेपाली अदुवामा बिषादीको प्रयोग भएको र मिसावटको समस्या देखाएर निकासी रोकेको भारतले बिषादी र मिसावट परीक्षण गर्दा प्रमाणित हुन नसके पछि अदुवा धोएर मात्र पठाउनु पर्ने नियम लागु गरेको छ । अहिले नेपाली ब्यपारीले अदुवा धोएर मात्र भारत निकासी गर्ने गरेका छन् । एक साता अघि पनि भन्सारमा अनलाईन सिस्टमको समस्या देखाएर अदुवा निकासी रोकेको थियो । पटक पटकको अदुवा निकासीमा आएको समस्याकै कारण इलाम बिब्ल्याँटेका ब्यवसायी पदम पौडेलले झापामा अदुवा प्रसोधनको काम समेत थाल्नु भएको छ ।
भारतले चियामा विषादीको कारण देखाउदै बिगतका बर्षहरु देखी नै पटक पटक निकासीमा समस्या उत्पन्न गराउदै आएको छ । नेपाली चिया निकासीमा बिषादी प्रयोग भएको भनेर रोक्ने गरिए पछि नेपाली चिया उद्योगीकै पहलमा भारतीय भन्सारले ल्याव टेष्ट गर्न थालेको छ । अहिले पनि बेलाबेला ल्यावमा समस्या आएको भनेर निकासीमा समस्या पैदा हुँने गरेको छ ।
इलाममा साना तथा ठुला गरेर एक सय वढी चिया कारखाना सञ्चालनमा छन् । उक्त कारखानाबाट करिव ५० लाख किलो तयारी चिया उत्पादन हुन्छ । जसमध्ये ४५ लाख किलो सुख्खा तयारी चिया भारत जाने गरेको केन्द्रिय चिया सहकारी संघको तथ्यांकमा उल्लेख छ । नेपालबाट उत्पादित चियालाई उत्पादनको सुरुमा भारतले चिया परिक्षण भन्दै महिनौ लिन नमान्ने त्यति गर्दा भारतको चियाले वजार लिइसक्ने भन्दै नेपाली किसान र ब्यपारी ठगीने गरेको उद्योगीहरुको भनाई छ । उत्पादन भएको चिया निकासीमा समस्याकै कारण सूर्योदय नगरपालिकाका १६ वटा चिया उद्योग आफनो खर्च धान्न नसक्ने अवस्थामा पुगीसकेको सूर्योदय उद्योग बाणिज्य संघका सदस्य सुजन तिम्सीनाले बताउनु भयो ।
नेपालबाट भारत निकासी हुँने अलैंची, किवी, कुचो जस्ता बस्तुको पनि भातीय भन्सारमा अनलाईन सिस्टमबाट भन्सार जाँचपास गराउनु पर्दछ । समय समयमा अनलाईन सिष्टममा समस्या आएको भनेर जाँचपास नगराए पछि त्यस्ता बस्तु भातीय भन्सारमै हप्तौ सम्म थन्कीने गरेका छन् । इलाम उद्योग वणिज्य संघ इलामका अध्यक्ष इश्वर चिपालुले सरकारी निकायबाट हाल सम्म निकासी समस्याका बारेमा कुटनीतिक पहल नभएको र पहल गर्ने हो भने समस्या समाधान हुने बताउनु भयो । सरकारी तवरबाट खासै पहल नभए पछि समस्या आएका बेला नेपाली ब्यपारी आफैले निकासी समस्या सुल्झाउन भारतीय पक्ष संग पहल गर्दै आएका छन् । भारतीय भन्सारले भने नेपाली बस्तु निकासीमा समस्या उब्जाएको नभई प्रक्रियाका कारण बेलाबेला समस्या आउने गरेको जनाएको छ । भारतीय भन्सारले नेपालको कृषिजन्य बस्तुको गुणस्तर जाँचमा लामो समय लाग्ने भएकाले केहि समस्या भने रहिरहने जनाएको छ । ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्र ललितपुरले निर्यातको समस्या हटाउन पहल गर्ने जनाएको छ । प्रवद्र्धन केन्द्रका नायव कार्यकारी निर्देशक सुयस खनालले निकासीमा आफुहरुले पहल गरे पनि नितिगत समस्या हट्न नसकेको बताउनु भयो । केन्द्रले इलामका ब्यवसायी र किसान संग निकासी समस्याका बिषयमा छलफल समेत गरेको छ । गोरखापत्र दैनिकबाट साभार

Leave a Reply

Your email address will not be published.