रोङका युवा गाउँमै केराका परिकार उत्पादन गर्दै

रोङका युवा गाउँमै केराका परिकार उत्पादन गर्दै

फिक्कल :

इलामको रोङ गाउँपालिका ६ सलकपुरमा केराका ४० वढी परिकार बनाएर बिक्रिबितरण शुरु गरिएको छ । गाउँपालिकाको सहयोगमा कैलालीमा तालिम लिएर फर्किएका सलकपुरका युवा याम अधिकारी र बिकास राईले केराका परिकार बनाएर बिक्रीबितरण शुरु गर्नु भएको हो ।
अधिकारीले सलकपुरमा अधिकारी बनना फुट जोन नै संचालनमा ल्याउनु भएको छ । उहाले तालिम पछि केराका बिभिन्न परिकार निर्माण गरी बिक्री बितरण समेत गर्न थाल्नु भएको छ ।
गाउँपालिकाले रोङको २ नम्बर वडालाई केरा पकेट क्षेत्र घोषणा गरेपछि ६ नम्बर वडामा समेत केरा खेती गरिदै आएको छ । अधिकारी र राईले हाल केराबाट मम, समोसा, चिप्स, निम्कि, जुस, वाइन, खिर, अचार, तरकारी लगायत बिभिन्न परिकार बनाएर विक्रीबितरण गरिरहनु भएको छ । अधिकारीले गाउँमै लागनी गरेर फुटजोन संचालनमा ल्याउनु भएको छ भने राई आफना परिकार लिएर बिभिन्न मेला महोत्सवमा जाने गर्नु भएको छ ।
केराका परिकार पर्यटकलाई चखाउदै हिड्नु भएका राई पनि रेष्टुरेन्ट सञ्चालनको तयारी गरिरहनु भएको छ । अधिकारीले केराका परिकार बनाउने मात्र होईन गाउँमा युवालाई ४२ प्रकारका केराका परिकार बनाउन सिकाउने काम समेत गर्दै आउनु भएको छ । अधिकारीले भन्नु भयो ‘धरै जसो हाम्रा परिकार चाख्न आउनु हुन्छ, यसले आन्तरिक पर्यटन पवद्र्धन भएको छ ।’ अधिकारी केराका परिकार चाख्न झापाबाट बढी पर्यटक आउने गरेको बताउनु हुन्छ ।

केराका परिकार चाख्न आएका पर्यटकले गाउँमा उत्पादन भएको सुन्तोला , साग सब्जी समेत लैजाने गरेकाले केराको परिकार गाउँका अन्य उत्पादनका लागि परिपूरक भएको छ । गाउँमा केराका परिकार बनाएर बिक्री बितरण शुरु भए पछि केरा खेती गर्ने थपिदै गएका छन् । अधिकारी र राईले गाउँमै एक घरी केरा ३ सय ५० रुपियाँमा खरिद गर्ने गर्नु भएको छ । ‘एक पटक आउनु भएका ग्राहकहरु फेरी पनि फर्किएर आइरहनु भएको छ, पक्कै मन पराएरै होला फर्किएर आउनु भएको’ केराका परिकार बनाउदै आउनु भएका राईले भन्नु भयो । प्राय गरी केराका परिकार पर्यटकहरुले कोशेलीको रुपमा लैजाने गरेका छन् ।

रोङ ६ का वडाध्यक्ष मणिकुमार स्याङ्बो(सुभाष)ले कृषकको आम्दानी, पर्यटकको आकर्षण र स्थानीय कृषि उत्पादन गाउँमै खपत हुने भएकाले केराका परिकार बनाउने कामले कृर्षक , ब्यवसायी र पर्यटक सबैलाई फाईदा पुगेको बताउनु भयो । केराका परिकारबाट फुटजोन संचालन गर्दै आउनु भएका अधिकारीले मासिक ५० हजार रुपियाँ बढी आम्दानी गर्ने गरेको बताउनु भयो । रोङ गाउँपालिकाका अध्यक्ष शम्सेर राईले केराका परिकार पर्यटकले कोसेलीका रुपमा बढी लैजाने भएकाले झापा–इलाम सिमाना जोर कलशमा केराका परिकारको स्टल राख्ने तयारी भैरहेको जानकारी दिनु भयो ।