सुनको मूल्य प्रतितोला ७१ हजार

Breaking News Mukya Samachar Special News Trending बिजनेस

इलाम, साउन : बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । तीन दिन स्थिर रहेको सुनको मूल्य बढेर तोलामा एक हजार रुपैयाँ बढेर प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दू हो ।
“पछिल्लो एक महिनादेखि अन्तर्राष्ट्रिय बजारमा बढ्दै आएको सुनको मूल्य मंगलबार नयाँ रेकर्ड कायम गरेको छ,” सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले भने, “अन्तर्राष्ट्रिय बजार हेर्दा अझै बढ्न सक्ने देखिन्छ ।” सुनको मूल्य लगातार बढेपछि कारोबार नै ठप्प भएको उनको भनाइ छ । “सुनको मूल्य लगातार उकालो लाग्दै गएपछि व्यवसायीलाई पनि त्रसित बनाएको छ,” उनले भने “यस्तै अवस्था रहने हो भने व्यवसाय सञ्चालन गर्न नसकिने अवस्था आउँछ ।”

लगातार सुनको मूल्य बढेपछि उपभोक्ता र व्यवसायी दुवै त्रसित भएका छन् । उपभोक्ताको आम्दानी बढेको छैन तर लगातार सुनको मूल्य बढेपछि खरिद गर्न नै समस्या पर्ने व्यवसायी शाक्य बताउँछन् ।
नेपाल सुनचाँदी महासंघले मंगलबार छापावाल सुन तोलाको ७१ हजार रुपैयाँमा कारोबार भएको जनाएको छ । यसअघि तीन दिनसम्म सुन तोलाको ७० हजारमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढेपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो । अमेरिका र चीनबीचको व्यापार युद्धका कारण पछिल्लो समय सुनको मूल्य लगातार उकालो लाग्दै आएको हो ।
साउन महिनायता सुनको मूल्य अत्यधिका मात्रामा वृद्धि हुँदै गएको छ । साउन १५ गते यता सुनको मूल्य प्रतितोला छ हजार रुपैयाँ बढिसकेको छ । मूल्यमा लगातारको वृद्धिले यसपटकको चाडबाडमा पहेंलो धातुको कारोबार खासै नहुने देखिन्छ । सुनको भाउ उच्च भएपछि केही समयदेखि सुन पसलहरूमा ग्राहकको भीड घटेको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भइरहेको छ । सोमबारभन्दा १० रुपैयाँ बढेर मंगलबार चाँदी तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसैको असरले आन्तरिक बजार पनि प्रभावित भएको हो । लगातार सुनको मूल्य बढेपछि बिक्री नभई बैंकमा थुप्रिएको छ ।
ट्रेड वार तथा अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाएपछि लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएकाले अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्दै गएको हो । चीन र अमेरिकाबीचको व्यापार युद्धले अन्तर्राष्ट्रिय बजारका लगानीकर्ता सुनमा आकर्षित भएका हुन् । चीनको केन्द्रीय बैंकले यसअघिका वर्षमा डलरको सञ्चितिलाई प्राथमिकता दिने गरेको थियो । तर यो वर्ष भने उसले सुनको मौज्दात बढाउन थालेकाले मूल्य बढ्न टेवा मिलेको शाक्यले बताए ।
अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाएको छ । अमेरिका र इरानबीचको तनाव थप बढेका कारण डलरको मूल्य पनि महँगिएको छ । सुनको मूल्यमा लगातार वृद्धि भएपछि बजारमा माग भने ह्वात्तै घटेको छ ।

Leave a Reply

Your email address will not be published.