प्रशोधन पछि अदुवा निकासीमा सहज, मूल्य अहिले सम्मकै उच्च

Special News Trending बिजनेस


प्रेम अधिकारी,इलाम :

इलामको नामसालिङका रमेश सुवेदी पाँच बर्ष पछि अदुवाको राम्रो मुल्य पाएकोमा निक्कै खुसी हुनुहुन्छ । लामो समय अदुवा रोपेर मूल्य नपाएर हैरान बनेका किसान अहिले अदुवाको मूल्य बढे पछि खुसी छन् । ३० मन बढी अदुवा प्रतिमन पाँच हजार दुई सयका दरले बिक्री गर्नु भएका सुवेदीले धेरै बर्ष पछि परिश्रमको फल पाएको बताउनु भयो । उहाले भन्नु भयो ‘ धेरै बर्ष मेहनत मात्र गरियो, यस पटक पाएको मूल्यले किसानलाई फेरी अदुवा खेती प्रति आर्कशित गरेको छ ।’
लगातार चार बर्ष सम्म अदुवा रोपेर भाउ नपाए पछि खेती नै छोड्ने अवस्थामा पुगेका किसान अहिले धमाधम राम्रो मूल्यमा अदुवा बिक्री गरिरहेका छन् । भारत निकासीमा सहज भए संगै अदुवाको मूल्य बढेको हो । अहिले स्थानीय बजारमा अदुवाको मूल्य प्रति किलोग्राम एक सय ६० रुपियाँ तथा प्रतिमन छ हजार चार सय रुपियाँ सम्म बिक्री भएको छ । बजारमा केहि उतारचढाव आए पनि स्थानीय ब्यपारी अदुवाको मूल्य खासै नघ्टने बताउछन् । इलामका अदुवा ब्यवसायी कृष्ण पौडेलले अदुवाको मुल्य पाए पछि किसानलाई राहत मिलेको बताउनु भयो । ‘हाल सम्मकै उच्च मूल्य किसानले पाएका छन् , मूल्य पाउनका लागि किसानले अदुवा उत्पादन देखि नै ध्यान दिनु पर्छ ।’
भारतले नेपाली अदुवा निकासीमा प्रतिबन्ध लगाए पछि ओरालो लागेको अदुवाको मूल्य वृद्धि भएर अहिले सम्मकै उच्च भएको हो । भारतले अदुवा निकासीमा पटक पटक प्रतिबन्ध लगाउदा र विचौलियाका कारण किसान मारमा पर्दै आएका थिए । अदुवा नबिके पछि बिगत तीन बर्ष किसानका खेतबारीमै अदुवा कुहिएको थियो । इलाम जिल्लामा गत आर्थिक बर्ष २०७५÷०७६ मा मात्र ४४ हजार आठ सय ४२ टन अदुवा उत्पादन भएको थियो । इलामको जम्मा तीन हजार दुई सय तीन हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिदै आएको कृषि ज्ञानकेन्द्र इलामले जानकारी दिएको छ । पूर्वी क्षेत्रमा उत्पादन भएको अदुवा भारतको अलवा स्वदेशी बजारहरु काठमाडौं, विराटनगर, झापा, बुटवल, पोखरा, विरगन्ज, जनकपुर, हेडौडा चितवन लगायतका ठाउँमा निर्यात हुने गरेको छ ।

प्रशोधन पछि निकासी


इलाम लगायत पहाडी जिल्लामा उत्पादन भएको अदुवा झापा काकड्भिट्टा हुँदै भारत निकासी हुँने गरेको छ । प्रशोधन नगरी पठाईएको अदुवा भारतले पटक पटक फिर्ता पठाएर हैरान बनाए पछि ब्यवसायीकै पहलमा मचीनगर नगरपालिका १० धुलाबारीमा इलामका अदुवा ब्यवसायी पदम पौडेल र मनोरथ अधिकारीको पहलमा अदुवा प्रसोधन केन्द्र स्थापना गरिएको छ । प्रशोधन गरी अदुवा भारत पठाउन थालेपछि फिर्ता नभएको प्रसोधन केन्द्रका पदम पौडेलले जानकारी दिनु भयो । उहाका अनुसार दैनिक ५० टन ( एक टन बराबर २५ मन) अदुवा प्रसोधन गरिदै आएको छ । निश्चित शुल्क लिएर सबै क्षेत्रका ब्यवसायीले पु¥याएको अदुवा प्रशोधन गरिने गरिएको छ । बिगतका बर्षमा नेपालको अदुवा मिसावट र फोहोर भनेर फिर्ता पठाउने गरेकोमा अदुवा प्रसोधन पछि भारतीय ब्यपारीले प्रश्न उदाउन नपाएको ब्यवसायी पौडेलले बताउनु भयो । ‘प्रसोधन नगरी पठाउदा हामी सधै तल पर्थीयौ, अव गुणस्तरका बिषयमा औला उठाउन सक्दैन् , ब्यवसायी पौडेलले भन्नु भयो ।’ प्रसोधन पछि पठाईएको अदुवा फिर्ता नभए पनि भारतीय भन्सारले सेम्पलीङको लागि भनेर १२ दिन सम्म थन्काई दिने गरेको छ । बिषादी परीक्षणका नाममा भारतीय भन्सारले लोड गरिएको ट्रक सहित लामो समय भन्सारमा थक्काई दिदा आफहरु मारमा पर्ने गरेको फिक्कलका अदुवा ब्यवसायी मनोरथ अधिकारीले बताउनु भयो ।

रोग र बजारकै चिन्ता


अदुवाको बोट नै सर्लक्क सुक्न थाले पछि किसान चिन्तीत छन् । लगाईएको अदुवाको बोट शुक्ने र गानो कुहिने रोगले किसान चिन्तीत भएका हुँन । माटो समेत परिक्षण नगराई किसानले खेती गर्ने गरेको पाईएको छ । रोग लागेपछि किसानले आफुखुसी बिषादी र औषधीको प्रयोग गर्ने गरेको पाईएको छ । कृषि ज्ञान केन्द्र इलामका शाखा अधिकृत गणेश राईले लगातारको बर्षा , बढी चिसो र हुस्सुका कारण अदुवाको बोट र गानो कुहिने गरेको बताउनु भयो । तर बिगत लामो समय देखि उक्त रोग अदुवामा देखिदै आएको छ । अदुवामा रोगको प्रकोप र बजारीकरणको समस्या खोज्दै इलामका ब्यवसायी कृष्ण पौडेल केहि दिन अघि चाईना सम्म पुग्नु भयो । भारतले अदुवा निकासीमा सधै समस्या देखाउने र रोगले किसान हैरान भए पछि निराकरणका लागि ब्यवसायी पौडेलले चाईनामा पहल गर्नु भयो । तर, रोगको बिषयमा केहि थाहा पाए पनि बजार पाउन भने समस्या भएको पौडेलले बताउनु भयो । डिमान्ड बेसमा चाईनामा अदुवा निकासी गर्नु पर्ने भएकाले उनीहरुले मागे जति अदुवा नेपालमा उत्पादन नै नभएको पौडेलले बताउनु भयो । उहाका अनुसार नेपालमा पाँच बर्षमा उत्पादन हुँने अदुवा एक बर्षमा दिन सके मात्र चाईनाले नेपालको अदुवा खरिद गर्ने छ । नेपालमा उत्पादिन अदुवाको मूल्यको ग्यारेन्टी नभएकाले उत्पादन बढाउन नसकिने ब्यवसायी बताउछन् ।

Leave a Reply

Your email address will not be published.