राँके–रबि क्षेत्रका संरचना नहटाउँदा सडक निर्माणमा ढिलाई

राँके–रबि क्षेत्रका संरचना नहटाउँदा सडक निर्माणमा ढिलाई

प्रेम अधिकारी ,इलाम:

राँके रबि राजमार्गमा पर्ने सडक क्षेत्राधिकर भित्र रहेका रुख, विद्युतिय पोल र बजार क्षेत्रका संरचना नहटाउँदा काम प्रभावित भएको छ । एक वर्ष अघिबाट कालोपत्रको काम शुरु भएपनि संरचना हटाउने काम नहुँदा २० किलोमिटर लामो सडक चौडा गर्ने काममा अवरोध पुगेको हो । राँकेदेखि पाँचथरको रबी हुँदै धनकुटाको भेडेटार जोड्ने बहुप्रतिक्षित सडक कालोपत्रे गर्ने काम प्रभावित भएको छ ।

सडकको क्षेत्राधिकार भित्र पर्ने सयौँ रुख, विद्युतीय पोल, खानेपानी आयोजनाका पाईप र स्थानीयका घरहरु खाली गर्ने कामको ढिलाइले निर्माणको काम प्रभावित भएको निर्माणको जिम्मा लिएको एफको इन्फाटेक प्रा.लि.ले जनाएको छ । सडकमा पर्ने इलाम, पाँचथर र धनकुटा जिल्लाका दर्जन बढी क्षेत्रमा जंगल र बजार रहेकाले सडकको चौडा गर्ने काम ८० प्रतिशत मात्रै सकिएको छ । २० प्रतिशत काम अझै वाँकी नै छ । सन् २०१८ मा एफ्को इन्फाटेक प्रालिसँग निर्माण संम्झौता भइ काम शुरु भएपनि साइड खाली गर्ने काम सरकारले नगर्दा चौडा गर्ने कामनै प्रभावित भएको हो । सडक चौडा गर्ने काम रोकीए पछि सवबेसको काममा थप समय लाग्ने भएको छ ।
आयोजनाका साईड इन्जिनियर प्रमोद कुमार मण्डलले सरकारले आयोजना क्षेत्रमा पर्ने संरचना हटाउन पहल नगरिदिदा काममा समस्या भएको बताउनु भयो । उहाले भन्नु भयो ‘ स्थानीय संग मुअब्जा र डिभिजन बन , बन उपभोक्ता समितिहरु संग रुख काट्ने बिषयमा सहमती भएको छैन । ’पूर्वी पहाडी जिल्लाबाट सोझै तराईको जोड्ने एक सय किलोमिटर लामो सडक तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजना रहेको छ ।
सडकको क्षेत्राधिकार खाली गर्ने कामको ढिलाईले सडक निर्माणमै प्रभावित भएपछि स्थानीय सरकारका प्रतिनिधिहरुले सरकारी पक्षबाट गर्नुपर्ने काम चाँडो गर्न आग्रह गर्दै आएका छन् । इलामको फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले जति सक्दो छिटो प्रदेश र संघीय सरकारले उक्त क्षेत्रमा काम गर्ने वातावरण बनाउनु पर्ने बताउनु भयो । उहाले भन्नु भयो ‘ इलाम र पाँचथर र धनकुटालाई छिटो तराई जोड्ने यो सडक चाडो निर्माण गर्न सबै लाग्नु पर्छ, राष्ट्रिय गौरबका यस्ता आयोजनामा देखिएका सानातिना बिवाद अन्त्य सबै एक जुट हुनु पर्छ ।’
राँके बजार, रबि, सप्तमि, उत्तरे, चिसापानी पञ्चमी, कन्याटार लेखगाउँ, बुधबारे, डाँडाबजार, राजारानी र नाम्जे क्षेत्रको २० किलोमिटर बढी सडक क्षेत्रको संरचना र रुखहरु हटाउनुपर्ने आयोजनाको काम गरीरहेको निर्माण कम्पनीले जनाएको छ । भारत सरकारको तीन अरब बढीकोे लागानीमा निर्माण शुरु भएको सडक निर्माणपछि तीन जिल्लाको दुई लाख बढी जनसंख्या प्रत्यक्ष लाभान्वित हुने जनाईएको छ । गोरखापत्र दैनिकबाट