विष्णु प्रसाद काफ्ले
मनोराज्य कल्पिन्छ-
गज्जब छ ….साच्चै गज्जब छ !
त्यसैले त विचित्रको पनि छ …!
कहिले बग्दै-जम्दै त
कहिले ओसिदै – ठोसिदै या झोसिदै
सोचाई र भोगाईको द्वन्दसँगै
रङ्गीन र श्यामश्वेत पर्दाहरुमा
आधा सञ्चो र आधा बिसञ्चो हुदै
तिलमिलाई रहेको
जिन्दगीको कारोबार
जो एउटा चक्र झै घुमिरहेछ
कहिले पोख्नै नसक्ने उत्साह !
कहिले छिन्नै नसक्ने निराशा !
विन्दु विन्दुका वक्ररेखाहरु
र लालखाताका चेपहरुमा
किरिङमिरिङ अङ्कहरु
पलपलका छटपटि
पलपलकै उत्साह
अर्थात् घटिबढी-बढिघटीको
एउटा फिरफिरे झै
उहीँ समयको वेगसँगै
उकालि ओह्रालिका घुम्तिहरुमा
उछालिइ रहेका छन्
जिन्दगीका शेयर बजारहरु ।
***
अर्थशास्त्र भन्छ-
नरोकिनु
अर्थात् अविरल बगीरहनू
त्यो बगाईको वेगसँगै
जिन्दगीको शेयर उकालिन्छ
तर येता
भोगाई शास्त्रले अर्थ्याउछ-
भङ्गालोहरु छुट्टिएपछि
अनि यत्रतत्र
पहाडका ढिस्काहरु उप्किएपछि
वेगशुन्य हुँदै
कहि कतै रसिएपछि
खण्डित बगाईहरुसँगै
छिन्न भिन्न हुन्छन्
जीवनका अभिलाषाहरु,
अनि ुनेप्सेुको भित्तामा
रातो बत्ती पिलपिलाउछ
र,
सपनाका जराहरु उप्काउदै
बगी जान्छन् पछारिदै
रहरका अङ्कहरु
जसरी शेयरका वक्ररेखाहरु
बेस्सरी लतारिन्छन्
कम्प्यूटरका स्क्रीन भन्दा मुनि।
***
बजार भन्छ-
छोड्नु हुदैन, कदापि नछोड
अर्थात् मैदान खालि नगर !
छिनालिएका मनहरु
फेरि जोडिन्छन्
खतहरु नपुरिए पनि
घाउहरु निको भएझै हुन्छ
अम्मली सोचहरुभित्र
आशाका बिन्दुहरु फेरि
सलबलाउँछन्, आकास नियाल्छन्
कारोबारका भित्ताहरुमा
सपनाका छालहरु
छल्किरहेका छन्
यहि मेसोमा तरङ्गित बन्छन्
बेजोड दौडिन्छन्
मनहरु, तनहरु
अतिरिक्त समयको किनारामा
आक्रामक खेलाडी झै
नेप्सेका विन्दुहरुलाई
आकासका चुमाउने ध्याउन्न
अनि
लतारिएका वक्ररेखाहरु
एकपटक फेरि ठड्याउन
किनकि,
अब मोल बढाउनु छ
र,
बिकाउनु छ
जिन्दगीका केही कित्ता शेयरहरु ।