जिर्मलेको काली काँक्राः कृषकको आम्दानी, पर्यटकलाई कोसेली

Special News Trending बिजनेस

प्रेम अधिकारी , फिक्कल:

इलामको रोङ गाउँपालिका रम्भ्याङ्गका गोविन्द पौडेल पेशाले शिक्षक हुनुहुन्छ । पेशाले शिक्षक भए पनि पौडेल गाउँमा गतिलो कृषकका रुपमा परिचित हुनुहुन्छ । पौडेलले बिद्यालय समय बाहेक बिहान बेलुकाको समय बचाएर ब्यवसायीक काँक्रा खेती गर्न थाल्नु भएको १२ बर्ष भैसक्यो । एक सय बढी बोट काँक्रा रोप्नु भएका पौडेलले एक सिजनमा एक लाख ५० हजार रुपियाँ बढीको आम्दानी गर्ने गर्नु भएको छ । करेसाबारीमा थोरै परिश्रममा धेरै आम्दानी गरिरहनु भएका पौडेल भन्नुहुन्छ ‘थोरै समय बचाएर काँक्राको ब्यवसायीक खेती गर्ने हो भने घर खर्च चलाउन कुनै समस्या छैन् ।’ पौडेलले एक हप्तामा नौ सय वटा सम्म काँक्रा बेच्ने गर्नु भएको छ ।
रोङ ६ जिर्मले(रम्भ्याङ)को पहिचान बनेको काली काँक्रा खेतीले पौडेल मात्र होईन उक्त क्षेत्रका ६० घरपरिवारलाई ब्यवसायीक बनाएको छ । जिर्मलेका स्थानीयले बिगत १२ बर्ष देखि उक्त क्षेत्रमा काँक्राको व्यवसायीक खेती गर्दै आएका छन । घरवरिपरिको चिया बगानमा काँक्रा खेती गर्नु भएका शेरबहादुर रिजालले रामै्र गरी आम्दानी गर्दै गरेको एबीसी अनलाईनलाई बताउनु भयो । उहाले बजारको समस्या नभएकाले उक्त क्षेत्रका किसानको भरपर्दो आम्दानीको श्रोत काँक्रालाई बनाएको एबीसी अनलाईनलाई बताउनु भयो ।
फागुनको शुरुमा बेर्ना तयार पारेर किसानले चैत्र महिनामा काँक्रा रोप्ने गरेका छन् । जेष्ठ पहिलो सातावाट आन्दानी दिन थालेको काँक्रा स्थानीयले साउन महिना भर गरी तीन महिना सम्म बिक्री गर्ने गरेका छन् । सामान्य तरिकाले बासँको मचान बनाएर काँक्राको खेती गर्ने गरिएको छ । स्थानीयले उत्पादन गरेको काँक्रा स्थानीय स्तरमा गठन गरिएको कृषि समुहले एक मुष्ट रुपमा बिक्रीका लागि लैजाने गरेको छ ।
समुह मार्फत झापाको बिर्तामोड स्थित कृषिथोक र भारतको बागडुक्रा लगायतका ठाउँमा बेचीने गरिएको छ । काँक्रा बेच्न लैजादा लाग्ने भाडा, कर्मचारी खर्च र कर कटाएर समुहले किसानलाई आफनो उत्पादनको मुल्य घरमै लगिदिने गरिएको छ । केहि काँक्रा हर्कटे देखि इलाम र झापाको सिमाना सम्म सडक किनारमा संचालन गरिएका सब्जी पसलमा खपत हुने गरेको छ भने केहि काँक्रा झापा र भारतका ब्यपारी आएर घरबाटै लैजाने गरेका छन् ।
घरमै आएका ब्यपारीले १५ देखि ५० रुपियाँ गोटाका दरले काँक्रा लैजाने गरेका छन् । काँक्रा उत्पादनबाट जिर्मलेका कृषकले बर्षेनी ४० लाख बढी रकम हात पार्ने गरेका छन् । अर्गानिक पद्धतीबाट उत्पादन हुँने उक्त क्षेत्रको काँक्रा जिल्लाकै नमुना खेती बनेको छ ।
बिषादी प्रयोग नगरी उत्पादन गरिएको जिर्मलेको काँक्रा इलाम , झापा र भारतका बजारमा प्रख्यात छ । स्थानीय कृषक आफनै मात्र पहलमा काँक्रा खेती गर्दै आएकोमा स्थानीय सरकारले समेत ध्यान दिनु पर्ने बताउछन । रोङ गाउँपालिकाले उत्पादन हेरेर चालु आर्थिक बर्षबाट कृषि पकेट क्षेत्र घोषणा गरी कार्यक्रम संचालन गर्ने जनाएको छ । गाउँपालिका अध्यक्ष शम्सेर राईले जुन क्षेत्रमा जे बस्तुका लागि उपयुक्त छ त्यसको संभाब्यता अध्ययन गरी गाउँपालिकाले कृषकलाई समुह मार्फत सहयोग गर्ने बताउनु भयो । ‘ हामी अवको दुई बर्षमा कृषि र मासुमा आत्मनिर्भर गाउँपालिका बनाउने अभियानमा छौ, उत्पादन मुखी कृषि क्षेत्रमा लगानी बढाउदै जाने छौ , अध्यक्ष राईले भन्नु भयो ।’

पर्यटकको कोसेलीः


मेची राजमार्गको दायाँ बायाँ स साना छाप्रा बनाएर काँक्रा राखीएको हुन्छ । जुन काँक्रा तराईबाट गर्मी छल्न इलाम आएका पर्यटकको कोसेली बन्ने गरेको छ । चिसो मौसमको अर्गानिक काँक्रा झापा लगायत तराई लैजादा आफना आफन्तका लागि राम्रो कोसेली बन्ने गरेको पर्यटकहरु बताउछन् । तराईका बजारमा बिषादी प्रयोग गरिएको र महंगो मुल्य पर्ने भएकाले पनि उनीहरुको रोजाईमा जिर्मले लगायत इलामको काँक्रा पर्ने गरेको छ । कन्याम घुम्न आएका पथरीका सुमन कट्वालले इलामको काँक्रा आफुले कोसेलीका रुपमा लाने गरेको बताउनु भयो । इलाम आएका अधिकांश पर्यटकले राजमार्गमा सवारी रोकेर काँक्रा किन्ने गरेका छन । पर्यटन सूचना केन्द्र जोरकलशका सूचना अधिकारी गगन घिमिरेले पर्यटक पर्यटकले कोसेलीका रुपमा काँक्रा लैजादा राजमार्गका साना पसलको ब्यपार समेत फस्टाएको बताउनु भयो । स्थानीयले पर्यटकलाई लक्षित गरी राजमार्गमा काँक्रा , अकबरे खुर्सानी, छुर्पी , ललीपप लगायत इलामका स्थानीय परिकारको बिक्री गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published.