इलाममा कृषि विकासमा छुट्याइएको २ करोड १८ लाख रुपैयाँ फ्रिज

इलाममा कृषि विकासमा छुट्याइएको २ करोड १८ लाख रुपैयाँ फ्रिज

इलाम: इलाममा कृषि विकासमा छुट्याइएको २ करोड १८ लाख रुपैयाँ फ्रिज भएको छ ।आर्थिक वर्ष २०७५र७६ मा प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमार्फत जिल्लामा कृषिको व्यवसायिक प्रवद्र्धनका लागि विनियोजित रकम खर्च हुन नसकेपछि बजेट फ्रिज भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख रामसोगारथ शाहले बताए ।

अदुवा मिसन कार्यक्रम, चैते धान विशेष कार्यक्रम, खाद्यान्न बीउ आत्मनिर्भर कार्यक्रम, नमूना कृषि फार्म, सुन्तला जात बगैंचा व्यवस्थापनका नाममा आएको रकम खर्च नभई फिर्ता भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।

यस्तै अलैंची प्रशोधन केन्द्र स्थापना, कफी खेती विस्तार, व्यावसायिक फलफूल बगैंचा स्थापना र कृषि बजार तथा संकलन केन्द्र निर्माणका लागि विनियोजित रकमसमेत फ्रिज भएको छ ।कृषि ज्ञान केन्द्रमा बजेट कार्यान्वयन र कार्यक्रम सञ्चालनका लागि प्रदेश मन्त्रालयले समयमै निर्देशिका र कार्यविधि नपठाएका कारण कार्यक्रम सञ्चालन गर्न नसकिएको प्रमुख शाहले जानकारी दिए ।

आर्थिक वर्ष समाप्त हुनलाग्दा संशोधित अख्तियारी प्राप्त भएको र बजेट कार्यान्वयनका लागि कार्यविधि ढिलो प्राप्त भएका कारण कार्यक्रम सञ्चालन गर्न नसकिएको केन्द्रले जनाएको छ ।सजिलो खवरबाट साभार